नयराज पन्तको डायरी : विराटनगरमा बीपी-मनमोहनको टकरावले नौ जनाको मृत्यु !
काठमाडौं । ७२ वर्ष अगाडि संशोधन मण्डल सुरु गरेका नयराज पन्त नेपालको इतिहास क्षेत्रका एक नामी अनुहार हुन् । संस्कृत भाषाका पोख्त र प्रेमी उनै पन्तले २००७ कात्तिकदेखी २००८ चैतसम्म संस्कृतमा लेखेको डायरी अहिले नेपाली भाषामा अनुवाद भएर आएको छ । छोरा महेशराज पन्तको सम्पादन र अनुवादमा आएको डायरीमा मूल पाठ संस्कृतको अंश पनि छ । नेपालका प्राज्ञिक हस्ती पन्तको आँखाले देखेको तत्कालीन समाजको चित्र डायरीमा छ ।
खासगरी डायरीमा राणा, राजा, कांग्रेस र भारतका धेरै कुरा अटाएका छन् । यी चार शक्तिको संघर्षदेखि समन्वयकालको भएकोले हुनसक्छ, डायरीमा ती कुरा आएका छन् । पन्तको डायरी आलोचनात्मक छ । उनी राणा, राजादेखि कांग्रेस हुँदै भारतसम्मको कुरामा पनि आलोचनात्मक देखिन्छन् । नेपालले मानेका नामी अनुहारहरु बाबुराम आचार्यलाई ‘इतिहासरसिक’ भन्ने देखि कवि लेखनाथ पौड्याललाई ‘राणाका भाट’ भन्नसम्म पन्तले भ्याएका छन् । बीपीले भरत शमशेर थुन्दा कानून नपुर्याएको भन्दै आलोचना गरेका पन्तले भरतशमशेरमाथि बीपीलाई मार्न खोजेको आरोप पनि लगाएका छन् । यसबाट पनि तत्कालीन घटनाक्रममा पन्त स्वतन्त्र चेतमा बसेका जस्तै देखिन्छन् ।
तत्कालीन राणा युगमा वर्षको पाँच सय बढी तलब हुने ‘सुनको सरस्वती भएको ब्याजको टोपी’ लगाउने समूहका सदस्य पन्त राणाहरुसँग नरम भएको पनि देखिँदैनन् । उनै वागी बौद्धिक पन्तको हालसालै फाइन प्रिन्टले बजारमा ल्याएको डायरीका केही रोचक कुरा यहाँ प्रस्तुत गरिएको छः
पृथ्वीनारायणको भूनीति र जंगबहादुरको मौद्रिक नीति पछिकाले तोडे
पृथ्वीनारायण शाहले खेतीयोग्य जमिनमा अन्न रोप्न बस्ती सारेको तर पछिका शासकले त्यो परम्परा तोडेको पन्तले २००८ मंसिर २१ को डायरीमा लेखेका छन् । भीमसेन थापाले नै नेपालमा पहिलोपटक पहिलो ठूलो निजी महल बनाएको भन्दै पन्तले वीरशमशेरहरुले अन्न फल्ने खेत नाशेर ठूल्ठूला महल बनाएको लेखेका छन् । पृथ्वीनारायणका जनाति राजेन्द्रविक्रमले बुद्धि नभएर नोकर जंगबहादुरको बन्धनमा आफू र आफ्ना सन्तानलाई धेरै कालसम्म पारेको पन्तले लेखेका छन् ।
पन्तले २००८ साल मंसिर २६ गतेको डायरीमा जंगबहादुरले धन देश बाहिर लान रोक लगाए पनि चन्द्रशमशेरले लगेको लेखेका छन् । त्यो प्रचलन पछिसम्म भएको उनले लेखेका छन् ।
कोशी जस्ता नदीहरुले घेरिएको देशमा जलसेनादेखि समयको मागअनुसारको हवाई सेनासमेत राणाहरुले राख्न नसकेको भन्दै पन्तले आलोचना गरेका छन् ।
राणा ढाल्ने आन्दोलनको नेता सुवर्णशमशेर नेतृत्वका महावीरशमशेरदेखि गोपालशमशेरहरुको उदाहरण दिएर पन्तले राणाहरुको पतनमा कौटिल्यको सूत्रअनुसार नै भएको २००७ साल चैत २३ गतेको डायरीमा उल्लेख गरेका छन् । पन्तले कांग्रेसका खास नेता बीपी र मात्रिका नभएर सुवर्णशमशेर भएको पटकपटक लेखेका छन् । नेपालमा राणा प्रधानमन्त्रीहरु धनी भएको र सबैभन्दा धनी मोहनशमशेर भएको २००७ साल चैत २४ को डायरीमा लेखेका छन् ।
राजा, राणा, कांग्रेसदेखि नागरिक समाज विदेशीको इसारामा चल्ने
पन्तले तत्कालीन समयमा कसरी विदेशी हस्तक्षेप स्वीकार भएको थियो र त्यसमा राजा, राणा, कांग्रेसदेखि नागरिक समाज कसरी जोडिएका थिए भनेर लेखेका छन् ।
२००८ साल बैशाख २ गतेको डायरीमा पन्तले तत्कालीन महाराजाधिराज त्रिभुवनको अध्यक्षतामा भएको मन्त्रिमण्डलको बैठकमा भारतीय राजदूत चन्द्रेश्वर र सल्लाहकारहरु गोविन्दनारायण अनि वृजनारायण बसेको लेखेका छन् । यस्तै २००८ साल मंसिर ११ को डायरीमा पन्तले लेखेका छन्, ‘श्री ३ चन्द्रका छोराहरु भारतको दास भएर आफ्नो गौरव र मुलुकलाई खसाल्ने कर्तव्यबोध नभएका दुःखी भएर रहेका छन् ।’
२००८ साल फागुन १८ को डायरीमा पन्तले चन्द्रशमशेरको बारेमा आलोचनात्मक लेखेका छन्, ‘अंग्रेजको पाउ मोलेर आफ्ना सबै प्रजालाई विवश पारी थुनेर आफ्ना दाजुभाइलाई क्रुद्ध पारेर चन्द्र धेरै कालसम्म आनन्दसँग बसे ।’
२००७ साल चैत २५ गतेको डायरीमा पनि पन्तले बीपीलगायतका कोइरालाहरुको विरोध गरेर लेखेका छन्, ‘लोकनेता भनाउँदा कोइरालाहरुले राज्यको अधिकार लिएपछि गोविन्दनारायण र वृजनारायण नाउँका भारतीय अहिले राजकाजमा सल्लाह दिने भएका छन् । यताबाट नेपालीहरु भारतीयहरुको पिछलग्गू दिनकादिन हुँदै गइरहेका छन् ।’
सोही दिनको डायरीमा नागरिक समाज पनि विदेशीले किनेको अर्थमा पन्तले लेखेका छन्, ‘नेपालका अदालतमा युरोपियनहरु न्यायाधीश नियुक्त गरिऊन भनेर नागरिक अधिकार समिति भन्ने कुनै संस्थाले अर्कोतिर आफ्नो आशय प्रकट गरेको छ ।’
राणाका चाकरहरु एकाएक कांग्रेसका चाकरमा बदलिए
राणा शासनलाई विदेशी पाउ मोल्ने, देशभक्ति नभएका र जनतालाई हेप्ने भनेर पन्तले ठाउँठाउँमा आलोचना गरेका छन् । तत्कालीन राणा सत्ता ढलेपछि राणाका चाकरहरु कांग्रेसका चाकर भएको पन्तले २००८ साल फागुन ७ गतेको डायरीमा लेखेका छन् । राणा कालका सरकारी प्रचार विभागका हाकिम बालकृष्णशमशेर, न्यायाधीश वल्लवशमशेर, प्रहरी हाकिम नरशमशेर, बबरशमशेरका चाकरीदार सरदार मानबहादुर, रााणाको कानून बनाउने कुलनाथ लोहनीसम्मको उदाहण दिएर उनले यस्तो लेखेका छन् ।
सोही खण्डमा उनले पहिले राणाको बाटो कुरेर दर्शन गर्ने र पछि रााणाको पतन होस् भन्ने तत्कालीन चित्रकार केशव दुवाडीको पनि उदाहरण यसैमा दिएका छन् । यी अनुहारहरुको चरित्र चित्रण गर्दै पन्तले लेखेका छन्, ‘जुन मानिसहरु पहिले राणाजीहरुको ओड लिई तिनीहरुका अनुचर भएका थिए, तिनै मानिसहरु अहिले ती राणाजीहरुको पतन भएपछि कांग्रेसका मूल मान्छे भएका छन् ।’
त्रिभुवनलाई सत्ताच्युत गर्ने पत्रमा सही गरेकाहरुले नै पछि राजभक्तिको गीत गाएको पनि पन्तले लेखेका छन् ।
गृहमन्त्रीबाट हट्नुपरेपछि भारतविरोधी भएका बीपी
पन्तले भारतको कृपा हुदाँसम्म भारतसँग नरम भएका बीपी कोइराला भारतले असहयोग गरेपछि विरोधी भएको उल्लेख गरेका छन् । मोहनशमशेरको क्याबिनेटमा गृहमन्त्रीबाट हटेपछि बीपीले नेपालमा भारतका प्रतिनिधिहरुले अधिकार क्षेत्रभन्दा बाहिर गएर काम गरेको भनेको र त्यो समाचार कांग्रेसी अखबारहरु नेपाल पुकार र युगवाणीले छपाउँदै केआई सिंहको प्रशंसा र भारतीय राजदूत चन्द्रेश्वरको निन्दा गरेको पन्तले २००८ साल पुस ३ गतेको डायरीमा लेखेका छन् ।
२००८ साल माघ २० गतेको डायरीमा भारतकै प्रसंगमा बीपी जोडेर पन्तले लेखेका छन्, ‘विसं २००७ मा नेता भनाउँदा विश्वेश्वरहरुले थालेको लडाइँ पनि भारतकै कृपाकटाक्षले नै सफल भयो । नत्र केही दिनमै यी कोइरालाहरुको गति पनि कुँवर इन्द्रजीत सिंहको जस्तो हुँदैनथ्यो भनेर लोकव्यवहार बुझेको कुन मानिसले भन्न सक्छ ।’
पन्तले सोही डायरीमा थपेका छन्, ‘भारतको कृपाले प्राणरक्षा भएका र ठूलो अधिकार पाएका विश्वेश्वरले वि.स २००८ कार्तिकमा गृहमन्त्रीको पदबाट झर्नेबित्तिकै भारत नेपालमा अनधिकार हस्तक्षेप गर्छ भनेर सभैपिच्छे बकबक गरेको देखिन्छ ।’
बीपीको चन्दा प्रकरणमा पनि पन्तले शंका गरेका छन् । २००८ साल फागुन १४ गतेको डायरीमा उनले भारतको काशीको महाविद्यालयलाई दिएको पाँच हजार चन्दाको विषय लिएर महिनाको १५ सय तलब हुने सामान्य परिवारका बीपीले ९ महिना मन्त्री हुँदा साढे १३ हजारमात्रै कमाएकोमा त्यहाँ शंकाको सुविधा भएको तर्क गरेका छन् ।
विरोध प्रदर्शनदेखि बिर्ता मुद्दामा कांग्रेसी नेताहरुको दोहोरो चरित्र
पन्तले नेपाली कांग्रेसका मन्त्रीहरुको दोहोरो चरित्रको आलोचना गरेका छन् । २००८ साल पुस १८ गते लेखेको डायरीमा बिर्तावालाहरुको जग्गाजमिन हर्न खोजेको तर पछि काठमाडौं र पहाडमा २५ रोपनी, तराईमा २५ बिगाहा जमिन वैध गरेको लेखेका छन् । २००८ साल साउन १३ मा तत्कालीन गृहमन्त्री बीपी कोइरालाले आफ्नो तलब बढाउन आग्रह गर्दै हड्तालको कुरा गर्दा हड्ताल गरे वा ठूलो स्वरमा कराए सबैको जागिर जान्छ भनेर आदेश दिएको भन्दै पन्तले २००४ सालमा विराटनगरको जुटमिलमा मजदुरको तलब बढाउने आन्दोलनका नेता बीपी गृहमन्त्री भएपछि त्यस्तै खाले मुद्दामा विरोधी भएको पन्तले लेखेका छन् ।
२००७ साल चैत २६ को डायरीमा पनि पन्तले कांग्रेसी मन्त्रीहरुको आलोचना गरेर लेखेका छन्, ‘यी कांग्रेसी मन्त्रीहरुले पनि आफूले कबुलेअनुसार दुनियाँको हित गर्न सकेनन् र यिनीहरु शत्रुको निन्दा गरेरै दिन बिताइरहेका देखिन्छन् ।’ यसमा पन्तले थपेका छन्, ‘शत्रुको निन्दा गरेर कांग्रेसीहरुले शत्रुकै बल बढाइरहेका छन् ।’
राणाहरुको बद्नाम गर्न कांग्रेसका मन्त्रीहरुले अन्न खानतलास गरेको पन्तले लेखेका छन् । २००८ साल साउन २० गतेको डायरीमा पन्तले तत्कालीन खाद्यमन्त्री सूर्यप्रसाद वा गृहमन्त्री बीपीको आदेशले बहादुरशमशेर, अग्निशमशेर, हरिशमशेर, नारायणशमशेर, समरशमशेर आदिका घरमा खोजतलास गरेको र अग्निशमशेरको घरमा ८०० मुरी र समरशमशेरको घरमा ८०० मुरी धान भेटिएको कुरालाई धेरै हल्ला गरिएको पन्तले लेखेका छन् ।
एक जनालाई एक दिनको खाना खान दुई माना चामल चाहिने भन्दै वर्षमा एक जनालाई मात्रै साढे ११ मुरी अन्न चाहिने तथ्यांक निकाल्दै पन्तले ठूलो परिवार र धेरै नोकरचाकर भएका राणाहरुको घरमा त्यत्ति धान हुनु कुनै असामान्य नभएको तर्क गरेका छन् । यस्तै २००८ साल कार्तिक २५ गतेको डायरीमा बीपीका बारेमा पन्तको अर्को आलोचनात्मक टिप्पणी छ । त्यहाँ पन्तले लेखेका छन्, ‘आफ्नो हातमा शक्ति आएपछि त्यस शक्ति स्थिर गर्न गृहमन्त्री कोइराला त्यही शक्तिद्वारा श्री ३ मोहन जस्तै हुन खोजिरहेका छन् ।’
राणा प्रधानमन्त्री जुुद्धशमशेरले बन्द गरेका कतिपय भीआईपी चाकरी प्रथा मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री भएर आएपछि पुनः सुरु गरेको पन्तले २००८ साल मंसिर २४ को डायरीमा लेखेका छन् । डायरीमा भनिएको छ, ‘आफूलाई जनताको नेता ठान्ने मानिसहरुको हातमा अधिकार जाँदा आजभोलि प्रधानमन्त्री मात्रिकाप्रसादको स्वागतको लागि हीराका चाँद लाउने सरकायिरा जागीरदारहरु र महाराजाधिराजको स्वागतका लागि सुनको चाँद लाउने सरकारिया जागीरदारहरु शहरबाट झण्डै एक कोश पर गौचर हवाई अड्डामा हाजिर हुनुपर्छ भन्ने राजकीय घोषणा भयो ।’
विराटनगरमा बीपी र मनमोहन टकराव हुँदा नौ जनाको मृत्यु !
विराटनगरको कलकारखानामा वि.सं २००४ मा चलेको आन्दोलनलाई पन्तले उपद्रव भनेका छन् । त्यहाँबाटै बीपी र मनमोहनको नाम आएको उनले २००८ साल बैशाख ५ को डायरीमा लेखेका छन् । उनले भनेका छन्, ‘विराटनगरमा वि.सं. २००४ मा कलकारखानामा चलेको उपद्रवले गर्दा त्यस उपद्रवका प्रवर्तक कोइरालाहरु प्रख्यात भए । त्यसरी प्रख्यात हुनेहरुमा मनमोहन अधिकारी भन्ने कुनै मानिस पनि थिए ।’
विराटनगरका कलकारखानामा बीपी र मनमोहनको टकराबको कारणले नौ जनाको ज्यान गएको पनि पन्तले सोही दिनको डायरीमा लेखेका छन् । उनले भनेका छन्, ‘आफ्ना अनुयायीहरुले घेरिएका मनमोहनले बीपी कोइरालाले बनाएको सबै नियम हटाएर कलकारखानाहरुमा आफ्नै नियम लागू गर्न खोजे । त्यो नसहेर कोइरालाले शहरमा हल्लाखल्ला गर्ने कारखानाका कमदारहरुमाथि गोली चलाँउदा नौ जना मरे र एक्काइस जनालाई घाइते बनायो भनी ठूलो कोलाहल छ ।’