कांग्रेस बैठकको समीक्षा: पार्टी रुपान्तरणको बहस छेड्नेहरूसँग नै छैन साझा एजेन्डा – Nepal Press

कांग्रेस बैठकको समीक्षा: पार्टी रुपान्तरणको बहस छेड्नेहरूसँग नै छैन साझा एजेन्डा

‘नेताहरुको राणाकालीन चरित्र, विचार र व्यवहार पार्टी रुपान्तरणको बाधक’

पहिलो पटक फेसबुक लाइभ गरिएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा मुलुकका राष्ट्रिय एजेण्डासँगै जनजीविकाका सवालहरुमा गम्भीर बहस हुने अनुमान गरिएको थियो । नेपाली राजनीतिमा मौलाएको अतिरञ्जना र सडक लोकप्रियताको प्रभावका कारण बैठकका सहभागीहरु चनाखो भएर प्रस्तुत हुने अपेक्षा थियो ।

तर, झण्डै एक वर्षपछि बसेको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाको स्तुतिगानमै बैठकका अधिकांश सहभागीहरुले समय खर्चेका छन् ।

सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रशारण भइरहेको बैठकमा व्यक्त विचार, प्रस्तुति र छलफलका विषयवस्तु नियाल्दा मतदाताको मनोविज्ञानमा आइरहेको बदलावबारे कांग्रेस केन्द्रीय नेताहरु पूरै बेखबर रहेको प्रस्ट हुन्छ । नेतृत्वको स्तुतिगानबाटै आफ्नो राजनीतिक भविष्य देख्ने बहुसंख्यक नेताहरुको चरित्र र आचरण बैठकको प्रत्यक्ष प्रशारणमा जनताले राम्रैसँग थाहा पाउने अवसर पाए । यसले मुलुकको जेठो लोकतान्त्रिक दल कांग्रेसका केन्द्रीय नेताहरुले दलको बैठकमा कुन विषयमा कसरी प्रस्तुत हुने भन्ने बारेमा सावधानी अपनाउन नसक्दा झनै घातक त भएन भन्ने सन्देह पैदा भएको छ ।

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले राखेका विषयवस्तुलाई लिएर सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । तर बैठकमा अधिकांश केन्द्रीय नेताहरुले उनै महामन्त्रीद्वयको तीव्र आलोचना गरिरहेका छन् । बैठकमा संस्थापन र इतर पक्षको टकराव स्पष्टै देखिएको छ । जसले कांग्रेसमा गुटबन्दी थप मौलाउने सम्भावना बढेको छ ।

नेपालको राष्ट्रियता, अति संवेदनशील भूराजनीतिक अवस्था, मौलिक धार्मिक एवम् सांस्कृतिक परम्परा, वैभव र सम्पदाका रूपमा रहेको बहुजातीय, बहुभाषिक एवम् भौगोलिक विविधता र त्यसको जगमा खडा भएको मौलिक नेपाली पहिचानका सवालहरु कांग्रेस केन्द्रीय बैठकका विषय बनेनन् । बैठकमा गत वर्ष सम्पन्न तीनवटै तहको निर्वाचनको गम्भीर समीक्षा पनि भएको देखिएन ।

नागरिकहरुमा व्याप्त निराशा, वितृष्णा र जनजीविकाका एजेन्डाले बैठकमा ठाउँ नै पाएन । स्वाभाविक र स्वस्थ ढंगले जनजीविकाका सवालमा हुनुपर्ने बहस संस्थापन र संस्थापन इतरबीचको द्वन्द्वको रूपमा प्रकट भएको छ ।

दश वर्षे द्वन्द्व र तत्कालीन राजा ज्ञानेन्द्र शाहको सत्तालिप्साले आक्रान्त मुलुकमा शान्ति प्रक्रिया र संविधान निर्माणको चरण हुँदै नेपाली राजनीति यहाँसम्म आइपुग्दा राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई आजको नेपाली कांग्रेसले अघोषित रूपमा पूरै परित्याग गरिसकेको छ । विगतमा कांग्रेसको इतिहास उज्यालो हुनुको कारण असल नीति, सिद्धान्त र उच्च नैतिक छवि भएका कुशल नेतृत्व र कर्तव्यनिष्ट कार्यकर्ता पंक्ति हुन् । आज कांग्रेसका सबै उज्याला पक्षहरु नेतृत्वको सत्ता र शक्तिको भोकमा विलीन भएका छन् । पार्टी नेतृत्वमा उच्च नैतिक छविको अभाव छ । नेतृत्व अलोकप्रिय छ । नेतृत्वमा बसेकाको भ्रष्टाचारमा नाम जोडिएर आउँछ ।

कांग्रेस केन्द्रीय समिति बैठकमा भ्रष्टाचार काण्डमा जोडिएका नेता बालकृष्ण खाणलाई जोगाउने विषयले बढी महत्व पाउँदा पार्टी सुदृढीकरणका सवाल र जनअपेक्षामा आधारित एजेण्डाहरु ओझेलमा परेको कतिपय केन्द्रीय सदस्यहरुको गुनासो छ । संस्थापन इतर पक्ष पार्टी सभापति देउवालाई नेतृत्वबाट बिदा गर्नुपर्ने र संसदीय दलको नेता फेर्नुपर्ने लबिङमा एकताबद्ध देखिएन । इतर पक्षकै कतिपय नेताहरूले सभापति देउवा या अन्य कुनै व्यक्ति विशेषसँग दुश्मनी नभई विधिविपरीत चलेको पार्टी नेतृत्वसँगको संघर्ष रहेको बताएका छन् ।

२०७४ र २०७९ सालको संसदीय निर्वाचनदेखि हालसम्म पार्टी सञ्चालनको कार्यशैलीले कांग्रेसमा पार्टी रुपान्तरणको माग जोडतोडका साथ उठेको हो । विधानअनुसार बोलाउनुपर्ने केन्द्रीय समिति बैठक बोलाउन एक वर्ष लाग्यो । समयमै गठन गर्नुपर्ने विभाग गठन भएका छैनन् । भ्रातृ तथा शुभेच्छुक संघसंगठनहरूको अवस्था भद्रगोल छ । कांग्रेसको यो दुरवस्थाले गर्दा शुभेच्छुक र आममतदातामा पार्टीप्रति निराशा र वितृष्णा बढ्दै गएको छ । कांग्रेसको विद्यमान अवस्थामा व्यापक सुधार ल्याउन नेतृत्वको कार्यशैली बाधक रहेको विश्लेषकहरुको जिकिर छ ।

लोकतान्त्रिक पार्टीमा सभापति देउवाको परम्परागत कार्यशैली, एकल नेतृत्वको अभ्यास र आफू अनुकूल निर्णय गर्दै जाने प्रवृत्तिले पार्टी झन् कमजोर बन्दै गएको हो । पार्टीमा झांगिएका यस्तै तमाम विकृतिहरूको जगमा कांग्रेसभित्र रूपान्तरणको बहस उठेको हो । आफ्ना आदर्श र सिद्धान्तहरुमा विमुख भएकै कारण सरकारको नेतृत्वमा रहँदा होस् या सरकारमा सहभागी भएको बेला कांग्रेसले मुलुकमा सुशासन दिन सकिरहेको छैन । देशमा भ्रष्टाचार चरम अवस्थामा पुग्दा कांग्रेसले भ्रष्टाचारविरुद्धको अभियानमा आफूलाई उभ्याउन सक्दैन ।

कांग्रेसभित्र अनुशासनहीनता बढ्दै गएको छ भने पार्टी पंक्तिमा अराजकता चरमचुलीमा पुगेको छ । शीर्ष नेतादेखि कार्यकर्तासम्ममा अराजकता देखिएको र भोगिएको अनुभव पार्टी पंक्तिमा छ । यस्तै कुरामा परिवर्तन ल्याउँदै पार्टीलाई परिमार्जन गर्न रुपान्तरण जरुरी छ । तर, कसरी पार्टीको रुपान्तरण हुन्छ भन्ने मार्गचित्र बाहिर आउन सकेको छैन । रुपान्तरणको अगुवाइ गर्ने नेताहरुले साझा सहमतिको एजेन्डा ल्याउन सकेका छैनन् । हिजोको कांग्रेसले आजको समयअनुसार पार्टीलाई रूपान्तरण गर्नैपर्छ । राणाकालमा स्थापना भएको कांग्रेस पार्टीभित्र राणाकालीन चरित्र, विचार र व्यवहार जीवन्त रहेकाले रुपान्तरणको विषय जटिल बन्न पुगेको छ । राणाकालीन हैकम विद्यमान छ । राणाशाहीको जस्तो हुकुम र तामेलीका अवशेष बाँकी छन् । रूपान्तरण यहीबाट सुरू हुनुपर्ने उपसभापति धनराज गुरुङ बताउँछन् ।

यसका लागि प्रथमतः पुस्तान्तरण आवश्यक छ । पुस्तान्तरण नभएसम्म कांग्रेस रुपान्तरणको कल्पना गर्न सकिँदैन । पुस्तान्तरणसँगै ऊर्जावान, गतिवान र मतिवान तथा विचारवान नेतृत्व कांग्रेसले खोजेको छ । कांग्रेस राम्ररी बुझेको र कांग्रेसमा रुझेको नयाँ नेतृत्वले पार्टीलाई गति दिन सक्ने युवा केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी बताउँछन् ।

परन्तु, वर्तमान नेतृत्वको विरोध गर्दै वैकल्पिक नेतृत्व दाबी गर्नेहरूले पनि कांग्रेसलाई बचाउने राजनीतिक चिन्तन, सोच र नेतृत्व क्षमता देखाउँदै आमकार्यकर्तालाई आश्वस्त पार्न सकेका छैनन् । केन्द्रीय समिति बैठकमा मुखरित ढंगबाट नेतृत्व परितर्वनको सवाललाई स्थापित गर्न सकेका छैनन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालको कांग्रेसलाई झाडीमा फसेको बाह्रसिंगेको उपमा दिए जस्तै समुद्रमा फसेको जहाजको अवस्थामा कांग्रेस छ ।

अहिले तीन वटै तहमा कांग्रेस सरकारमा छ । देशभरिका अधिकांश स्थानीय तहमा कांग्रेसको नेतृत्व छ । चार वटा प्रदेश सरकारको नेतृत्व गरेको कांग्रेस अन्य प्रदेश सरकारमा सहभागी छ । संघीय सरकारको नेतृत्व नगरेको भए पनि सत्तारुढ गठबन्धनमा प्रमुख र ठूलो दल कांग्रेस छ । तर, कांग्रेसजनले पार्टी सरकारमा छ भन्ने अनुभूति गर्न पाएका छैनन् । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको कार्यशैली जनमुखी छैन । कांग्रेस केन्द्रीय समितिको बैठकमा सरकार सञ्चालन र आमनागरिकलाई डेलिभरी दिने विषयमा छलफल भएको छैन ।

केन्द्रदेखि टोल र बस्तीस्तरसम्म गुटबन्दीका कारण मुर्झाएको पार्टी संगठनलाई एकताबद्ध बनाएर लैजाने सवालमा कुनै निष्कर्ष केन्द्रीय समिति बैठकले निकाल्न सकेको छैन । भविष्यमा पार्टीभित्र गुटबन्दी मौलाउँदै जाने र नेतृत्वको मनोमानी बढ्दै जाने संकेत केन्द्रीय समितिको बैठकले प्रवाह गरेको छ । यसो हुनु कांग्रेसका लागि मात्रै होइन, लोकतान्त्रिक व्यवस्थाकै निम्ति जोखिम हो । संस्थापन पक्षका नेताहरुले केन्द्रीय समिति बैठकपछि कांग्रेस एकताबद्ध भएर अघि बढ्ने दाबी गरे पनि कुन आधारमा कसरी कांग्रेस एकताबद्ध भएर अघि बढ्छ भन्ने स्पष्ट पार्न सकेका छैनन् ।

कांग्रेसमा रुपान्तरण चाहनेहरुका लागि कांग्रेस केन्द्रीय समितिको बैठकले खासै प्रभावकारी सन्देश प्रवाह गर्न सकेको छैन । कांग्रेस रुपान्तरणका एजेण्डाहरु ओझेलमा परेसँगै केन्द्रीय समिति बैठक उपलब्धिमूलक बन्न सकेको छैन । पार्टी सभापति देउवा स्वयम् केन्द्रीय समिति बैठकलाई उपलब्धिमूलक बनाउने पक्षमा नरहेको उनी निकटस्थ नेताहरुको प्रस्तुतिबाट अड्कल गर्न सकिन्छ । कांग्रेस संस्थागत ढंगबाट चल्न थालेमा आफूले मनमौजी ढंगबाट पार्टी हाँक्न नसक्ने भयले देउवा सन्त्रस्त रहेकै कारण कांग्रेस रुपान्तरणका सवालहरु ओझेलमा परिरहेको संस्थापन इतरका नेताहरुको आकलन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर