भीमार्जुनको जिकिर- कोशी सरकार गठन नै असंवैधानिक, अरुले सकेनन् भनेर सभामुखले गोल हान्न पाउँदैनन् – Nepal Press

भीमार्जुनको जिकिर- कोशी सरकार गठन नै असंवैधानिक, अरुले सकेनन् भनेर सभामुखले गोल हान्न पाउँदैनन्

काठमाडौं । कोशी प्रदेश सरकार गठनसम्बन्धी विवादमा बहस गर्दै संविधानविद् भीमार्जुन आचार्यले सभामुखले संसदमा पार्टीको कार्यकर्ता जसरी काम गर्न नमिल्ने बताएका छन् ।

निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले दायर गरेको रिटमा निवेदकका तर्फबाट बहस गर्दै आचार्यले सभामुख पद राजनीतिक रुपमा तटस्थ भएको तर्क गरे ।

सर्वोच्चको पूर्णइजलासमा मंगलबारदेखि सुरू भएको बहसमा आचार्यले भने, ‘सभामुखले सरकार गठनका लागि मत दिएको, समर्थन गरेको रेकर्ड छैन । मत बराबर भएको अवस्थामा निर्णायक मत दिनेसम्म कल्पना कानूनले गरेको छ । तर, यहाँ सभामुखले सरकार गठनमा समर्थन गरेर गैरकानूनी काम गरे ।’

उनले संसदमा सभामुखको पद विशिष्ट भएको बताए ।

‘सभामुख भइसकेपछि दलको आबद्धता छाडेको घोषणा गर्नुपर्छ । उनी सदनको सदस्यका रूपमा रहन्छन् । तर सांसदभन्दा माथिल्लो हैसियतमा’ , आचार्यले भने, ‘अरुले गोल गर्न सकेनन्, म गोल गर्छु भन्न पाइँदैन ।’

संविधानविद् आचार्यले थपे, ‘सभामुख संसदको रेफ्री हो, ऊ राजनीतिकरूपमा तटस्थ हुन्छ । सभामुखले सिंगो सभाको प्रतिनिधित्व गर्छ । सभामुख सरकार निर्माणमा सहभागी हुने कुरा आजसम्मको संसदीय इतिहासमा कहीँकतै भएको छैन ।’

आचार्यले सरकार गठनका सन्दर्भमा संविधानमा भएको व्यवस्था संसदको एउटै कार्यकालमा २ पटक प्रयोग गर्न पनि नमिल्ने भन्दै कोशी प्रदेश सरकार गठन असंवैधानिक रहेको पनि तर्क गरे ।

टिकाराम भट्टराई, बोर्णबहादुर कार्की, माधव बास्कोटालगायतले पनि बहस गरेका छन् । संयुक्त इजलासले जटिल विषय भएको भन्दै यो रिटको सुनुवाइ पूर्णइजलासमा पठाउने सोमबार आदेश गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर