पोखरा महानगरबाट फिर्ता भए काजका ४४ जना कर्मचारी
पोखरा । पोखरा महानगरपालिकाबाट अन्यत्र दरबन्दी रहेको ४४ जना कर्मचारी दरबन्दी भएकै ठाउँमा फिर्ता भएका छन् । उनीहरुलाई असार २८ गतेको नगर कार्यपालिकाको कार्यालयले काज फिर्ता तथा सम्बन्धित स्थानमा हाजिर हुन पठाउने निर्णय गरेको थियो ।
तर, हालसम्म सो कर्मचारी फिर्ता भएका थिएनन् । महानगरले स्वास्थ्य महाशाखालाई काजका कर्मचारीलाई हाजिर नगराउनु भन्दै पत्र काटेपछि काजमा रहेका कर्मचारी दरबन्दी भएकै ठाउँमा फिर्ता भएका हुन् । उनीहरुलाई महानगरमा हाजिर गराउन रोक लगाइएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २५ गते कोरोना महामारी नरहेको र लामो समयसम्म काजमा रहँदा स्वास्थ्य संस्थाहरूबाट प्रवाह हुने स्वास्थ्य सेवामा असर पर्न गएको भन्दै साउन १ गतेदेखि काजका सबै स्वास्थ्यकर्मीलाई दरबन्दी रहेकै तहमा फिर्ता पठाउन सबै स्थानीय तहलाई परिपत्र गरेको थियो ।
सोही आधारमा महानगरपालिकाले कर्मचारी समायोजन ऐन, २०७५ अनुसार महानगर बाहेक अन्यत्र स्थानमा समायोजन भई महानगरमा कामकाजमा रहेका तथा समायोजन भई हालसम्म महानगरमा रहेका कर्मचारीहरुलाई काज फिर्ता गर्ने निर्णय भैसकेकाले हाजिर नगराउन निर्देशन दिएको थियो ।