दिपायल सिलगढी नगरपालिकामा फलफूलका ३० हजार विरुवा वितरण – Nepal Press

दिपायल सिलगढी नगरपालिकामा फलफूलका ३० हजार विरुवा वितरण

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिकाभित्र विभिन्न फलफूलका ३० हजार २०० विरुवा वितरण गरिएको छ । दिपायल सिलगढी नपाका अनुसार सुदूरपश्चिम कृषि विकास निर्देशनालय र गैरसरकारी संस्थाको साझेदारीमा उक्त विरुवा वितरण गरिएको हो ।

निर्देशनालयले १२ हजार ५०० विरुवा वितरण गरेको छ । अम्रपाली जातको आँपका ४ हजार, शाही जातको लिचीका ३ हजार, रुखकटहरका ५००, जुनारका ३ हजार र अमिलोका २ हजार विरुवा वितरण गरेको छ । निर्देशनालयले आँप, लिची र रुखकटहर नगरपालिकाको वडा नं. १, २ र ३ मा वितरण गरेको छ । अन्य वडाहरुमा जुनार र अमिलोका विरुवा वितरण गरिएको छ ।

यस्तै नगरपालिका र निर्देशनालयको लागत साझेदारीमा वडा नं १, २ र ३ का किसानहरुलाई २ हजार ५०० लिचीका बोट वितरण गरिएको छ । लिचीको विरुवा खरिदमा प्रतिविरुवा ७५ रुपैयाँका दरले हुन आउने रकम एक लाख ८७ हजार ५०० रुपैयाँमा नगरपालिकाले ५० प्रतिशत अनुदान दिएको छ ।

नगरपालिकाको सहकार्यमा मानवीय सेवामा अनेकौं प्रयास नामक गैरसरकारी संस्थाले वडा नं १, २ र ३ मा कटहर ३००, लिची ३००, आँप ८००, अम्बा ४५०, एभोकाडो २०० र टिमुर २०० विरुवा वितरण गरेको छ । गैरसरकारी संस्थाकै सहयोगमा अन्य वडाहरुमा अनार १५०, अमिलो एक हजार, कागती एक हजार ४०० र सुन्तला ४०० विरुवा वितरण भएको छ ।

नगरपालिकाले कागती (तेह्रथुमे गोल्डेन) का १० हजार विरुवा वडा नं ४, ५, ६, ७, ८ र ९ मा वितरण गरेको जनाएको छ । कागतीका विरुवा गोल्डेन फार्म्स प्रालि काभ्रेपलाञ्चोकले नगरपालिकालाई निःशुल्क उपलब्ध गराएको हो । विरुवा प्याकिङ र ढुवानीवापत नगरपालिकाले एक लाख ७३ हजार रुपैयाँ लगानी गरेको छ ।

प्रतिकृषक कोटा नतोकी कृषकले लिन चाहे जति विरुवा दिइएको नगरपालिकाका सूचना अधिकारी विष्णुराज जोशीले जानकारी दिए ।

अरहर र कपासको बीउ पनि बाँडियो

नगरपालिकाले किसानहरुलाई अरहरको दाल र कपासको बीउ पनि वितरण गरेको जनाएको छ । सूचना अधिकारी जोशीका अनुसार नगरका ९ वटै वडामा १० क्विन्टल अरहरको बीउ वितरण गरिएको हो । अरहरको बीउ कालिका एग्रोभेट दिपायलबाट प्रतिकिलो ३०० रुपैयाँका दरले खरिद गरिएको नपाले जनाएको छ ।

यस्तै चालू आर्थिक वर्षको कार्यक्रमबाट खर्च देखाउने गरी नगरपालिकाले २ क्विन्टल कपासको बीउ खरिद गरी ९ वटै वडामा वितरण गरेको छ । कपास विकास समिति बाँकेबाट प्रतिकिलो ७० रुपैयाँका दरले कपासको बीउ खरिद गरी वितरण गरिएको हो ।

नगरपालिकाले आगामी दुई वर्षभित्र तरकारी र फलफूलमा आत्मनिर्भर हुने लक्ष्य राखेको छ । नगर प्रमुख बाजीसिंह खड्काले गत जेठ ११ गते आफ्नो कार्यकालको एक वर्षमा भएका उपलब्धिहरु सार्वजनिक गर्ने क्रममा सो प्रतिबद्धता सार्वजनिक गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *