कृषि क्षेत्रलाई कानूनअनुसार व्यवस्थित बनाउने गरी कृषि ऐन आउँछः मन्त्री भुसाल – Nepal Press

कृषि क्षेत्रलाई कानूनअनुसार व्यवस्थित बनाउने गरी कृषि ऐन आउँछः मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले कृषि क्षेत्रलाई कानूनअनुसार व्यवस्थित बनाउन सरकारले कृषि ऐन, २०८० ल्याउन लागेको बताएका छन् ।

आइतबार काठमाडौंमा भएको एकीकृत कृषि ऐनको आवश्यकताबारे छलफल कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएका हुन् । उनले मन्त्रालयले कृषि ऐन, २०८० को मस्यौदा तयार पारेकाले सरोकारवालाहरुसँगको सुझाव लिएर चाँडै संसदमा पेस गर्ने बताए ।

उनले कृषि क्षेत्र नेपालीहरुको जीवन पद्धतीसँग जोडिएकाले नीति,नियम, कानूनअनुसार व्यवस्थित बनाउने र सरकारले पूरा गर्नुपर्ने दायित्व पूरा गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । मन्त्री भुसालले जीवन पद्धतीसँग कृषि जोडिए पनि अहिलेसम्म कृषि ऐन नबन्नु लाजमर्दो कुरा भएको बताए।

उनले भने,‘यो लाजमर्दो कुरा हो । कृषिलाई हामी जीवन पद्धती भन्छौं त्यो विषयलाई सञ्चालन गर्ने कुनै निर्देशक नीति छैन । कृषि नीति बनाएका छौं भनेर भएन ।कानूनी राज्यमा निर्देशन गर्ने नीतिले नभएर कानूनले हो । कानूनले हरेक क्षेत्र कानून अनुुसार चल्न भनेको छ । त्यसैले कृषि क्षेत्र पनि कानून अनुसार चल्नुपर्छ । कानूनबिहीन तरिकाले चलेर हुँदैन । कानून सबैभन्दा पहिलो आवश्यकता हो । आवश्यकताबाट नै हामीले शुरु गर्नुपर्छ भन्ने हो । संविधान बनेसँगै अघि बढ्नुपर्ने हो तर त्यो शुरुमा नै अघि बढ्न सकेन । कृषि ऐन बनाउन विभिन्न छलफल र सुझाव लिने क्रममा धेरै समय बित्यो । अब सुझाव र छलफलमा मात्रै धेरै समय फल्न हुँदैन । ऐन सधैँका लागि बन्ने होइन । समय–समयमा संशोधन गर्न सकिन्छ । त्यसैले आवश्यक समय लिएर मात्रै छलफल गरौं । मन्त्रालयले कृषि ऐनको मस्यौदा तयार पारेको छ । त्यसैमा आधारित भएर सरोकारवालाहरुले सुझाव दिनुहोला ।’

सधैँका लागि नभई ऐन आवश्यकता अनुसार संशोधन गर्न सकिने भएकाले अब सुझाव र छलफलमा मात्रै धेरै समय फल्न नहुने भन्दै उनले सरोकारवालाहरुले मन्त्रालयले बनाएको ऐनको मस्यौदा भित्रै बसेर सुझाव दिन आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर