प्रदीप ज्ञवालीको आरोप- सुन तस्करीमा प्रधानमन्त्री र गृहमन्त्रीले आफ्ना नेता जोगाउन खोजे – Nepal Press

प्रदीप ज्ञवालीको आरोप- सुन तस्करीमा प्रधानमन्त्री र गृहमन्त्रीले आफ्ना नेता जोगाउन खोजे

रुपन्देही । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सुन तस्करी प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो नेताहरु जोगाउन लागेको आरोप लगाएका छन् ।

विभिन्न भ्रष्टाचारका काण्डहरुमा सरकारले आफ्ना नेताहरुलाई जोगाउने प्रपञ्च गरिहेको बताउँदै उनले पछिल्लो समय चर्चामा रहेको सुन काण्डमा आफ्ना नेताहरुको नाम जोडिएर आउँदा पनि उनीहरुलाई बचाउने प्रयास गरेको प्रष्ट संकेत बाहिर आएको बताए ।

‘सुन तस्करीका घटनामा नाम जोडिएका नेताहरुलाई उन्मुक्ति दिएर अनुसन्धानलाई मोड्ने काम भइरहेको छ, यसै कारण एमालेले भ्रष्टाचार छानविनका लागि उच्च स्तरीय आयोग गठनको माग अघि बढाएको हो’, उनले भने ।

स्व. नेता जीवराज आश्रितको ८० औं जन्मजयन्तीको अवसरमा बुधबार बुटवलमा आयोजित कार्यक्रममा नेता ज्ञवालीले भ्रष्टाचार सम्बन्धि मुद्दाहरुमा वर्तमान सरकारले देखाएको प्रवृत्तिमाथि टिप्पणी गर्दै सरकारले गरिरहेको छानविनप्रति शंका व्यक्त गरे ।

ज्ञवालीले भने ‘सरकार आफैको हात सफा छैन । यसले न अनुहारको कालो पुछ्न सक्छ, न ऐनाको कालो पुछ्न सक्छ ।’

यसैगरी मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर नभएको टिप्पणी गर्दै नेता ज्ञवालीले मुलुकले इतिहासकै कमजोर आर्थिक अवस्थाको सामना गर्नुपर्ने उल्लेख गरे ।

‘इतिहासमै पहिलो पटक राजश्व संकलन गरेर कर्मचारीलाई तलब पुर्याउन समेत नसक्ने अवस्था सिर्जना भएको छ । निर्माण व्यवसायीहरुले काम पूरा गरेर पनि ८० अर्बभन्दा बढी भुक्तानी पाउन सकेका छैनन्’, नेता ज्ञवालीले भने, ‘प्रत्येक दिन आर्थिक संकटका कारण व्यवसायीले आत्महत्या गर्नुपरेको छ । तर सरकार र मन्त्रीहरु भने केही नभएको जस्तो गरेर बसिरहेका छन् ।’

प्रत्येक दिन व्यवसायिक प्रतिष्ठान तथा सटरहरु खाली हुँदै गएको उल्लेख गर्दै उनले सरकारले सीमित व्यपारीलाई मात्रै पोस्ने काम गरेको टिप्पणी गरे । करको दरमा स्वार्थ अनुसार परिमार्जन गर्ने गरेका उदाहरणहरु प्रस्तुत गर्दै नेता ज्ञवालीले वर्तमान सरकारले सीमित व्यापारीलाई काखी च्यापेर अरुलाई पाखा लगाउने काम गरेको उल्लेख गरे ।

नेपालको असंग्न राष्ट्रको नीतिलाई कुल्चेर एक पक्षलाई मात्रै काखी च्याप्ने सरकारको प्रवृत्तिले मुलुकमा सुरक्षा चुनौती समेत थपिएको उनले उल्लेख गरे । ‘हाम्रो राष्ट्रियतामाथि कालो बादल मडारिएको छ’, ज्ञवालीले भने, ‘सरकार भने आफ्नो सत्ता टिकाउनका लागि असंलग्न राष्ट्रको नीतिलाई तोड्दै गएको छ ।’

दक्षिण एसियामा शक्ति राष्ट्रहरुको उदय हुँदै जानु र युरोपियन मुलुक तथा सर्व शक्तिमान मानिएको अमेरिकाको प्रभाव कम हुँदै जाँदा शक्ति संघर्षले त्यसको नकारात्मक प्रभाव नेपालमा पनि पर्ने उल्लेख गरे । विश्वको राजनीतिक तरल अवस्थामा रहेको बताउँदै उक्त कुरालाई बेवास्ता गरेर वर्तमान सरकारले अन्तर्राष्ट्रिय कुटनीतिमा लिने गरेको असंलग्न राष्ट्रको नीतिलाई छोड्दै जाँदा समस्या आउन सक्नेतर्फ सचेत गराए ।

कार्यक्रममा डा. मुरारी पराजुलीले प्रस्तुत गरेको ‘प्रगतिशील संस्कृतिको निर्माणमा जीवराज आश्रितको दृष्टिकोण’ विषयक अवधारणा पत्रमा विचार व्यक्त गर्दै एमाले उपमहासचिव ज्ञवालीले पार्टीभित्र अराजकता देखिएको भनि चिन्ता व्यक्त गरे । यसको समाधानका लागि जीवराजको विचार अनुशरण गर्नुपर्ने उनले बताए ।

जीवराजको विचार र उनको जीवनीबाट पाठ सिक्दै पार्टीलाई सदृढ गरी बलियो राष्ट्रिय शक्ति निर्माणमा लाग्न नेता कार्यकर्ताहरुलाई ज्ञवालीले आग्रह गरे । नयाँ शक्तिहरुप्रति इंगित गर्दै ज्ञवालीले पछि दर्ता हुँदैमा र पछि जन्मिँदैमा नयाँ हुने नभई विचारले नयाँ हुन आवश्यक रहेको उल्लेख गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर