रेडक्रसले ऐन निर्माण गर्न सरकारसँग माग्याे सहयोग (भिडिओ) – Nepal Press

रेडक्रसले ऐन निर्माण गर्न सरकारसँग माग्याे सहयोग (भिडिओ)

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रेडक्रस ऐन निर्माणका लागि सरकारसँग सहयोग मागेको छ । रेडक्रस सोसाइटीले बिहीवार पत्रकार सम्मेलन गर्दै रेडक्रसभित्रको समस्या समाधान गर्न रेडक्रस ऐन निर्माणका लागि सरकारसँग सहयोग मागेको हो ।

संस्थाका नवनिर्वाचित महामन्त्री भूपतिलाल श्रेष्ठले रेडक्रस ऐन नबनेका कारण पनि समस्या उत्पन्न भएको भन्दै रेडक्रसको केन्द्रिय तहमा विवाद हुँदा स्थानीय तहमा काम गर्न समस्या भएको बताए। उनले संस्थाको लेखा परीक्षण पनि हुन नसकेको र नेपाल रेडक्रस सोसाइटीको विधान नेपालको संविधान बमोजिम परिमार्जन नभएको बताए ।

महामन्त्री श्रेष्ठले भने, ‘नेपाल रेडक्रस सोसाइटीको पछिल्लो विवादलाई सदाका लागि अन्त्य गर्नुपर्छ । नेपाल रेडक्रस सोसाइटीको विधान अनुसार निर्वाचन सम्पन्न भएको छ । निर्वाचनले हिजोका दिनमा देखिएका गतिरोध अन्त्य भएको कुरा यहाँहरुलाई सुनाउन चाहन्छु । नेपाल रेडक्रस सोसाइटीको लामो समयदेखि दर्ता नविकरण गर्न सकेका छैनौं । दर्ता नविकरण नभएकाले हाम्रो विधान अनुसार स्थानीय स्तरसम्म प्रभावकारी काम गर्न सकिरहेका छैनौं ।  रेडक्रसभित्रका सबै साथीहरु (७६ वटै जिल्लाका प्रतिनिधिहरु) मा हाम्रो एकता छ । प्रदेशबाट प्रतिनिधित्व गरेर आउनुभएका प्रतिनिधिहरुबीचको विवाद छैन । रेडक्रसभित्र वैधानिक रुपले हामी एकतावद्ध छौं । निर्वाचनबाट सबैपक्षका साथीहरुको प्रतिनिधित्व छ । विवाद के हो भने रेडक्रसकर्मी र गैर रेडक्रसकर्मीबीच हो । यसलार्ई पोलीटिकल बनाउने प्रयत्न भएको हामीले महशुस गरेका छौं ।’

पत्रकार भेटघाट कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका नवनिर्वाचित अध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपालले संस्थाको नविकरण, रेडक्रस कानूनको निर्माणमा पहल र साधारण सभा गरी मानवीय सेवाका गतिविधिहरूलाई अझ बढी प्रभावकारी रूपमा अघि बढाउने बताए । नेपालले रेडक्रसमा कुनैपनि विवाद नरहेको भन्दै समानान्तरको कुरा आएपनि यो शब्दको बारेमा आफूलाई जानकारी नरहेको बताए ।

नेपालले भने, ‘रेडक्रसस कानुन भयो भने संस्था सहज तरीकाले अघि बढ्न सक्छ । हामीले वार्षिक साधारण गर्न गइरहेका छौं । हामिले तत्कालै साधारण सभा गर्न खोजेका थियौं । संस्थाको आर्थिक अवस्थाको पनि चित्रण गर्नुपर्छ । साधारण सभा लगत्तै नविकरणमा लाग्छौं । दुइ वर्षे कार्यकालको मार्र्गचित्र साधारण सभाबाट पारित गर्छौं । रेडक्रसमा विवाद छैन । समानान्तरको कुरा आउँछ । हामीलाई त्यो शब्द पनि थाह छैन ।’

नेपाल रेडक्रस सोसाइटीले भदौ ८ र ९ गते साधारण सभा गर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *