धादिङमा छोरी र भतिजी बलात्कार गर्ने दुई पक्राउ
धादिङ । आफ्नो संरक्षणमा रहेकी १७ वर्षीया भतिजी बलात्कार गरेको आरोपमा धादिङबाट ३६ वर्षीय एक पुरुष पक्राउ परेका छन् ।
पक्राउ परेका व्यक्तिलाई प्रहरीले आइतबार हाडनाता जबरजस्ती करणी मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ ।
श्रीमतीको हत्या गरेपछि बालिकाको बाबु जेलमा रहेका छन् । चार वर्षदेखि काकाको संरक्षणमा रहँदै आएकी ती किशोरीमाथि पटक पटक बलात्कार हुँदै आएको र पछिल्लो पटक साउन १ गते घरमै काकाबाट बलात्कृत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पीडित किशोरीले प्रहरीमा उजुरी दर्ता गरेपछि घटना बाहिर आएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार पीडितको धादिङ अस्पतालमा शनिबार स्वास्थ्य परीक्षण गरिएको थियो । पीडितलाई मावली पक्षको सहयोगमा धादिङबेसीबाट उद्धार गरी सुरक्षित आवास गृहमा राखिएको छ ।
दुई दिनअघि मात्रै आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको कसुरमा दाङका एक पुरुषलाई धादिङ प्रहरीले पक्राउ गरेको थियो ।
धादिङको धुनीवेशी नगरपालिका- १ जीवनपुरस्थित इँट्टा उद्योगमा २०७९ पुसदेखि २०८० बैशाख ११ गतेसम्म मजदुरी गर्ने क्रममा एउटै कोठामा बस्ने बाबुले छोरीलाई पटक पटक जबरजस्ती करणी गरेको आरोप लागेको छ ।
आफ्नै १७ वर्षीया छोरीमाथि पटक पटक जबरजस्ती करणी गर्दा पेटमा बच्चासमेत बसेपछि बाबु फरार भएका थिए । आफ्नै बाबुको गर्भ बोक्नु परेपछि पीडित किशोरीले न्याय खोज्दै जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।
किशोरीको पेटमा पाँच महिनाको गर्भ रहेको खुलेपछि घटना बाहिर आएको हो । धादिङको इँट्टा उद्योगमा काम गर्दै आए पनि छोरी गर्भवती भएपछि बाबु भागेर दाङमा गई लुकीछिपी बस्दै आएका उनलाई प्रहरीले पक्राउ गरेको हो ।
पीडक बाबुलाई दाङको घोराहीस्थित आफन्तकोमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी गत बुधबार पक्राउ गरेको धादिङ प्रहरीले जनाएको छ । घटना धादिङ जिल्लामा भएकाले पक्राउ परेका पुरुषलाई हाडनाता जबरजस्ती कसुरमा धादिङ अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक जैसवारले जानकारी दिए ।