भदौ ७ मा प्रदर्शन हुँदै कर्मा र मेनुका अभिनीत ‘महानगर’
काठमाडौं । चलचित्र ‘महानगर’ (वान् नाइट इन् काठमाडौं)भदौ ८ मा प्रदर्शनमा आउने भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घट्नाक्रमलाई लिएर लिएर बनेको चलचित्रमा कर्मा र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ ।
मोहन राईको लेखन तथा निर्देशन रहेको ’महानगर’ सन् २०२१ म कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको थियो ।
यो चलचित्र अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङ्गटन डीसी साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोना, नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा अफिसियल स्क्रिनिङ्ग भइसकेको छ । साथै इण्डस भ्याली इन्टरनेश्नल फिल्म फेस्टिभल तथा हालै भारतको जागरण फिल्म फेस्टिभलमा पनि ’महानगर’ छनौट भएको छ ।
चलचित्रले विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु पनि जितिसकेको छ । इण्डस भ्याली इन्टरनेशनल फिल्म फेस्टिभलमा चलचित्रले ‘मोस्ट इन्सिपिरेसनल थिम’ अवार्ड तथा कर्माले अभिनयका लागि स्पेशल जुरी मेन्सन अवार्ड प्राप्त गरेका थिए ।
माउन्टेन रिभर फिल्मस् तथा गो विन् प्रोडक्सन्ससँगको सहकार्यमा मिडल–वे फिल्मसले निर्माण गरेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, परिक्षित झाको सम्पादन, किशोर आचार्यको ध्वनि सम्पादन तथा पुष्पा संगमको संगीत रहेको छ । चलचित्रको कार्यकारी निर्माता गोविन्द पराजुली हुन् भने क्रियटिभ निर्माता नवनिधि दाहाल रहेका छन् ।