निर्माण व्यवसायीहरुले घेरे प्रधानमन्त्री निवास बालुवाटार (भिडिओ) – Nepal Press

निर्माण व्यवसायीहरुले घेरे प्रधानमन्त्री निवास बालुवाटार (भिडिओ)

काठमाडौं । निर्माण व्यवसायीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका छन् ।

सरकारले आयोजनाहरुको म्याद थपको आदेश र भुक्तानीलगायतका विषयलाई लिएर निर्माण व्यवसायीहरुले सेफ्टी हेल्मेट र ज्याकेट लगाएर प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका हुन् ।

व्यवसायीहरुले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थपलगायतका ९बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् । आइतबार सार्वजनिक खरिद अनुगमन कार्यालय घेराउ गरेका उनीहरुले आज बालुवाटारमा घेराउ गरेका हुन् ।

महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुका माग सम्बोधन नभएसम्म प्रधानमन्त्री निवास अगाडि आजदेखि निरन्तर धर्ना दिने बताए ।

लामो समयदेखि निर्माण व्यवसायीहरुलाई परेको समस्या सरकारले गम्भीर रुपमा नलिएको कारण आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ । अध्यक्ष सिंहले निर्माण आयोजनाहरु समयमै नसकिनुको प्रमुख कारण सरकारले निर्माण उद्योगलाई प्राथमिकता नदिनु भएको बताए । निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानीसमेत नपाएको उनको गुनासो थियो ।

सरकारले सार्वजनिक खरिद ऐनको १२ औं संशोधनबाट म्याद थप भएका आयोजनाहरुको करिव ४० अर्ब रुपैयाँ बराबरको कामको बिल बनाउन नकिएको अध्यक्ष सिंहको भनाइ छ

अध्यक्ष सिंहले करिब ४ खर्ब बराबरका आयोजनाहरुको म्याद थप हुन लागेको भन्दै अधिकांश योजनाहरुमा बजेट व्यवस्थापनसमेत नभएको बताए । उनले भुक्तानी गर्न नसकिने योजनाहरु तत्काल खारेज गर्न माग गरे ।

व्यवसायीहले सार्वजनिक खरिद अनुगमनअघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, व्यवहारिक माइल स्टोन खारेज गर, गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिबद्धता, उपभोक्ताबाट निर्माण कार्य गर्ने नियम खारेज गर, खरिद नियमावलीको नियम ६ लाई कडाइका साथ लागू गरलगायत लेखिएको प्लेकार्डसमेत बोकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर