सुनिल शर्माले राजीनामा मागेपछि अर्थमन्त्रीको आरोप- हस्पिटलले बीमाको पैसा नपाएपछि जथाभावी बाेल्नुभयो (भिडिओ) – Nepal Press

सुनिल शर्माले राजीनामा मागेपछि अर्थमन्त्रीको आरोप- हस्पिटलले बीमाको पैसा नपाएपछि जथाभावी बाेल्नुभयो (भिडिओ)

काठमाडौं । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता प्रकाशरण महतले संसदमा आफ्नै दलका सांसद सुनिल शर्माले राजीनामा मागेको विषय अराजकता र चरम अनुशासनहीनता भएको टिप्पणी गरेका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सांसद शर्माले सुन तस्करीको विषयलाई लिएर अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको विषयमा राखिएको जिज्ञासामा उनले शर्माको अस्पताललाई बीमाको रकम नदिएकाले सदनमा तथानाम गरेको आरोप लगाए ।

यस प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै शर्माले मुख्य नाइकेलाई नसमाते प्रधानमन्त्री आएपछि सदनभित्रै आमरण अनसन बस्ने चेतावनी दिएका थिए ।

अर्थमन्त्री महतले भने, ‘मैले भन्नै पर्‍यो यो अराजकता, अनुशासनहीनताको चरम हो । उहाँको हस्पिटल छ । स्वास्थ्य बीमा बोर्ड भन्ने स्वास्थ्य मन्त्रालयको छुट्टै संरचना छ । हामीले पनि बीमा पाउनुपर्‍यो भन्ने उहाँको माग थियो । त्यो मैले निर्णय गर्ने हैन सम्बन्धित बोर्डले हो ।’

महतले आफूले सुराकी दिनेलाई पुरस्कार व्यवस्था गरेपछि सुन पक्राउ परेको जिकिर गरे । केही व्यक्ति पक्राउ परिसकेको र घटनाको अनुसन्धान भइरहेको बेला विभिन्न प्रश्न उठेकोमा तथानाम गाली गरेको उनको आरोप छ ।

महतको भनाइ जस्ताको तस्तै

मैले भन्नै पर्‍यो यो अराजकता, अनुशासनहीनताको चरम हो । उहाँको हस्पिटल छ । स्वास्थ्य बीमा बोर्ड भन्ने स्वास्थ्य मन्त्रालयको छुट्टै संरचना छ । हामीले पनि बीमा पाउनुपर्‍यो भन्ने उहाँको माग थियो । त्यो मैले निर्णय गर्ने हैन सम्बन्धित बोर्डले हो ।

त्यही पनि समान हिसाबले कसैलाई दिने कसैलाई नदिने नहोस् भनेर मैले पदाधिकारीलाई बोलाएर भनेँ । सरकारको नीति र बजेटभित्र रहेर स्वास्थ्य बीमा कसले कसरी पाउने समान कोणबाट दिनुपर्छ त्यसमा दुईमत छैन । त्यो कुरामा उहाँको कुरा मैले चाहिँ भने भने तुरुन्तै भइहाल्छ । म कुनै राणाकालको शासका होइन । बोल्नेबित्तिकै भइहाल्छ । त्यसको प्रक्रिया छ, बोर्ड छ । यसमा उहाँ भड्केर । कल्पना कसैले गर्न सक्छ ? प्रकाश महत यस्तोमा सहयोगी हुन सक्छ  ? बीचमा हटेको थियो मैले नै प्रस्ताव गरेको हो सूचना दिनेलाई पुरस्कार दिने भनेर ।

कहिलेकाहीँ नयाँ प्रविधि अपनाएर तस्करहरूले, नयाँ कोसिसको बाबजुद पनि उम्किन्छ । त्यसमा छानबिन भइरहेको छ । संलग्न कतिपय पक्रिसकेको छ । अनुसन्धान भइरहेको छ । टोटल हाम्रो सपोर्ट छ । भन्सारमा कुनै कमजोरी हुनुहुन्न । सूचनाको आधारमा पक्रियो नि त । पक्रनु त राम्रो हो नि । पक्रिएको कुरामा विभिन्न प्रश्न उठेकोमा आश्चर्यचकित भएको छु । कुरा एउटा अनि तथानाम कुरा गर्न पाइन्छ ? यो कुनै संस्कार हो हाम्रो पार्टीको ? मसँग पटकपटक आएर यो चाहीँ तपाईँले भन्यो भने आजै हुन्छ । मैले भनिराखेको छु समान किसिमबाट हुनुपर्छ भनेर । सम्बन्धित मन्त्रालयबाट आउनुपर्छ । हामीले स्वास्थ्यमन्त्रालयको पदाधिकारीलाई बोलाएर प्रक्रिया पुर्‍याएर निर्णय गर्नुपर्छ भनेको छ । कुरा एउटा छ तीर अर्कोतिर मार्ने  ? यो कुनै संस्कार हो  ? हामी त कल्पना पनि गर्न सक्दैनौं । वितृष्णा पैदा गर्ने आफ्‍ना मात्र कुरा गर्छौं । स्पष्ट ढंगले कुरा नराख्ने । एकअर्कालाई खुइल्याउने कमजोरी छ हामीलाई । कसरी राम्रो काम गर्ने भनेर हामी लागिरहेका छौं । तर, विरोध गरिरहने ? सम्बन्धित ठाउँमा आलोचना समालोचना गर्न पाइन्छ । तर, सम्बन्धित ठाउँभन्दा धेरै टाढा गएर जथाभावी प्रस्तुत भएको छ त्यो त संस्कार नै होइन ।


प्रतिक्रिया

2 thoughts on “सुनिल शर्माले राजीनामा मागेपछि अर्थमन्त्रीको आरोप- हस्पिटलले बीमाको पैसा नपाएपछि जथाभावी बाेल्नुभयो (भिडिओ)

  1. सुनिलजिको माग ठिक छ । भन्सार जाँचपास भएर १०० किलो सुन पास गराउने अर्थमन्त्रीलाई पदमा बसीरहन लाज लाग्दैन अलिकति ?

  2. लोकतन्त्र छ भन्दैमा राजिनामा माग्न पाइन्छ ? नैतिकता हुनेले पो आफु अन्तर्गतका निकायमा स सानो गल्ति हुदैमा राजिनामा दिन्छन् , नैतिकता भन्ने न कांग्रेस,न एमाले न माओवादी लगायतका दलहरुसग छ त्यसैले सक्दो सुन तस्करहरुलाई सहयोग पुग्ने गरि बोल्नुहोला सुनिल शर्मा महोदय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर