एमालेलाई गृहमन्त्री श्रेष्ठको जवाफ- कसैले माग्दैमा म पछि हट्नेवाला छैन, गल्ती नगरेको भए मजाले निदाउनू (भिडिओ)
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमालेले माग्दैमा आफूले राजीनामा नदिने प्रस्ट पारेका छन् ।
महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले तस्करी, भ्रष्टाचार र विकृतिको डंगुर थुपार्न आफूलाई हटाउन खोजेको आरोप लगाए ।
उनको भनाइ जस्ताको तस्तैः
अहिलेको सरकारले एक सूत्रीय कार्यक्रम बनाएको छ- सुशासन, समृद्धि र सामाजिक न्याय । तपाईंहरुले अहिले देख्नुभएको छ, भ्रष्टाचार र बेथितिविरुद्ध ठूल्ठूला अभियानहरु सञ्चालन गरिरहेका छौं । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणसहित सबै प्रकरणको स्वतन्त्र र स्वच्छ अनुसन्धान गरेर दोषीलाई कानूनी कारबाही गर्ने पहलकदमी अगाडि बढाएका छौं । यस्ता कदमले विश्राम लिनेवाला छैन । अब पुग्यो भनेर सरकार बस्दैन ।
कसैले अब सरकार चुप बस्छ भन्ने आशा गरेको छ भने त्यो हुँदैन । भ्रष्टाचारी, कमिसनखोर, तस्करी र अपराधीहरुको विरुद्ध हामी अन्तिम विन्दूसम्म अगाडि बढ्छौं । तपाईंहरुले देख्नुभएको छ, जसले भ्रष्टाचार र तस्करीविरुद्ध अभियान चलाउँछ, उसले पद छाड्दिनुप¥यो भनेर कोही कोही कराइरहेका छन् । ठान्नुभएको होला छाड्दिएदेखि त अब अरु तस्करी, भ्रष्टाचारी, बेथिति र विकृतिको डंगुर फेरि लगाउन पाइथ्यो । अहिलको छानबिनको प्रक्रिया रोकिन्थ्यो ठानेर कसैले भन्नुभएको छ भने म निवेदन गर्छु, त्यो दिन आउनेवाला छैन ।
हामी छाड्नेवाला छैनौं । कसैलाई सजिलो बनाउन छाड्नेवाला छैनौं । हामी लतिता निवास, भुटानी शरणार्थी प्रकरण, सुन तस्करबारे पनि छानबिन अन्तिमसम्म पुर्याउँछौं । अनियमितता र कानूनको उल्लंघन भएको ठाउँमा कानूनको दायरामा ल्याउँछौं । एकचोटी धम्काएपछि पछाडि जान्छ भन्ने कसैले नसोचे हुन्छ । हामी विचलित हुनेवाला छैनौं । जनता हाम्रो साथमा छन् । यो देशको मुहार फेराउन अगाडि बढाउने संकल्प हाम्रो साथमा छ ।
सरकारको ठूलो अभियान चलिरहेको बेलामा जनताको साथ छ । तर, आफ्नो निजी स्वार्थमा मात्रै अस्तित्व देख्नेहरुले जनताको समर्थन र सत्यलाई देख्न सकेका छैनन् । म अहिले नै भन्छु, तपाईंहरु सच्चिनुस् । अहिले पनि मौका छ । कोही कोही मान्छे सुत्दै सुत्दैनन् रे ! मेरो के दोष भयो त ? गल्ती नगरेको भए मजाले सुत्नू निदाउनू । तर, भ्रष्टाचार र अपराधमा पनि साँच्चै संलग्न छ भने पनि सुत्ने ठाउँ छ । तपाईंहरुलाई आपराधिक क्रियाकलापमा संलग्न भएकाले निद्रा नलागेको हो भने आउनुस् प्रहरीमा आत्मसमर्पण गर्नुस् । हामी मजाले सुत्ने ठाउँ व्यवस्था गर्छौं । अब छाड्नेवाला छैन ।