प्रधानमन्त्री प्रचण्डले गरे राेममा ओलम्पिक रङ्गशालाको अवलोकन (तस्बिरहरु)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को आज अवलोकन गरेका छन् । इटाली भ्रमणमा रहेका प्रधानमन्त्रीले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गरेका हुन् ।
अवलोकनका क्रममा उनले उक्त रङ्गशालाका बारेमा अभिरुचीपूर्वक जिज्ञाशा राखेका थिए। सो रङ्गशालामा ७० हजार दर्शक अट्ने बताइएको छ ।
प्रधानमन्त्री दाहालले खेलाडी आउने जाने मार्ग, प्यारापिट, खेलपछि आयोजना गरिने पत्रकार सम्मेलन कक्ष, रङ्गशाला सञ्चालका क्रममा प्रयोग गरिने सबै क्षेत्रको अवलोकन गरेका थिए ।
रङ्गशालामा प्रदर्शनीमा राखिएको इटालीले प्राप्त गरेको पहिलो शिल्ड, खेलाडीका जर्सीलगायतको अवलोकन गरेका थिए। प्रधानमन्त्री दाहाललाई रङ्गशालाका अधिकारीहरुले सम्पूर्ण जानकारी गराएका थिए ।
उक्त रङ्गशाला सन् १९६० देखि सञ्चालनमा आएको हो । सो रङ्गशालामा विशेष गरी फुटबल, रग्बी र एथलेटिक्सका खेलहरु हुने अधिकारीहरुले जानकारी दिएका थिए ।