त्यसपछि नयनको राजनीतिक यात्रामा लाग्याे पूर्णविराम
सुर्खेत । घटना २०५९ सालतिरको हो । कालीकोटको खाडाचक्र नगरपालिका- ४ गल्लीमा एउटा धारा थियो । बिहानको समय नेपाली सेना, नेपाल प्रहरी र शुभकालिका गाउँपालिका- ३ भर्ताका नयनबहादुर शाहीसहित ३० जनाको टोली पानी खान भनेर त्यही धारातिर ओर्लियो ।
पलैपालो पानी खाँदाखाँदै एक्कासि धारा नजिक बम विस्फोट भयो । विस्फोटपछि घाइतेहरुको रगत धाराको पानी सँगै बग्यो । घाइतेहरु छटपटाउन थाले । उनीहरुमध्ये कसैको हात, कसैको खुट्टा, कसैको पेट, ढाँड र कसैको आँखासँगै शरीरका विभिन्न अङ्गमा चोट लागेको थियो ।
नेपाली सेना र नेपाल प्रहरीलाई बाटो देखाउन गएका शाहीसमेत उक्त विस्फोटमा परी घाइते भए । सबैभन्दा धेरै शाहीलाई चोट लाग्यो । उनको एउटा खुट्टै चुँडियो । गाउँलेले खोजेर पनि उनको चुँडिएको खुट्टा भेटाउन सकेनन् । उनको पेटमा पनि गम्भीर चोट लाग्यो । उनीसँगै नेपाली सेनाका एक जवानको एउटा आँखा गुम्यो, मेरुदण्ड भाँचियो । दुवै जनालाई सेनाको हेलिकप्टरमार्फत उपचारका लागि नेपालगञ्ज हुँदै तुरुन्तै काठमाडौं पुर्याइयो ।
नयन उपचारकै सिलसिलामा एक वर्ष काठमाडौंस्थित आर्मी हस्पिटलमा बसे । अस्पतालमा उनलाई उठ्न र बस्न पनि निकै समस्या भयो । २०६० साल कात्तिक ४ गते हस्पिटलबाट डिस्चार्ज भए । त्यतिबेलासम्म देशमा द्वन्द्व चर्केको हुँदा घर आउने वातावरण भएन । उनी नेपाली सेनाको नेपालगञ्ज पृतना बाहिनीमा एक महिना बसे । त्यसपछि नयन घर फर्किए । तर, माओवादीको डरले घर जाने आँट गरेनन् । कालीकोट सदरमुकाममा रहेको भैरव गुल्ममा एक महिना बसे ।
नयनले आफू कालीकोट आएको घरपरिवार कसैलाई जानकारी गराएका थिएनन् । एक महिनापछि भैरव गुल्मका मेजरले एक वर्षसम्मको कोठा भाडा तिरेर उनलाई सदरमुकाममा बस्ने व्यवस्था मिलाइदिए । द्वन्द्वकालका घाइते भएकाले तत्कालीन प्रमुख जिल्ला अधिकारीले नयनलाई महिला विकास कार्यालयमा करारमा कर्मचारी नियुक्त गरिदिएका थिए । मासिक ३ हजारको जागिरबाटै नयनले छोराछोरी पढाउनुदेखि घर खर्चसम्म थाल्ल थाले ।
रेडक्रसले बनाइदियो कृत्रिम खुट्टा
नेपाल रेडक्रसले २०६२ सालमा नयनको लागि कृत्रिम खुट्टाको व्यवस्था गर्यो । त्यसपछि मात्रै हिँडडुल गर्न सहज भएको उनी बताउँछन् । महिला विकासको करार सकिएपछि प्रशासनले नै नयनलाई बालमन्दिर विद्यालयमा नियुक्त गराइदियो । २०६२/०६३ सालमा राजनीतिक दल, प्रशासन, नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा तिला कर्णाली बहुमुखी क्याम्पसमा नियुक्त भए ।
शान्ति प्रक्रियापछि द्वन्द्व पीडितका घाइतेहरुलाई सरकारले राहत दिने भने पनि आफूले हालसम्म केही पाउन नसकेको नयन गुनासो गर्छन् । जिल्ला प्रशासन कार्यालय कालीकोटले राहत दिने भनेर ३-४ पटक निर्णय गरे पनि केन्द्र सरकारमा पुग्दा आफ्नो कागजात हराएको प्रतिक्रिया पाएको उनले बताए ।
उनी भन्छन्, ‘द्वन्द्वकालका धेरै घाइते र बेपत्ता परिवारले सरकारबाट राहत पाएका छन् । तर, मैले अहिलेसम्म केही पाएको छैन । पार्टीका नेताहरुबाट राहतको आश्वासन पाउँछु । तर, राहत पाउँदिनँ ।’
नयनले धेरै पटक तत्कालीन शान्ति समिति, जिल्ला प्रशासन कार्यालय, मानव अधिकारवादी संस्था सबै ठाउँ धाए पनि केही सहयोग नपाएको गुनासो गरे । ‘प्रत्येक वर्षको एक पटक उपचारका लागि काठमाडौं जानुपर्छ’, शाही भन्छन्, ‘यदि जागिर हुन्थेन भने गाह्रो हुन्थ्यो । दुईतीन वर्षमा कृत्रिम खुट्टा परिवर्तन गर्नुपर्छ । तर, खर्चिलो हुने हुँदा आर्थिक समस्या हुने गरेको छ ।’
सरकारले दिने राहत पाएको भए केही सहज हुने उनको भनाइ छ । पछिल्लो समय प्रदेश सरकारले पनि द्वन्द्व प्रभावितलाई राहत दिँदै आएको छ । तर, प्रदेश सरकारबाट पनि आफूले केही पाउन नसकेको उनको भनाइ छ ।
के थियो घटना ?
२०५८ सालमा नेकपा माओवादी केन्द्रको डरले नयन छोराछोरी र श्रीमती लिएर कालीकोट सदरमुकाम आएका थिए । उनले मान्म बजारको प्रतिमा चोकमा होटल चलाउँदै परिवार पाल्दै आएका थिए । मान्ममा व्यवसायसँगै उनले राजनीतिक यात्रालाई अघि बढाएका थिए । माओवादीको डरले सदरमुकाम आएका नयनले नेपाली कांग्रेसको राजनीति गरेका थिए ।
२०५९ सालमा नेपाली सेना, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको पहलमा राजनीतिक दलको तर्फबाट गाउँगाउँमा जानुपर्छ भन्ने खबर आयो । प्रशासन र सात दलको सहमतिमा नेपाली सेना र नेपाल प्रहरीको साथमा राजनीतिक दलका प्रतिनिधि एकएक जना गरेर जानुपर्ने निर्णय गरेको थियो ।
त्यही निर्णयअनुसार कांग्रेसका सभापति कालीबहादुर सहकारी र केही पार्टी नेताहरुले नयनलाई उक्त टोलीमा पठाउने निधो ग¥यो । भर्खरै पार्टीमा लागेका नयनलाई त्यसरी टोली (गस्ती) मा जानुपर्छ भन्ने थाहा थिएन । तर, उनले पार्टीका नेताहरुकोे आदेश टार्न सकेनन् ।
पहिल्यै लुकाइराखेकाे थियाे बम
नयनसहित दुई जना कांग्रेसका प्रतिनिधि, नेपाली सेना र नेपाल प्रहरी गरी ६२ जनाको टोलीले शुभकालिका, भर्ता, गेला, सुकाटिया हुँदै दाहाँका लागि बाटो तय गर्यो । सुरक्षाकर्मीलाई देखाउन हिँडेका नयनसहित दुवै जनाले पनि नेपाली सेनाको पोशाक लगाएका थिए । माओवादीले नचिनून् भनेर उनीहरुलाई सैनिक पोशाक लगाइदिएको बताउँछन् नयन । तर, त्यही पोशाकले गर्दा उनी पनि माओवादी आक्रमणमा परे ।
उनीहरु पोरिपाली हुँदै भत्र्ता, सुकाटिका, कालिकामुग्रा, गेलासम्म पुगेका थिए । नयन भन्छन्, ‘यता जिल्लामा नेकपा माओवादीले आक्रमण गरेछ । जिल्लाबाट खबर आयो । सुरक्षाकर्मी कम भए तुरुन्तै फर्किनुस् भनेर खबर आयो । हामी त्यही दिन राति दाँहा घोडेना आयौं । त्यही बेलुका घोडेनाको स्कुलमा माओवादीले आक्रमण गर्यो । माओवादीले बम, गोला हान्न थाले । दोहोरो भिडन्त भयो ।’
राति त्यही स्कुलमा बसेर बिहानीपख आफूहरु हिँडेको उनले बताए ।
‘३० जनाको टोली पहिल्यै सदरमुकाम गइसकेको थियो । बाँकी हामी पछि पर्यौं । हामी सदरमुकाम जाने क्रममा गल्ली पुगेका थियौं । त्यहाँ नजिक रहेको धारामा पानी खान जाँदा बम विस्फोट भयो’, नयनले भने, ‘विस्फोटमा परेर पाँच जना नेपाल प्रहरी, सात जना नेपाली सैनिक र म पर्यौं । धारा नजिक पहिल्यै बम लुकाएर राखेको रहेछ ।’
आफूले यस्तो घटना होला भनेर कहिल्यै कल्पना नगरेको उनी बताउँछन् । राजनीतिमा लागेर आफ्नो अवस्था यस्तो होला भनेर पनि नसोचेको उनको भनाइ छ ।
‘राजनीति गर्छु भनेर भर्खरै पार्टीमा लागेको थिएँ । त्यही राजनीतिमा वामे नसर्दै सुरक्षाकर्मीको पछि लाग्दा माओवादीको आक्रमणमा परियो’, नयनले भने, त्यही आक्रमणपछि मेरो राजनीतिक यात्रामा पूर्णविराम लाग्यो ।’
धन्यवाद बैनी अप्सरा बिष्ट ज्यु
नेपाल सरकार सम्बन्धि जिल्ला प्रसासन र गृहमन्त्रालय सम्म ध्यानाकर्षण होस् ।
सरकारले तत्काल पीडितलाइ न्याय दिन र पीडित का घरपरिवार लाइराहतको ब्यबस्थापन गरिनु प्रछ ।सरकार को सुनुवाइ नभयमा सम्मानित अदालत समक्ष न्यायका लागी विनम्र अनुरोध गर्दछु ।