न्यायाधीश नियुक्तिमा कसले गर्यो अवरोध ? प्रधानन्यायाधीशले गरे यस्तो संकेत (भिडिओ)
काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनतालाई न्याय दिने न्यायपालिकामा एक चौथाइसम्म न्यायाधीश खाली हुँदा सर्वसाधारण अन्यायमा परेको बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले मंगलवार आयोजना गरेको प्रकाश स्मृति मानव अधिकार पुरस्कार वितरण कार्यक्रममा प्रधान न्यायाधीश कार्कीले कानूनको पालना न्यायपालिकाबाटै होस् भन्नुपर्ने अवस्था आइपुगेको बताए ।
न्यायाधीश नियुक्तिमा कार्यपालिका बाधक बनेको संकेत गर्दै प्रधान न्यायाधीश कार्कीले अहिले न्यायाधीशहरु खाली हुनुमा न्यायालयको कारण नभएर अन्य कारण रहेको बताए ।
कार्कीले भने- प्रधानन्यायाधीश खाली हुनुभन्दा एक महिनाअघि सिफारिस गर्नुपर्ने व्यवस्था छ । जिल्ला न्यायाधीशको समेत एक महिनाअघि नियुक्तिको लागि जानुपर्ने व्यवस्था छ । तर अन्य कारणबाटै ढिलाइ भरहेको छ,हाम्रो कारण होइन ।
प्रधानन्यायाधीश कार्कीले न्यायाधीश नियुक्तिका लागि न्याय परिषद बैठक बोलाउँदा समेत कानून मन्त्री धनराज गुरुङ नगएका कारण सिफारिस हुन सकेको छैन । कार्यक्रममा सुशील प्याकुरेल, डा.रेनु अधिकारीलगायतले मानव अधिकारको अवस्था कमजोर बन्दै गएको बताए ।
प्रधानन्यायाधीश कार्की साउन २० गतेबाट अवकाश हुँदैछन् । संवैधानिक परिषदको आजको बैठकले नयाँ प्रधान न्यायाधीश सिफारिस गर्नेछ । जबकी यस्तो बैठक एक महिनाअघि प्रधानमन्त्रीले बोलाउनुपर्ने थियो ।
मन्त्री गुरुङले न्यायाधीश नियुक्तिमा अवरोध सिर्जना गरेको भन्दै नेपाल बारले समेत आपत्ति जनाएको छ । कार्कीको पालामा न्यायाधीश नियुक्ति हुन नदिने नियतले गुरुङले परिषद बैठक टार्दै आएका छन् । उनी अहिले गैरसरकारी काममा अमेरिकामा छन् ।
नेताकाे ईसारामा चल्ने प्रधानन्याभिस किन चाहियाे पर्दैन।