पोखराका ३ परियोजनामा विश्व बैंकले ३ अर्ब लगानी गर्ने
पोखरा । पोखराका थप दुई परियोजनामा विश्व बैंकले लगानी गर्ने भएको छ । विश्व बैंकले नेपाल शहरी शासन र पूर्वाधार परियोजना (एनयूजीआईपी)अन्तर्गत बिरौटा-पुडिटार र लेखनाथचोक-डाँडाकोनाक-सिसुवा-खुदिखोला-गगनगौंडा सडक स्तरोन्नति गर्न लगानी गर्न लागेको पोखरा महानगरपालिकाले जनाएको छ ।
विश्व बैंकको सहयोगमा सन् २०२६ मार्च ५ भित्र सम्पन्न गर्ने गरी दुई परियोजना छनोट गरेको महानगरका मेयर धनराज आचार्यले जानकारी दिए ।
‘विश्व बैंकको सहयोगमा हाल तालचोक-बेगनास सडक स्तरोन्नतिको काम भइरहेको छ । यसबाहेक थप दुई परियोजना छनोट गरेका छौं । तीनै वटा परियोजना अबको साढे २ वर्षमा सम्पन्न गर्नुपर्नेछ’, मेयर आचार्यले भने ।
तीन परियोजना सम्पन्न भएपछि पोखरामा नमुना सडक बन्ने उनले दाबी गरे । तीन परियोजनामा विश्व बैंकले २५.६८ मिलियन अमेरिकी डलर अर्थात ९३ अर्ब ३७ करोड ९३ लाख १० हजार ८०८ रुपैयाँ लगानी गर्ने महानगरले जनाएको छ ।
निर्माणाधीन तालचोक-बेगनास सडकमा ७५ करोड ४८ लाख ६७ हजार ८७३ रुपैयाँ विश्व बैंकको लगानी हुनेछ । बिरौटा-पुडिटार सडक साढे १ अर्ब रुपैयाँ र लेखनाथचोक-डाँडाकोनाक-सिसुवा-खुदिखोला-गगनगौंडा सडक १ अर्ब रुपैयाँ लागतमा स्तरोन्नति हुनेछ ।
तालचोक-बेगनास सडकको ठेक्कासमेत लागेको छ । स्वच्छन्द सपना विश्ववाइड जेभी काठमाडौंले उक्त सडकको ठेक्का पाएको हो । हालै छनोट गरिएको २ परियोजना सर्वेक्षणका लागि प्राविधिक टोली खटाउने तयारीमा विश्व बैंक छ ।