प्रस्तावित राजदूतविरुद्धको उजुरी खारेज, अर्को बैठकले सुनुवाइ अघि बढाउने (भिडिओ) – Nepal Press

प्रस्तावित राजदूतविरुद्धको उजुरी खारेज, अर्को बैठकले सुनुवाइ अघि बढाउने (भिडिओ)

काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतको सुनुवाइ अघि बढाउने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले प्रस्तावित राजदूतविरुद्धको उजुरीमा थप छलफल गर्न आवश्यक नरहेकाले आगामी बैठकमा राजदूतको सुनुवाइ सम्पन्न गर्ने निर्णय गरेको हो । प्रस्तावित राजदूतमाथिका उजुरीबारेको छलफलमा सांसदहरूले बेनामे र ठेगाना नखुली आएका उजुरीमाथि छलफल आवश्यक नरहेको धारणा राखेपछि आगामी बैठकले राजदूतको सुनुवाइ गर्ने समितिका ज्येष्ठ सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्ने विषयमा प्रश्न उठेकाले यस विषयमा आगामी बैठकमा परराष्ट्रमन्त्री एनपी साउदसँग छलफल गर्ने निर्णय भएको बताए ।

त्यसअघि बैठकमा समिति सदस्यहरूले पूर्ण विवरण नखोली आएका उजुरीहरूमाथि छलफल गर्न आवश्यक नरहेको धारणा राखेका छन् । समिति सदस्य जनार्दन शर्माले उजुरीहरूमाथि छलफल गर्न आवश्यक नरहेको तर समावेशीताका विषयमा भने ध्यान दिनुपर्ने बताए ।

एमाले प्रमुख सचेतक पदम गिरीले पूर्ण विवरण उल्लेख भएका उजुरीहरूमाथि मात्रै छलफल गर्नुपर्ने र बेनामे उजुरीलाई ध्यान दिन आवश्यक नरहेको बताए ।

सरकारले गत असार २६ गते लोकबहादुर थापालाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रका लागि स्थानीय नियोग, रामप्रसाद सुवेदी (स्वीट्जरल्याण्ड), सुधीर भट्टराई (फ्रान्स), घनश्याम लम्साल (कुवेत), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स) र धनबहादुर वली (थाइल्याण्ड) का लागि राजदूतमा नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *