कार्यबाहक प्रधानमन्त्री खड्का वीरेन्द्र सैनिक अस्पतालको निरीक्षणमा
काठमाडौं । कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आज वीरेन्द्र सैनिक अस्पताल छाउनीको स्थलगत निरीक्षण गरेका छन् । कार्यबाहक प्रधानमन्त्री खड्काले अस्पताल निरीक्षणका क्रममा अस्पतालबाट प्रवाह भइरहेको सेवाबारे अस्पतालका विभिन्न विभागमा पुगेर जानकारी लिएका थिए ।
उक्त अवसरमा कार्यबाहक प्रधानमन्त्री खड्काले सीमित स्रोतसाधन र भौतिक संरचनाका बाबजुद अस्पतालबाट सन्तोषजनक सेवा प्रभाव भइरहेकोमा खुशी व्यक्त गरेका थिए । उनले अस्पतालबाट एकीकृत रुपमा अझ बढी गुणस्तरीय सेवा दिन पनि आग्रह गरे ।
अस्पतालको नयाँ भौतिक संरचना निर्माण, स्वास्थ्यकर्मीदेखि कर्मचारीसम्मको समग्र वृत्ति विकासमा सरकारले सकेको सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
देशमा देखिएको आर्थिक समस्याका कारण सरकारले पनि चाहे जति सहयोग गर्न सक्ने अवस्था नभए पनि प्राथमिकताका आधारमा अस्पताललाई अझै सुविधा सम्पन्न बनाउन र अझ गुणस्तरीय सेवा प्रवाहका लागि सरकारले आवश्यक सहयोग गर्ने उनले बताए ।
उनले प्राथमिकता निर्धारण गरेर अस्पतालबाट अझै राम्रो स्वास्थ्य सेवा दिन सरकार र मन्त्रालयबाट कुनै नीतिगत सुधार गर्न सरकार सकारात्मक रहेको जानकारी दिए ।
कार्यबाहक प्रधानमन्त्री खड्काले सेवाग्रही तथा अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा अन्य कर्मचारीहरुसँग पनि छलफल गरेका थिए ।
अस्पतालको स्थलगत निरीक्षणमा कार्यबाहक प्रधानमन्त्री खड्कासँगै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहितका उच्च सैनिक अधिकारीहरु सहभागी भएका थिए ।