रौतहटमा काउन्टर आन्दोलनः प्रभु साहलाई पक्राउ गरी कारबाही गर्न ६ दलीय मोर्चाको माग (भिडिओ) – Nepal Press

रौतहटमा काउन्टर आन्दोलनः प्रभु साहलाई पक्राउ गरी कारबाही गर्न ६ दलीय मोर्चाको माग (भिडिओ)

जनकपुरधाम । ‘गौर नरसंहार’ लाई लिएर रौतहटका दलहरू विभाजित देखिएका छन् ।

गौर हत्याकाण्डपीडित संघर्ष समितिले दोषीलाई कारबाहीको माग गर्दै साउन १ गते गौरमा प्रदर्शन गरेको थियो । उक्त समितिले २०६४ चैत ७ मा भएको गौर हत्याकाण्डका मुख्य दोषी जसपा अध्यक्ष उपेन्द्र यादव रहेको दाबी गर्दै दोषीहरूमाथि कारबाही गरेर न्याय दिन संघर्षको कार्यक्रम सार्वजनिक गरेको हो ।

पीडित संघर्ष समितिका अध्यक्ष रुपसागर देवी हुन् । उनकै नेतृत्वमा १७ वर्षपछि पुनः आन्दोलन सुरु भएको छ । घटनाका दोषीहरूमाथि कारबाही गर्न समितिले साउन १६ गतेसम्मका लागि अल्टिमेटमसमेत दिएको छ । र, प्रशासनले कारबाही अगाडि नबढाए साउन १७ गतेदेखि रौतहट जिल्ला अनिश्चितकालिन बन्द गरिने चेतावनी दिइएको छ ।

यो आन्दोलनमा रौतहटमा स्वतन्त्रबाट जितेका पूर्व माओवादी नेता तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहको समर्थन छ । उनले पनि गौर हत्याकाण्डमा उपेन्द्र यादव नै मुख्य योजनाकार बताउँदै कारबाही गर्नुपर्ने अभिव्यक्ति दिएका छन् ।

उनको अभिव्यक्तिकै कारण रौतहटमा अर्को काउण्टर आन्दोलन सुरू भएको छ । जसपाले प्रभु साहलाई नै गौर हत्याकाण्डमा दोषी दाबी गर्दै ६ दलीय मोर्चालाई आन्दोलनमा उतारेको हो ।

प्रभु साहविरुद्ध आन्दोलन गर्न पूर्व प्रदेश सांसद रामसागर यादवको नेतृत्वमा २१ सदस्यीय समिति बनेको छ । समितिमा जनमत पार्टी, लोसपा, नेपाली काँग्रेस, नेकपा एस, जसपा र माओवादी केन्द्रका प्रतिनिधि समेत छन् ।

समितिले आज गौरमा प्रभु साहविरुद्ध प्रदर्शन गरेको छ । विश्वहिन्दू परिषद् वीरगञ्जका अध्यक्ष काशिनाथ तिवारीको हत्यामा साहको संलग्नता रहेको भन्दै उनलाई पक्राउ गरी कारबाही अगाडि बढाउन समितिले माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर