रक्षामन्त्री खड्काको जिकिर- राष्ट्रपतिको उपचार खर्च सरकारले व्यहोर्नु कानूनसम्मत – Nepal Press

रक्षामन्त्री खड्काको जिकिर- राष्ट्रपतिको उपचार खर्च सरकारले व्यहोर्नु कानूनसम्मत

चाँडै सरकारले उपचार खर्चको विवरण सार्वजनिक गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई राज्यकोषको रकमबाट भारतमा उपचार गर्न लगिएको विषयमा आज रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रष्टीकरण दिएका छन् । उनले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै राष्ट्रपतिको उपचार खर्च सरकारले व्यहोर्नु कानूनसम्मत भएको जिकिर गरे ।

मन्त्री खड्काले राष्ट्रपति पौडेल आफ्नो वा परिवारको इच्छाले उपचारका लागि भारत नगएको प्रस्ट पारे । डाक्टरहरुको सुझावअनुसार राष्ट्रपतिलाई भारत लगिएको उनको भनाइ थियो ।

मन्त्री खड्काले भने, ‘कतिपय कुरा भ्रम फैलिएको छ । राष्ट्रपतिज्यूको सिरियस अवस्था भएपछि म गएँ । डाक्टरहरुले अलिकति कुरा भन्नुभयो । त्यसपछि मैले प्रधानमन्त्रीलाई खबर गरें । प्रधानमन्त्रीज्यू आएर राष्ट्रपतिज्यूलाई भेट्नुभयो । भेटमा राष्ट्रपतिज्यूले आफूलाई विदेश पठाउने काम नगर्न भन्नुभएको थियो । त्यसपछि प्रधानमन्त्री र म डाक्टरसँग बस्यौं । डाक्टरले फोक्सोमा जम्मा भएको पानीलगायतको कुरासँग जोडेर नेपालको प्राविधिक अवस्थाले नभ्याउने बताउनुभयो र बाहिर लैजान सुझाव दिनुभयो । त्यही सुझावअनुसार प्रधानमन्त्रीले मुख्य सचिवलाई फोन गरेर सबै व्यवस्था गर्न लगाउनुभएको हो ।’

राष्ट्रपतिको उपचार खर्च सरकारले व्यहोर्ने कानूनी व्यवस्था रहेको मन्त्री खड्काले बताए ।

‘उपचार खर्चको सन्दर्भमा कानूनले अलिकति अलमल पारेको छ । हामीसँग दुईवटा ऐन छन् । कसैले पनि विदेश उपचार गर्दा सरकारले पैसा नदिने एउटा ऐन छ । तर, राष्ट्रपतिको हकमा उपचारका लागि विदेश जाँदा तीनजना घरपरिवारका सदस्य लैजान पाउने र लागेको खर्च सरकारले व्यहोर्ने गरी संसदले ऐनको व्यवस्था गरेको छ,’ उनले भने ।

मन्त्री खड्काले उपचारका लागि न्यून रकम लागे पनि एयर एम्बुलेन्सका कारण बढी खर्च भएको बताए । सरकारले चाँडै उपचार खर्चको विवरण पेश गर्ने तयारी गरेको उनले जानकारी दिए ।


प्रतिक्रिया

One thought on “रक्षामन्त्री खड्काको जिकिर- राष्ट्रपतिको उपचार खर्च सरकारले व्यहोर्नु कानूनसम्मत

  1. अनि आफैंले व्यहोर्ने भनेर नाटक बक्तव्य चाहिँ किन निकालेको ? जनता झुक्याउन ? खान त खाओ न । देश तिमीहरूजस्ता लुटेराहरूले सकिसक्यौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर