‘पीपला’: माओवादी सशस्त्र युद्धकालीन तीता कथा – Nepal Press
पुस्तक चर्चा

‘पीपला’: माओवादी सशस्त्र युद्धकालीन तीता कथा

  • ट्रान्सपोर्टको सीसामा सासले फुकेर धेरैपटक आफ्नै नाम लेखेको थिएँ । उनको नाम माझीऔंलाले ठूलो अक्षरमा लेखेको थिएँ भने आफ्नो नाम कान्छीऔंलाले सानो अक्षरमा ।
  • अभावले आइडोलोजीमा हानेपछि रहरहरु त्यसै मर्माहत हुँदारहेछन् ।
  • जुम्राको रगतले मन्दिरको पेटी र भित्तो रंगिएको छ । कटकटिएको रगतबाट बनेको दाग खप्पिस चित्रकारले क्यानभासमा पोतेको रंग जस्तो लाग्छ । लाग्छ- म दामी कलाकार हुँ, चित्रकार हुँ । हो, मेरो जीवनको क्यानभासमा पनि धेरैधेरै रगत लतपतिएको छ, कटकटिएको छ ।
  • शरीरमा मयलका पाप्रा कति पत्र भए, गनेकी छैन । तर, भन्न सक्छु- मयलका भन्दा पीडाका पत्र धेरै छन् । एउटा पत्र पल्टाउनु भनेको पीडाका अरु पत्रका लागि बाटो खोलिदिनु हो ।
  • यो शहरमा मान्छेभन्दा देउता धेरै छन् । घरमा देउता, कोठामा देउता, चोकमा देउता, रुखमा देउता, बगरमा देउता । देउतैदेउताको शहर । यहाँ एउटा देउताले एउटा मान्छेलाई मात्रै हेर्ने हो भने देउतालाई भाग नै पुग्दैन ।

यी माथिका लाइनहरुमै विमल नेपालले गत जेठमा बजारमा ल्याएको डेब्यु उपन्यास ‘पीपला’को कथासार बुझ्न सजिलो हुन्छ । ‘पीपला’ मूलतः २०५२ सालदेखि दश वर्ष चलेको सशस्त्र विद्रोहको समयमा गुज्रेका पात्रहरुको कथा हो । यो कथा माओवादी युद्धताका गाउँमा असुरक्षा भएर बजारमा गएर पढ्दै प्रवेशिका दिएर काठमाडौंमा उच्च शिक्षा पढ्न कुदेका समीर न्यौपानेको कथा हो । यो कथा सेनाबाट पीडित अनुराधा थापामगरको हो, जो कमरेड प्रभाबाट माओवादीमा लागेकी हुन्छिन् । यो कथा आफ्नै काकाबाट बलात्कृत भएर र माओवादीले ललाइफकाइ १४ वर्षकै उमेरमा विद्रोहमा लगिएकी पीपला अधिकारीको हो, जसको माओवादीको नाम कमरेड उषा हुन्छ । यो कथा आफ्नी श्रीमती पिट्ने, भतिजी बलात्कार गर्ने र गाउँले शिक्षक शिवलाई सेनाको सुराकी भनेर माओवादीमार्फत मार्न लगाउने र पछि आफैं कमरेड जनार्दन अधिकारी भएर माओवादीको सरकारमा मन्त्री भएका पात्रको हो ।

सेनालाई जनता पिराहा र लुटाहाको रुपमा देखाइएकाले तत्कालीन राज्यपक्षका कट्टर समर्थकहरुलाई पनि उपन्यासले बिझाउन सक्छ । तर, राज्य र माओवादी दुवै पक्षबाट चेपुवामा परेको एक विशाल तप्कालाई भने उपन्यासले छुन्छ ।

यी कथाहरुको भीडमा मूल कथा चै समीर न्यौपाने र पीपला अधिकारीको हो । कक्षामा प्रथम पीपला र दोस्रो समीर पढाइमा जत्तिकै प्रेमिल भावनामा पनि प्रतिस्पर्धी हुन्छन् । सिन्धुपाल्चोकको रामपुरदेखि संघीय राजधानी काठमाडौं आउन समीर र पीपलाले लिएको बाटोमात्रै फरक हुन्न, व्यक्तित्व पनि फरक हुन्छ । लेखक र साहित्यकार अनि पत्रकार बन्ने सपना बोक्ने समीर दुःखसुख सपनाको नजिक हुन्छ । एक पत्रिकामा ‘प्रतितर्क’ नामको स्तम्भ लेखेर लेखकीय व्यक्तित्व बनाउँदै हुन्छ ।

बाल्यकालमा वैज्ञानिक बन्ने सपना देख्ने पीपला भने माओवादीमा लागेपछि न्यायिक समाजको नागरिक बन्ने एक औसत सपना पनि पूरा गर्न नसक्ने विवश भएर काठमाडौं आउँछिन् । सँगैकी साथी अनुराधा क्याबिन रेस्टुरेन्टमा काम गरेर हिंसा सहन तयार हुन्छिन् । पीपला भने बहुलाएको अभिनय गरेर बसन्तपुर, भृकुटीमण्डपदेखि पशुपति क्षेत्रहरुमा ओहोरदोहोर गर्छिन् । विभिन्न मन्दिरहरुमा बस्छिन् । नुवाकोटको गौँडा हुँदै पीपलाले काठमाडौं आएर भिन्न अवतार लिए पनि काभ्रेको साँगा हुँदै काठमाडौं आएका समीरलाई चिन्छिन् । समीरलाई भने पीपला चिन्न उनले छोडी हिँडेको शान्तिनगरको मन्दिरको डायरी हेर्ने अवस्थामा आइपुग्नु पर्‍यो ।

कथाको क्लाइमेक्स पीपलालाई समीरले चिनेपछिको उनको खोजीसम्ममा छ । बीचमा धेरै उतारचढाउ आउँदा पनि पीपला नभेट्ने समीरले सिंहदरबारको दक्षिण गेटमा महिला बालबालिका तथा समाज कल्याणमन्त्री कमरेड जनार्दन अधिकारी सवार गाडीले मारेको अवस्थामा मात्रै भेटाउँछ । यसरी कथालाई एकदम कारुणिक बनाएका छन् लेखकले ।

‘पीपला’को डायरीका पहिलो चरणको अध्यायसम्म जुन तहको साहित्यिक कल्पना, विम्ब र सूक्ष्म चित्रण छ, त्यो खालको प्रस्तुति बाँकी अध्यायहरुमा देखिँदैन ।

पछिल्लो समयमा माओवादीको सशस्त्र संघर्षको समयमा लेखिएका किताबहरु बजारमा व्यापक आइरहेका छन् । यही भीडमा ‘पीपला’ पनि आएको छ । यसले माओवादीको मात्रै खराब चित्र देखाएको छैन, सरकारी पक्षको कमजोरी पनि छताछुल्ल बनाएर पात्रहरुमार्फत् केलाएको छ । भन्नमा कुनै नयाँ कथा छैन । तर, कथा भन्ने तरिका भने रोचक छ । सँगै पढेका दुई प्रेमीहरुको कथालाई जोडी युद्ध भित्र र बाहिर भएको दृृश्य देखाएर लेखकले रोचक प्रयोग गरेका छन् । माओवादी आन्दोलन सही भन्दै त्यहाँ भएका सबै कमजोरी पनि मान्य भन्नेलाई उपन्यास खल्लो लाग्नसक्छ । सेनालाई जनता पिराहा र लुटाहाको रुपमा देखाइएकाले तत्कालीन राज्यपक्षका कट्टर समर्थकहरुलाई पनि उपन्यासले बिझाउन सक्छ । तर, राज्य र माओवादी दुवै पक्षबाट चेपुवामा परेको एक विशाल तप्कालाई भने उपन्यासले छुन्छ ।

उपन्यासमा केही कमजोरी पनि छन् । उपन्यास लेखनीको मूल पात्र समीरसँग जोड्न दीपक सापकोटा नामका एक दाइ पात्र ल्याएका छन् । लेखकले अध्याय सातमा तपाईं भनेर सापकोटालाई सम्बोधन गरेका छन्, ‘भन्नुभयो’ भनेका छन् । फेरि उनै सापकोटालाई अध्याय २८ मा पुगेर ‘भने’ ‘सोधे’ आदि भनेका छन् । अध्याय सातसम्म सम्मान गर्न लायक सापकोटा अध्याय २८ मा पुगेर सम्मानमा किन घटुवामा परे भन्ने पाठकमा प्रश्न आउँछ । यस्तै ‘पीपला’को डायरीका पहिलो चरणको अध्यायसम्म जुन तहको साहित्यिक कल्पना, विम्ब र सूक्ष्म चित्रण छ, त्यो खालको प्रस्तुति बाँकी अध्यायहरुमा देखिँदैन ।

यति हुँदाहुँदै पनि पुस्तक लोकार्पण समारोहमा प्रमुख अतिथि तथा स्थापित आख्यानकार नयनराज पाण्डेले भने जस्तै पुस्तकले पाठकलाई पूरा निराश भने बनाउँदैन । माओवादीका युद्ध कथा आफ्नै मौलिक शैलीले भन्न लेखक नेपाल सफल भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *