लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भीर छ: प्रधानमन्त्री प्रचण्ड – Nepal Press

लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भीर छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भीर रहेको बताएका छन् ।

कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको पशुसेवा विभागद्वारा आयोजित छलफल कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले लम्पी स्किन रोग नियन्त्रण गर्न यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको बताए ।

कृषि र अर्थसँग पशुहरुमा लागेको रोगको विषयमा भएको कुराको प्रचारसार नभएको उनको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले यो रोग यसअघि देखिएका छिमेकी देशहरुबाट सिकेर बेलैमा नेपालमा तयारी गर्न नसक्नु कमजोरी भएको बताए ।

‘छिमेकी देशमा यो रोग दुई वर्षअगाडि नै देखिएको थियो । हामीले त्यसबाट सिकेर पूर्वतयारी गर्नुपर्ने हुन्थ्यो, हाम्रा यसअघिका कदमहरुमा कमजोरी भएका कारण अहिले हामीले लम्पी स्किनको महामारी भोगेका छौं’, उनले भने, ‘अहिले राहत र रोग नियन्त्रणमा काम तत्काल गरौं, आगामी दिनमा पनि यी र यस्ता समस्या आउन सक्छन् भनेर पूर्वतयारीलाई बलियो बनाउनेतर्फ ध्यान दिऔं र सोहीअनुसार योजना बनाऔं ।’

चीन र भारतको प्राक्टिस र विभिन्न अनुसन्धानबाट लम्पी स्किन रोग नियन्त्रणका लागि गोट पक्स भ्याक्सिन लगाउनु उपयुक्त देखिएको हुँदा नेपालमा पनि सो खोपको प्रयोग गर्न खुला गर्ने र त्यसमा संघ, प्रदेश र स्थानीय तह परिचालित हुनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

लम्पी स्किन रोगले गरिब किसान मारमा परेको बताउँदै उनले भने, ‘गाईभैंसी पाल्ने किसान गरिब र निम्न वर्गका नै हुन्छन् । लम्पी स्किन रोगले सो वर्गका किसानलाई ठूलो समस्यामा पारेको छ । किसानहरुलाई राहत दिने गरी छिट्टै मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्छ ।’

किसानलाई राहत र हाल निःशुल्क रुपमा गोट पक्स भ्याक्सिन संघ, प्रदेश र स्थानीय तहले उपलब्ध गराउने गरी तयारी थाल्न उनले कृषि मन्त्रालयलाई निर्देशनसमेत दिए ।

उक्त छलफलमा प्रधानमन्त्री, कृषि तथा पशुपक्षीमन्त्री वेदुराम भुसाल, योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्याल, गणेश पाण्डे, रामप्रसाद थपलिया, कृषि मन्त्रालयका पशुपन्छीतर्फका सचिव दीपककुमार खराल, सोही मन्त्रालयका कृषितर्फका सचिव गोविन्द शर्मा, नेपाल प्रहरीका आईजी वसन्त कुँवरलगायतको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर