अख्तियारमा कर्णालीबाट तीन वर्षमा चार हजार ७३४ उजुरी – Nepal Press

अख्तियारमा कर्णालीबाट तीन वर्षमा चार हजार ७३४ उजुरी

डोटी । गएको तीन आर्थिक वर्षमा कर्णाली प्रदेशबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चार हजार ७३४ उजुरी परेका छन् ।

आयोगको सुर्खेत कार्यालयका अनुसार उजुरी संख्या निरन्तर बढ्दो छ । गत आर्थिक वर्ष २०७९/८० मा कर्णालीबाट सर्वाधिक दुई हजार ८२ उजुरी परेका छन् । आर्थिक वर्ष २०७८/७९ मा एक हजार ४३२ र २०७७/०७८ मा एक हजार २२० वटा उजुरी परेका थिए ।

तीन वर्षमा परेका उजुरीमध्ये दुई हजार ६३४ किनारा लागिसकेको आयोगको सुर्खेत कार्यालयका सूचना अधिकारी रत्नचन्द्र गौतमले जानकारी दिए । उनले आर्थिक वर्ष २०७७/७८ मा ५७५, २०७८/०७९ मा ९०९ र २०७९/८० मा एक हजार १५० उजुरी फर्छ्योट भएको बताए ।

सूचना अधिकारी गौतमका अनुसार कर्णालीमा परेका उजुरीमध्ये २८८ वटा विस्तृत अनुसन्धानमा गएका छन् । विस्तृत अनुसन्धानमा गएकामध्ये ११३ उजुरीको प्रतिवेदन आयोगमा पेश भइसकेको छ ।

प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी सुर्खेतबाट उजुरी परेका छन् । तीन वर्षको अवधिमा यस जिल्लाबाट ९९२ उजुरी परेको सूचना अधिकारी गौतमले जानकारी दिए ।

उनका अनुसार सुर्खेतबाट परेका उजुरीमध्ये ६१० फर्छ्योट भएका छन् ।

सबैभन्दा कम उजुरी रुकुम (पूर्व) बाट परेको छ । यस जिल्लाबाट २२ वटामात्रै उजुरी परेकामा १६ किनारा लागिसकेका छन् ।

त्यस्तै दैलेखबाट ७७७ उजुरी परेकामा ४३३ फर्छ्योट भएको छ । मुगुबाट परेका ४९१ मध्ये २६६, कालिकोटबाट परेका ४७८ मध्ये २४० र जाजरकोटबाट परेका ४३८ उजुरीमध्ये २३४ वटा फर्छ्योट भएको कार्यालयले जनाएको छ ।

त्यस्तै हुम्लाबाट परेका ४३२ मध्ये २३२, जुम्लाबाट परेका ३३४ मध्ये १७९, सल्यानबाट परेका ३०७ मध्ये २०४, रुकुम पश्चिमबाट परेका २७१ मध्ये १३३ र डोल्पाबाट परेका १९२ उजुरीमध्ये ८७ वटा किनारा लागिसकेको सूचना अधिकारी गौतमले जानकारी दिए ।

तीन वर्षमा अख्तियारमा परेका उजुरी र फर्छ्योट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर