माओवादी बैठक- सुन प्रकरणसँगै नेता ताक्ने प्रवृत्ति रोक्न वडा तहबाटै निर्वाचित गर्नुपर्ने चर्चा – Nepal Press

माओवादी बैठक- सुन प्रकरणसँगै नेता ताक्ने प्रवृत्ति रोक्न वडा तहबाटै निर्वाचित गर्नुपर्ने चर्चा

छलफल सकिएपछि मात्रै अध्यक्षको प्रतिवेदन बाँड्ने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनविनै छलफल हुने भएको छ। बैठकको सुरुमा अध्यक्ष प्रचण्डले राजनीतिक र संगठनात्मक प्रतिवेदन बैठकमा पेश गरेका थिए । तर, त्यो प्रतिवेदन केन्द्रीय सदस्यहरुलाई बाँडिएको छैन ।

यसअघिका बैठकहरुमा अध्यक्षको प्रतिवेदन प्रस्तुतसँगै वितरण भएको थियो । त्यही प्रतिवेदन अध्ययनको आधारमा नेताहरुले आआफ्नो भनाइ राख्थे । तर, अहिले नयाँ अभ्यास सुरु गरिएको उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बताए ।

उनले भने, ‘राजनीतिक प्रतिवदेन सबैले आआफ्नो धारणा राखिसकेपछि सुझावहरुलाई समावेश गरेरमात्रै वितरण हुन्छ । अहिले परम्पराभन्दा भिन्न ढंगबाट अघि बढेका छौं । पहिला प्रतिवेदन वितरण हुन्थ्यो । अब यसपटक बैठक सकिएपछि मात्रै वितरण हुनेछ ।’

आजको बैठकमा ५७ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले बताए । उनले अध्यक्षको प्रतिवेदनमा अधिकांश नेताहरुले समर्थन जनाएकोसमेत बताए ।

त्यसो त पार्टीको बैठकमा पछिल्लो समय चर्चामा रहेको सुन प्रकरणले पनि प्रवेश पाएको छ । पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी कदमलाई बैठकले समर्थन गरेको छ ।

बैठकमा वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एव् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको विषयमा छानबिनको क्रममा पार्टीकै नेताहरु परे पनि नछाड्ने बताएका छन् । उनले अध्यक्षकै सल्लाहमा भ्रष्टाचारका फाइलहरु खोलिएको जनाए ।

सुन प्रकरणमा पार्टी उपाध्यक्ष महरा बाबुछोरा, उपमहासचिव वर्षमान पुनलगायतको नाम पनि जोडिएको छ । तर, सुन प्रकरणका विषयमा आफूले विज्ञप्ति जारी गरेको र सामाजिक सञ्जालमार्फत् पनि प्रस्ट पारिसकेको पुनले बताए ।

उनले भने, ‘सुन प्रकरणका विषयमा मेरो विषयमा मैले प्रेस विज्ञप्ति जारी गरिसकेको छु । आज बिहान एउटा स्टाटस जारी गरेको छु । त्यसमा मेरो कुनै संलग्नता छैन । यसमा राजनीतिक पूर्वाग्रह देखिन्छ ।’

त्यसो त केन्द्रीय सदस्य माधव सापकोटाले पनि सुन प्रकरणबारे वर्षमान पुनले पनि पुरानो फोटोको प्रयोग गरेर प्रचार गरेको प्रष्टीकरण दिइसकेको बताए ।

सापकोटाले बैठकमा अधिकांश नेताहरुले पार्टीलाई गतिशील बनाउनेबारे सुझाव दिएको बताए ।

उनले भने, ‘संगठनात्मक संरचना भद्दा भएको कारणले कार्यसम्पादन हुन सकेको छैन । पार्टीलाई विधि पद्धतिमा लैजान सकेको छैन । माथिबाट नोमिनेट गर्नेभन्दा पनि तलबाटै इलेक्सन गर्नुपर्ने धारणा छ । पार्टीलाई विधिमा लैजाऔं, वडा कमिटीदेखि नै निर्वाचित हुने व्यवस्था गर्न सक्यौं भने माथि हेर्नै पर्दैन । त्यसो हुनसके नेतातिर धाउनेभन्दा पनि पार्टी संरचनाको काम हुन्छ । जनता र कार्यकर्तासँग जोडिन्छ ।’

उनले आफूले पनि मूल नेतृत्वको मात्रै नभएर पटक पटक जनप्रतिनिधि भएका व्यक्तिहरुमाथि पनि समीक्षा गर्नुपर्ने धारणा राखेको बताए ।

बैठकले पार्टीभित्र देखापरेका संगठनात्मक गतिरोधलाई अन्त्य गर्ने केन्द्रीय सदस्य युवराज चौलागाईंले बताए । बैठकले विधान अधिवेशनको मिति तय गर्ने र केही समयभित्रै विशेष महाधिवेशनमा जाने गरी आधार तयार गर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर