३०० नगर प्रहरीसहित महानगरबाट राप्रपा कार्यालय हिँड्यो डोजर


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा काठमाडौं महानगरपालिकाले आजै डोजर चलाउने भएको छ । डोजर लिएर केहीबेर अघि नगर प्रहरी मुभ भएको स्रोतले बतायो ।
राप्रपाको कार्यालय भवन हाइटेन्सन लाइनमुनि बनेकाले महानगरले खाली गर्न आदेश दिएको थियो । आइतबारसम्मको अल्टिमेटम दिइएकोमा राप्रपाले खाली नगरेपछि महानगरले डोजर लगाएरै भत्काउन आँटेको हो ।
राप्रपा मुख्यसचिव केदारबहादुर अधिकारीले आफूहरुले महानगरसँग थप समय मागिरहेको बताए ।
‘उहाँहरुले तीन दिन मात्रै समय दिनुभएको थियो, हामीले थप समय मागिरहेका छौं । हेरौं के गर्नुहुन्छ,’ उनले भने ।
महानगरले डोजर ल्याउन लागेको सूचनासँगै राप्रपा कार्यकर्ताहरु केन्द्रीय कार्यालयमा भीड लागेका छन् । डोजरलाई अवरोध गर्ने तयारीसहित सवारीसाधनहरु तेर्स्याइएको छ । नगर प्रहरी र राप्रपा कार्यकर्ताबीच मुठभेड हुनसक्ने सम्भावना पनि देखिन्छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीका अनुसार एसपी राजु पाण्डेको नेतृत्वमा ३०० नगर प्रहरी राप्रपा कार्यालयतर्फ परिचालन भएका छन् । महानगरले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग पनि सुरक्षाको माग गरेको उनले बताए।
काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत सुरक्षा माग गरिएको हो । अहिले राप्रपा कार्यालयमा थोरै संख्यामा प्रहरी उपस्थित छन् ।
महानगर स्रोतका अनुसार राप्रपाले यदि यति दिनभित्र कार्यालय खाली गर्नेछौं भनेर प्रतिबद्धता जनाएको खण्डमा आज डोजर नचल्न सक्छ । यस विषयमा राजु पाण्डेले फिल्डमा नै निर्णय लिनेछन् ।
राप्रपा कार्यालय करिब ८ आना क्षेत्रफलको जमिनमा बनेको छ । दाताले दिएको जग्गामा कार्यकर्तासँग चन्दा संकलन गरेर राप्रपाले दुई तले भवन निर्माण गरेको हो ।
Best best best..