भिआईपीले स्वदेशमै हुने उपचार विदेशमा गएर गरे सरकारले खर्च व्यहोर्दैन : स्वास्थ्यमन्त्री बस्नेत (भिडिओ) – Nepal Press

भिआईपीले स्वदेशमै हुने उपचार विदेशमा गएर गरे सरकारले खर्च व्यहोर्दैन : स्वास्थ्यमन्त्री बस्नेत (भिडिओ)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भिआईपी र भिभिआईपीले स्वदेशमै सम्भव उपचार विदेशमा गर्न गए सरकारले खर्च नव्यहोर्ने बताएका छन् ।

शुक्रवार वीर अस्पतालको १३४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले नेपालमा हुने उपचार गर्न विदेश गएको खण्डमा त्यहाँ लाग्ने उपचार खर्च आफैँले व्यहोर्नुपर्ने बताएका हुन् । उनले स्वदेशमा सम्भव हुने उपचारलाई विदेशमा जान नहुने भन्दै त्यसको लागि अभियान थालेको बताए ।

उनले नेपालमै उत्कृष्ट चिकित्सक र नर्सहरु रहेको भन्दै नेपालभित्रै उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह भइरहेको बताए । अहिलेपनि विदेशी चिकित्सकहरु नेपालमा पढ्न आउने गरेको भन्दै मन्त्री बस्नेतले नेपालको चिकित्सा सेवा उत्कृष्ट रहेको दाबी गरे ।

उनले गरिव तथा विपन्न वर्गलाई १० प्रतिशत शैय्या सबै अस्पतालमा लागू भएको बताए । मन्त्री बस्नेतले गरिव, विपन्न, असहाय र बेवारीसे बिरामीहरुले निःशुल्क उपचार पाउन थालेको बताउँदै अहिले ३ हजार पाँच सय २३ बेड निशुल्क भइसकेको जानकारी दिए । गरिब र विपन्नताका कारण आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनपर्ने अवस्थालाई कम गरेको बताए । उनले सदैव वीर अस्पताललाई सुधार गर्न तल्लिन रहेको बताए ।

‘वीर अस्पताललाई हामी सबैले ऐतीहासिक अस्पताल भनिरहेका छौं । यहाँ धेरै किसिमका विषय विज्ञता हासिल गरेका डाक्टर सावहरु हुनुहुन्छ । नर्सिङ क्षेत्रमा लामो अनुभव रहेका मान्छेहरु प्रशस्त हुनुहुन्छ । सरकारले व्यवस्था गर्ने हो भने अहिले उपचार गराइरहनुभएका हाम्रा भिआइपी र भिभिआईपीहरु अन्य देशमा उपचार गर्नुपर्दैन । तर,हाम्रो मान्छेलाई विश्वास नै गरेका छैनन् । मैले यहाँ आएर भिभिआइपी क्याविन हेरेँ । २०४४ सालदेखि कोही भिभिआईपीले उपचार गराउनुभएको छैन । नेपालका चिकित्सक र नर्सले संसारले दिएको सेवा तपाईहरुले पनि उत्कृष्ट दिन सक्नुहुन्छ । दुर्गम ठाउँको मान्छेले सिटामोल खान पैसा नहुने भिआईपी र भिभिआईपी भने सामान्य रोगका लागि विदेश सयर गर्ने, राज्यको ढुकुटी खत्तम बनाउने भन्ने आक्रोश जताततै छ’, उनले भने, ‘यसलाई ध्यानमा राखेर अब वीर अस्पतालमा भिआइपी र भिभिआईपी क्याविन थप्न भनेर यहाँका पदाधिकारीलाई अनुरोध गरेँ । भिभिआईपी र भिआईपी गरी पाँच वटा क्याविन चल्ने अवस्था छ । भिआइपी र भिभिआईपीको उपचारका लागि १५ जना डाक्टर र थप नर्स खटिनुहुनेछ । अब कोहीपनि भिआईपी र भिभिआईपीलाई सन्चो भएन भने वीर अस्पताल वा स्वास्थ्य मन्त्रालयलाई सम्पर्क गर्ने, सेवा हामी दिन्छौं । हाम्रा एक्सेलेन्ट चिकित्सकहरुको एउटा समूह छ । जुन चिकित्सकहरु कहाँ विदेशबाट डाक्टर सावहरु यहाँ आउनुहुन्छ । तर, हामीले हाम्रो चिकित्सकलाई चिनेकै छैनौं । यदी यहाँ हुने उपचार विदेशमै जाने हो भने त्यो पैसा निजी खर्च व्यहोर्नुपर्छ । मैले यो अभियान शुरु गरेको छु । र, यसले वीर अस्पतालको शिर अब संसारभर फैलिन्छ भन्ने मलाई लाग्छ ।’

वीर अस्पतालले लामो समयदेखि बन्द अवस्थामा रहेको वर्न सेन्टर सञ्चालनमा ल्याउन लागेको छ । वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले लामो समयदेखि बन्द भएको वर्न सेन्टरलाई पुनः सञ्चालनमा ल्याउन लागेको जानकारी दिनुभयो । उहाँले वर्न सेन्टर स्थापनाका लागि सरकारले बजेट व्यवस्थापन गरिसकेका कारण पनि यही वर्षबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।

‘लामो समयदेखि बन्द भएको वर्न सेन्टरलाई पुनः सञ्चालनमा ल्याउँदैछौं । त्यसका लागी हामीले बजेट प्राप्त गर्न सकेनौं । तर, मन्त्री ज्यूले प्राथमिकतामा राखेर वर्न सेन्टरका लागि भनेर बजेट व्यवस्थापन गरिदिनुभएको छ’, उनले भने, ‘यस वर्ष हामीले वर्न सेन्टरका लागि तयारी थालिसकेका छौं । २४ सै घण्टा फार्मेसी सञ्चालन गर्ने लक्ष्यका साथ अघि बढेका छौं । निकट भविष्यमा बिस्तारीत अस्पतालको सेवामार्फत सेवाको अवधि बढाई अहिलेको चाँपलाई धेरै हदसम्म सम्बोधन गर्न सकिन्छ भन्ने अपेक्षासहित हामि यो कार्यमा अगाडी बढेका छौं । आइसीयुको क्षमता बढाउने र एचडीयुको संख्या थप्ने योजना छ । सघन उपचारको क्षमता यस वर्ष एक सय बेडमा पुर्याइने लक्ष्य लिएर अघि बढेका छौं ।’’

यसैवर्ष सघन उपचारको क्षमता बिस्तार गरेर एक सय बेडमा पु¥याइने लक्ष्य लिएको वीर अस्पताल १५ शैयाबाट शुरु भएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *