कांग्रेसलाई ओलीको व्यंग्य- हेर दुर्गति, प्रचण्डले काँधमा चढेर कानमा समात्या छन् (भिडिओ)
भ्रष्टाचारको विरोधमा कांग्रेसले चुँ पनि बोल्न नसकेको आरोप
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस-माओवादीको सहकार्यलाई लिएर कटु व्यंग्य गरेका छन् । कांग्रेसले प्रचण्डलाई काँधमा बोकेर हिँडिरहेको उनको टिप्पणी छ ।
जनवर्गीय संगठनको कार्यक्रमलाई सम्वोधन गर्दै ओलीले अहिले कांग्रेसको दुर्गति भएको दाबी गरे ।
उनको टिप्पणी यस्तो थियोः
भाग्यमा छ भन्दैमा डोकामा दूध दुहेर अडिँदैन । जितिहालिन्छ भनेर उपरखुट्टी लगाएर बस्ने हो भने हामी कांग्रेसकै हालतमा पुग्छौं । अहिलेको कांग्रेस हेरे हुन्छ, कांग्रेसको नसिबमा यति चाँडै यो दुर्गति.. । माओवादीको ढाकर बोक्या हेर त ! कांग्रेसको दुईपट्टि प्रचण्ड टिलिक्क परेका जुत्ता लगाएका खुट्टा झारेर कांग्रेसको कानमा समातेर हट हट गर्दै कसरी हिड्या छन् ? कांग्रेस लुरुलुरु ! कांग्रेसको थियो अलिकति । तर, अब कठैबरा मात्र भन्न सकिन्छ । अरु के गर्नु ?
ओलीले कांग्रेसले भ्रष्टाचारका विरुद्धमा बोल्नै नसकेको टिप्पणी पनि गरे
मुसाले मौका पर्दा च्याउँ गर्छ । तर, कांग्रेसले भ्रष्टाचारका विरुद्ध च्याउँ पनि गर्न सक्दैन । के भाको कांग्रेस ? हेर्दाहेर्दै हेर्नुस् त कांग्रेस ! कर्कलाको डाँठ लौरो जस्तै देखिन्छ नि ! अस्तिकै दिन काटेको कर्कलाको डाँठ जस्तो भएको छ कांग्रेस । यसै पनि अडिँदैन ।
यति भनिसकेर ओलीले कांग्रेसको मामलामा आफूले धेरै नबोल्ने बताए ।