कोशीमा वामपन्थी नेतृत्वको सर्वदलीय सरकार बनाउन वर्षमानको अग्रसरता, हिक्मतलाई पनि भेटे – Nepal Press

कोशीमा वामपन्थी नेतृत्वको सर्वदलीय सरकार बनाउन वर्षमानको अग्रसरता, हिक्मतलाई पनि भेटे

विराटनगर । कोशी प्रदेशमा सरकार गठनका लागि स्पष्ट बहुमत पुर्‍याउन कठिन भएपछि माओवादीको एउटा समूह सर्वदलीय सरकारको प्रयासमा जुटेको छ । कोशीका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत दाबी गर्ने तयारीमा रहेको सत्ता गठबन्धनलाई माओवादीभित्रैबाट काउन्टर सुरु भएको छ ।

माओवादी नेता वर्षमान पुनले सर्वदलीय सरकार गठन नभएसम्म कोशीमा मध्यावधि नटर्ने भन्दै आन्तरिक र बाह्य छलफल सुरु गरेका छन् । सभामुखले राजीनामा दिएर सत्ता गठबन्धनको सरकार बने पनि यो दिगो हुन नसक्ने उनको निष्कर्ष छ ।

वर्षमान निकट स्रोतले भन्यो, ‘कोशी प्रदेशको स्थायित्वका लागि सर्वदलीय सरकार आवश्यक छ । सकेसम्म वामपन्थी नेतृत्वमा बन्दा त्यो दिगो हुन्छ ।’

वामपन्थीको नेतृत्वमा कोशीमा प्रदेश सरकार गठन गर्नुपर्ने विषयमा उनले अध्यक्ष प्रचण्डसँग पनि लविङ गरिरहेका छन् । कोशीका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीसँग पनि पुनको भेटघाट भएको बुझिएको छ ।

एमाले संसदीय दलका नेता कार्कीले पनि सर्वदलीय सरकारको कुरा उठाउँदै आएका छन् । उनले असार १४ गतेको कोशी प्रदेशसभाको बैठकमा सर्वदलीय सरकारका लागि आह्वान गरेका थिए । उनले भनेका थिए, ‘म सर्वदलीय सरकारको पक्षमा छु । प्रदेशको स्थायित्वका लागि सर्वदलीय सरकार पहिलो विकल्प हो ।’

कोशी प्रदेशसभामा वर्षमान गुटका सदस्यहरूको बहुमत थियो । उनी निकटका राजेन्द्र कार्कीले मन्त्री बन्न गुट परिवर्तन गरेपछि माओवादीका दुई गुट बराबरीको अवस्थामा पुगेका छन् । प्रदेशसभाका सभामुखसमेत पुन निकट मानिन्छन् ।

वर्षमानसँग निकट स्रोतले भन्यो, ‘सभामुखले राजीनामा दिएर सरकार गठन त हुन्छ । तर, एक महिनापछि पुनः ढल्छ । त्यसैले सर्वदलीय सरकार नै अहिलेको आवश्यकता हो ।’

वर्षमानका स्वकीयसमेत भइसकेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दुर्गाप्रसाद चापागाईंले केही दिनअघि सामाजिक सञ्जालमा सर्वदलीय सरकारको विकल्प नभएको बताएका थिए ।

उनले सभामुखलाई राजीनामा गराएर सरकार बनाउँदैमा समस्याको निकास ननिस्कने बताउँदै आएका छन् ।


प्रतिक्रिया

One thought on “कोशीमा वामपन्थी नेतृत्वको सर्वदलीय सरकार बनाउन वर्षमानको अग्रसरता, हिक्मतलाई पनि भेटे

  1. कसैले बर्षमान पुनजीलाई खबर पुर्याईदिनि प्रदेश खारेज नै देश र जनताको हितमा छ भनेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर