स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा ‘अयोग्य’ व्यक्ति नियुक्त गर्ने स्वास्थ्यमन्त्रीको तयारी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयअन्तर्गतको नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा ‘अयोग्य’ व्यक्ति नियुक्त गर्ने तयारी गरेका छन् ।
स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनमा मन्त्रालयले नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ र नेपाल स्वास्थ्य व्यवसायी परिषद् नियमावली २०५६ विपरीत परिषद्को अध्यक्ष नियुक्त गर्ने तयारी गरेकाे हाे ।
ऐनविपरीत नेपाली कांग्रेस निकटका ल्याब टेक्निसियन निरीक्षक धनप्रसाद पौडेललाई अध्यक्षमा नियुक्त गर्ने प्रक्रिया अघि बढिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्रालय स्रोतका अनुसार मन्त्री बस्नेतले पौडेललाई नै अध्यक्ष नियुक्त गर्न मन्त्रालयबाट एकल नामसहितको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरिसकेका छन् ।
ऐन र नियमावलीअनुसार परिषद्को अध्यक्ष नियुक्त हुन न्यूनतम योग्यता पौडेलको नपुगे पनि उनकै एकल नाम अघि बढाउन मन्त्री बस्नेतले निर्देशन दिएपछि मन्त्रालयले प्रस्ताव अघि बढाएको हो ।
अध्यक्ष हुन के चाहिन्छ न्यूनतम योग्यता ?
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष हुन नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ अनुसार स्वास्थ्य व्यवसायसँग सम्बन्धित विषयमा स्नातकोपाधि प्राप्त गरी कम्तिमा पाँच वर्ष स्वास्थ्य व्यवसायमा लागेका व्यक्तिमध्येबाट नेपाल सरकारबाट मनोनीत व्यक्ति हुने उल्लेख छ ।
यस्तै ऐनको दफा २ को उपदफा ४ मा स्वास्थ्य व्यवसाय भन्नाले बिरामीको रोगको उपचार, निदान, रोकथाम र स्वास्थ्य व्यवसायसम्बन्धी कुनै कार्यलाई जनाउँछ भन्ने उल्लेख छ ।
त्यस्तै उपदफा ५ मा स्वास्थ्य व्यवसायी भन्नाले तोकिएको न्यूनतम योग्यता प्राप्त गरी स्वास्थ्य व्यवसायमा लागेको व्यक्ति सम्झनुपर्छ भन्ने उल्लेख छ ।
उपदफा ७ मा दर्तावाला स्वास्थ्य व्यवसायी भन्नाले दर्ता किताबमा नाम दर्ता भएका स्वास्थ्य व्यवसायी सम्झनुपर्छ भन्ने उल्लेख छ ।
धनप्रसाद पौडेल अध्यक्षमा यसकारण अयोग्य !
अहिले मन्त्रीको निर्देशनमा अध्यक्षमा नियुक्तिका लागि तयार गरिएका धनप्रसाद पौडेलको ऐनमा उल्लेखित कुनै पनि मापदण्ड पुगेको देखिँदैन ।
पौडेल यसअघि स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टार नियुक्त भइसकेका व्यक्ति हुन् । पौडेल रजिष्टारको पदमा बहाल रहेकै बेला बंगलादेशबाट जनस्वास्थ्य विषयको स्नातकोत्तरको प्रमाणपत्र ल्याएकाे देखिन्छ । जुन अहिलेसम्म नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा नै दर्ता भएको छैन । मन्त्रालय स्रोतका अनुसार पौडेलले उक्त प्रमाणपत्र अध्ययन गरेर भन्दा पनि खरिद गरेर ल्याएका हुन् ।
धनप्रसाद पौडेलको नाममा एमपीएचको दर्ता प्रमाणपत्र नवीकरण नभएको नेपाल स्वास्थ्य व्यवसायी परिषद् स्रोतले जनाएको छ ।
स्रोतका अनुसार पौडेलले ल्याब टेक्निसियनको काउन्सिल दर्ता प्रमाणपत्र तथा किताबमा नै क्वालिफिकेसन एडेड गरिएको छ । जुन नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ र नेपाल स्वास्थ्य व्यवसायी परिषद् नियमावली, २०५६ विपरीत रहेको छ ।
रजिष्ट्रार पदमा बहाल रहेकै बेला बंगलादेशमा स्नातकोत्तर अध्ययनको प्रमाणपत्र !
त्रिभुवन विश्वविद्यालय स्रोतका अनुसार जनस्वास्थ्य विषयको स्नातकोत्तर गर्दा कम्तिमा पनि ९० प्रतिशत भौतिक रुपमा नै हाजिर अनिवार्य हुनैपर्छ ।
स्रोतका अनुसार यस विषयमा अहिलेसम्म अनलाइनमा समेत पढ्ने व्यवस्था रहेको छैन । पौडेलले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टार पदमा बहल रहेकै बेला बंगालादेशबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको प्रमाणपत्र ल्याएका छन् । तर, त्यहाँ बहाल रहेका बेला उनले अध्ययन बिदा लिएका छैनन् र अध्ययन बिदा स्वीकृत भएको विवरण पनि भेटिँदैन ।
अहिले पौडेलले प्राप्त गरेको प्रमाणपत्रको वैधानिकतामा प्रश्न उठेपछि अध्यक्ष हुन खोजेको परिषद्ले नै काउन्सिल दर्ता गर्न अस्वीकार गरेको देखिन्छ ।
पौडेल ल्याब टेक्निसियनको रूपमा परिषद्मा दर्ता रहेको भए पनि एमपीएचको रूपमा दर्ता भएका छैनन् । ऐनमा छुट्टाछुट्टै तहको छुट्टाछुट्टै दर्ता गर्नुपर्ने कानूनी व्यवस्था छ ।
अयोग्य व्यक्ति भएर पनि अध्यक्ष नियुक्त हुन नै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र पौडेलबीच ठूलै आर्थिक चलखेल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोत र नेपाल स्वास्थ्य व्यवसायी परिषद् स्रोतको दाबी छ ।
कांग्रेस निकटकै अर्का सम्भावित दीपक भट्टले पनि ठूलै आर्थिक प्रलोभन देखाएर नियुक्त हुने प्रयास गरेका थिए ।
पौडेल नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष नियुक्त भएमा अध्यक्षको प्रतिस्पर्धामा रहेका र पौडेलको योग्यताबारे जानकारी रहेका व्यक्तिले उनको नियुक्ति खारेजीको माग गर्दै अदालतमा मुद्दा दर्ता गर्ने तयारी पनि गरिरहेका छन् ।