रुपन्देहीमा प्रदेशस्तरीय प्रयोगशाला सुरु, संक्रामक रोगका सबै परीक्षण हुने – Nepal Press

रुपन्देहीमा प्रदेशस्तरीय प्रयोगशाला सुरु, संक्रामक रोगका सबै परीक्षण हुने

रुपन्देही । प्रदेश संरचाना बनेपछि पहिलोपटक बुटवलमा करिब ९ करोड लागतमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन निर्माण भएको छ । कोभिड १९ संक्रमणको बेला गुणस्तरीय ल्याबको अभाव झेलेको लुम्बिनीवासीलाई लक्षित गरी प्रदेशस्तरको सुविधासम्पन्न ल्याब स्थापना भएको हो ।

ग्लोबल फण्डको अनुदान र सेभ द चिल्डेन्सको सहयोगमा ८ करोड ७० लाख २० हजार ४७० रुपैयाँ लागतमा निर्माण भएको भवनको सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरेका छन् ।

उद्घाटनलगत्तै सेभ द चिल्ड्रेनका कन्ट्री डाइरेक्टर हेयथर कम्पबेलले मुख्यमन्त्री चौधरीलाई औपचारिक रुपमा भवन हस्तान्तरण गरेका छन् ।

मुख्यमन्त्री चौधरीले प्रदेशलाई स्वास्थ्य क्षेत्रमा सबै सेवा पाउनेगरी योजनाबद्ध कार्यक्रम सञ्चालन गरिने बताए । उनले प्रयोगशालाको गुणस्तरलाई ध्यान दिँदै र दक्ष जनशक्ति तयार गर्ने गरी यहाँबाट तालिम चलाउने, नयाँ दक्ष जनशक्ति तयार गराउने गरी लाग्न सुझाव दिए ।

प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले प्रदेश संरचना निर्माणपछि निर्माण सम्पन्न भएको पहिलो भवनलाई पूर्ण क्षमतामा चलाउन आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेले तीन तहकै सरकारको सहकार्यमा सरु भएको योजनालाई स्थानीय सरकारबाट आवश्यक जग्गा उपलब्ध गराएको बताए ।

बुटवल- १२ तामनगरमा निर्माण भएको उक्त प्रयोगशालाको तत्कालीन समाजिक विकासमन्त्री सुर्दशन बरालले २०७८ सालमा शिलान्यास गरेका थिए । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्टि« जनस्वास्थ्य प्रयोगशालाको नेतृत्वमा भवन निर्माण भएको हो ।

प्रयोगशालामा रगत गणना, कलेजो परीक्षण, मृगौला परीक्षण, लिपिड प्रोफाइल परीक्षण जस्ता नियमित परीक्षण, प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र स्थापना तथा सञ्चालन, ब्लड कल्चर र औषधि संवेदनशीलता परीक्षण गरिनेछ ।

त्यसैगरी माइक्रो बायोलोजिकल र इम्युनोलोजिकल परीक्षण, एचआईभी भाइरल लोड टेस्टिङ जस्ता मोलिक्युलर परीक्षण, पानीको गुणस्तर परीक्षण, रोग विज्ञान, बायोकेमिकल र हेमाटोलोनिकल परीक्षण, नमुना रिफेरल तथा नमुना ढुवानी प्रणालीलाई सुदृढीकरण गर्दै प्रयोगशाला तथा रोग निदान नेटवर्कको विकास गर्ने योजना समेटिएको छ ।

अहिले यहाँबाट प्रयोगशाला कर्मचारीहरुलाई क्षयरोग र औलोसम्बन्धी माइक्रोस्कोपिक तालिम, क्षयरोगको मोलिक्युलर परीक्षण, एचआईभी र यौनरोग संक्रमणको परीक्षण, कुष्ठरोग माइक्रो स्कोपी, प्रयोगशाला गुणस्तर व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम, कोभिड १९ र क्षयरोग जस्ता संक्रामक रोगहरुका लागि मोलिक्युलरलगायतको परीक्षण हुने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर