फुपूचेला, मामाचेलीको प्रथा यो राज्य बन्नुअघि नै तामाङहरुले अभ्यास गरेको परम्परा हो : अध्यक्ष गोले (भिडिओ) – Nepal Press

फुपूचेला, मामाचेलीको प्रथा यो राज्य बन्नुअघि नै तामाङहरुले अभ्यास गरेको परम्परा हो : अध्यक्ष गोले (भिडिओ)

काठमाडौं । नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले अधिवक्ता शीतल पाण्डेको अभिव्यक्तिले आफूहरुलाई मर्माहत बनाएको बताएका छन् । साथै पाण्डेले भ्रामक कुरा बोलेकाले धार्मिक, सांस्कृतिक सहिष्णुता खलबलिएको गोलेको आरोप छ ।

नेपाल तामाङ घेदुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गोलेले यो राज्य बन्नुभन्दा पहिला नै फुपूचेला, मामाचेलीको अभ्यास तामाङहरुले अभ्यास गरेको परम्परा रहेको बताए ।

उनले भने, ‘यो आधुनिक राज्य बन्नुभन्दा पहिला, यसको अवयव बन्नुभन्दा पहिला मामाचेली फुपूचेला तामाङहरुले अभ्यास गरेको परम्परा हो । हाम्रोमा दाजु बहिनी वा दिदी भाइ भन्ने पवित्र सम्बन्ध पनि हुन्छ । तर, मामाचेली, फुपू चेला चलाउँछौं । यो हाम्रो परम्परागत आभ्यास हो, प्रचलन हो ।’

गोलेका अनुसार तामाङ समुदायमा सुहागे भाइ प्रणाली हुन्छ । गोले थरको तामाङले अन्य १५ थरीका तामाङसँग विवाह गर्नु हुँदैन । बाइवा थरका तामाङले अन्य सात थरीका तामाङहरुसँग विवाह गर्नु हुँदैन । योन्जन थरका तामाङले अन्य पाँच थरीका तामाङहरुसँग विवाह गर्नु हुँदैन । तर, आफूहरुले बाहुनहरुको पनि विभिन्न थरीबीचमा किन विवाह भयो भनेर प्रश्न गर्न उपयुक्त नहुने गोलेले बताए । ती सबै कुरालाई सामाजिक अभ्यासको रुपमा लिनुपर्ने गोलेका तर्क थियो ।

गोलेले भने, ‘नेपालको मौजुदा संविधान, प्रचलित कानूनले पनि समुदायमा चलेको अभ्यासको प्रचलनलाई मान्यता दिएको छ । बाधा अड्चनको व्यवस्था गरेको छैन । तर, स्वयं कानूनको विद्यार्थीबाट यस्तो अभिव्यक्ति आउनु कुनै परीक्षणबाट आएको कुरा होइन । यसकारण उनका यस्ता भ्रामक कुराले विविधताले भरिपूर्ण समाजमा धार्मिक, सांस्कृतिक सहिष्णुता खलबलिएको छ । यसले हामीलाई मर्माहत बनाएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *