एमसीसी कार्यान्वयन अवस्थाबारे नेकपा एसले माग्यो सरकारको जवाफ
काठमाडौं । सत्तारुढ घटक नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौता कार्यान्वयनको अवस्थाबारे सरकारसँग जवाफ मागेको छ । हालै सम्पन्न सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले एमसीसीबारे भएगरेका कामबारे सरकारसँग जानकारी माग्ने बताए ।
सम्झौताको कार्यान्वयनमा व्याख्यात्मक घोषणाअनुरुप नेपालको हित रक्षाको प्रत्याभूति गर्न संसदीय अनुगमन समिति गठनका लागि आवश्यक पहल गर्ने पनि निर्णय गरिएको खतिवडाले बताए । त्यसको निरन्तर जानकारी लिने प्रयोजनका लागि पार्टीका तर्फबाट समेत अनुगमन समिति बनाउने सचिवालयले निर्णय गरिएको छ ।
नेकपा एसले भ्रष्टाचारविरुद्ध सरकारी सक्रियताले जनातामा आशा जगाएको ठहर गरेको छ । भ्रष्टाचारविरुद्धको अनुसन्धान तथा कारबाही कुनै पनि बहानामा नरोक्न उसको जोड छ ।