हिमालय एअरलाइन्समा बिझाएका तीन काँडा
चाइना इन्टरनेशनल प्रेस कम्युनिकेसन सेन्टरको कार्यक्रमको अवसर आयो । ६९ देशका ८१ पत्रकार सहभागी कार्यक्रममा अहिलेसम्म नेपालबाट आधा दर्जन पत्रकार पुगेका छन् । नेपालका अनलाइनबाट पुग्ने म नै पहिलो रहेछु । विश्वको दोस्रो ठूलो अर्थतन्त्र र भविष्यको महाशक्ति भनेर चित्रित गरिएको नेपालको उत्तरी छिमेकी चीनको राजधानीमै हुने कार्यक्रममा पुग्नु आफैंमा गजब अवसर हो । कार्यक्रममा जाने तयारी भएपछिको हवाई यात्रामा पहिलो कल्पना नै ट्रान्जिटको बारेमा भयो । तर, जब काठमाडौं बेइजिङ सीधा उडानको टिकट हातमा आयोजकबाट आयो, मैले पत्याइनँ र आयोजकलाई सोधें, ‘काठमाडौंदेखि बेइजिङ सीधै उडान हो ?’ उताबाट उत्तर आयो, ‘सीधै हो । साढे पाँच घण्टाको यात्रा हो ।’
नेपाल र चीनको निजी क्षेत्रको संयुक्त लगानीको हिमालय एअरलाइन्स सञ्चालन भएको धेरै भए पनि सीधा बेइजिङ उडान भएको थिएन । त्यो कोणमा पनि सीधा उडान भएको थाहा पाउँदामात्रै पनि खुशी हुनुपर्ने म आफैं सीधा उडानको अनुभव लिन पाएपछि झन खुशी भएँ । फ्लाइट नम्बर एच९६६५को सीट नम्बर ८ को लहरमा बस्दा म मख्ख थिएँ ।
हिमालय एअरलाइन्सको इनफ्लाइट म्यागनिज ‘डाँफे’ तानेर हेर्दा मेरो मन डाँफे जस्तै उडिरहेको थियो । मेरो हातमा साढे पाँच घण्टामा मुड चल्दा पढ्न बोकेको सत्यमोहन जोशीको पुस्तक ‘कलाकार अरनिको’ थियो । म जन्मनुभन्दा अगाडि २०४४ सालमा छापिएको किताब नेपाली विभूति अरनिकोको बारेमा व्यापक जानकारीमूलक थियो । तेह्रौं शताब्दीमा बेइजिङसम्म पुगेर नेपाली कलाकारिताको अमर पहिचान बनाएका अरनिको पढ्दै म पनि बेइजिङ उड्दै थिए । तेह्रौं शताब्दीका अरनिको पढ्दा मैले भने चिनियाँ बौद्ध भिक्षु फाहियान र नेपाली बौद्ध भिक्षू बुद्धभद्र मिस गरिरहेको थिएँ । सन् ४०३ मा फाहियान बुद्ध र बौद्ध धर्मका पाइला खोज्दै दक्षिण एसिया आएका थिए, नेपाल पुगेका थिए । फाहियानको निम्तोमा नेपाली बौद्ध भिक्षु बुद्धभद्र सन् ४०६ मा चीन पुगेका थिए ।
पाँचौं शताब्दीमा नेपाल र चीनका बुद्धभद्र र फाहियान दुई अनुहारको त्यो सहकार्यकै निरन्तरताको पछिल्लो हवाई क्षेत्रकोे उदाहरण हो हिमालय एअरलाइन्स । किनभने यहाँ पनि नागरिकस्तरमा चीन र नेपालले एक अर्कालाई जोड्न सहकार्य गरिरहेका थिए । यस्तै भावना मनमा आइरह्यो । तर, प्रि-बोर्डिङ अनाउन्समेन्टदेखि डाँफे पढ्दा यी भावना एकपछि अर्को गर्दै भत्किइरह्यो । मूलतः हिमालय एअरलाइन्सको साढे पाँच घण्टाको उडानमा बिझेका तीन काँडाको बुँदागत चर्चा यो ब्लगमा गरिएको छ ।
१. भाषा
नेपाली र चिनियाँ लगानीकर्ताले खोलेको विमान सेवाले नेपाल र चीन जोड्छ । भाषा पनि नेपाली र चिनियाँ दुवै हुनुपर्ने हो । छ पनि । तर, ढंग पुगेको छैन । हिमालय एअरलाइन्सको इनफ्लाइट म्यागजिन डाँफेमा नेपाली र अंग्रेजी भाषामात्रै छ । चिनियाँ भाषाको सामग्री छैन । नेपालीभन्दा चिनियाँ यात्रु धेरै बोक्ने जहाजमा चिनियाँ भाषाका कन्टेन्ट नहुनु बडो दुःखद हो ।
यो बारेमा निकै अगाडि नेपाली, चिनियाँ र अंग्रेजी भाषामा पोख्त अरनिको प्रोजेक्टकी एक पायोनियर अनेका राजभण्डारीले पनि सामाजिक सञ्जालमा गुनासो गरेकी थिइन् । राजभण्डारीले गत मार्च ८ मा गरेको गुनासो म आएको जुलाई २८ मा जस्ताको तस्तै देखियो । फ्लाइट अनाउन्समेन्टमा पनि ‘एयर टुर्बलेन्स’ भएपछि मात्रै चिनियाँ भाषा प्रयोग भयो । यात्रु सतर्कता सन्देश नेपाली र अंग्रेजी भाषामा मात्रै भयो । मसँगै बसेका दुवै चिनियाँ यात्रीलाई अंग्रेजी र नेपाली दुवै आउँदैन । कसरी बुझे होलान्, के बुझे होलान् उनीहरुले ?
पानी परिरहँदा प्यासेन्जर बोर्डिङ ब्रिज नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गाडीबाट जहाजमा जाँदा छाता ओढाएर मन जितेको एअरलाइन्सले भाषा प्रयोगको गोलमालले भने फिटिक्कै मन जित्न सकेन ।
२. भोजन
लामो दूरीको यात्रामा विमानले आफैं खान्तेपिन्ते व्यवस्था गर्ने चलनै छ । हिमालय एअरलाइन्सले पनि गरेको थियो । तर, यात्रु बिच्क्याउने तरिकाले गरेको थियो । बिहान ५ बजे नै विमानस्थल प्रवेश गरेर बोर्डिङ लिँदै ७ बजे जहाजमा छिरेको समूहले विहानै भात खाने कुरा हुन्न । बिहानै टन्न नास्ता खाने कुरा आउन्न । जहाजले दिन्छ भनेर एक खाले ढुक्क हुन्छ । यस्तै ढुक्क भएर म यात्रामा थिएँ । एक प्याकेट जुस, एक थान बदाम र एक थान पानीको बोतल र केक आइटम दिएर जहाजले टार्यो । ५३ हजार ६८३ रुपैयाँ वान वे भाडाको टिकट बोकेर साढे पाँच घण्टा यात्रा गर्ने यात्रुको रुपमा मलाई यो ज्यादै झुर सुविधा लाग्यो । काठमाडौं-दिल्ली उडाउने नेपाल एयरलाइन्सले साढे एक घण्टाको यात्रामा दिने खानपिनको मिठासको एक खण्ड पनि थिएन काठमाडौं-बेइजिङ यात्रामा हिमालय एअरलाइन्सको यात्रु सत्कार । हिमालय एअरलाइन्सको खानपिनको त्यही तनावले बेइजिङ तासिन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनासाथ सँगै यात्रारत मञ्जु टेलर भन्दै थिइन्, ‘यस्तो खाना खुवाउनुभन्दा नखुवाएको राम्रो ।’
मञ्जुमात्रै होइन, पत्रकार सृष्टि काफ्लेले पनि हिमालय एअरलाइन्सको खान्तेपिन्ते बिजोगको गुनासो केही महिना अगाडि गरेकी थिइन् । डेढ घण्टाको काठमाडौं दिल्लीको नेपाल एयरलाइन्सको खाना र तीन घण्टाको काठमाडौं कुन्मिङको हिमालय एअरलाइन्सको तुलना गरेर मार्च ४ मै पोस्ट गरेकी थिइन् उनले । मनमनमा पोस्ट गर्नेहरुको कुनै सूची छैन ।
अरुले एयरलाइन्स लेखेर अंग्रेजी स्पेलिङ बिर्गाछन् । हिमालयले चै एअरलाइन्स लेखेर स्पेलिङ राम्रो राखेको छ । तर, त्यही स्पेलिङ शुद्ध लेखनमा अगाडि भए झैं हिमालय एअरलाइन्सले भोजन व्यवस्थापनमा अगाडि पर्न सफल भएन । सन् २०१९ सेप्टेम्बर २५ बाट सञ्चालनमा आएको बेइजिङको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल बेइजिङ तासिन अन्तर्राष्ट्रिय विमानस्थलमा योस्तरको खाना खुवाउने अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक सम्भवतः हिमालय एअरलाइन्स नै हुनुपर्छ ।
३. भावभङ्गी
एक चिनियाँ यात्रु सीटबाट उठेर शौचालयतर्फ जान खोजे । बिच्किँदै आएकी विमान परिचारिकाले भनिन्, ‘गो ब्याक टु योर सीट ।’ ती चिनियाँले अंग्रेजी बुझे बुझेनन् थाहा भएन । तर, औंलाले इसारा गरेर बिच्किँदै परिचारिकाले दिएको आदेशले पक्कै भन्न खोजेको कुरा बुझे होलान् । विमानले समय समयमा बोलिने अनाउन्समेन्टमा सिरियस पनि न आवाजमा देखियो न त प्रविधिमा । कतिपय आवाज क्यारक्यार आएर हैरान । खोक्दै बोल्दा पनि कतिपय कुरा बुझ्न पूरा वाक्य सुन्नुपर्ने अवस्था आयो ।
हिमाल आएपछि बीचका खाली सीटमा बोलाएर हिमाल देखाउने सेवाले मन छोएकै हो । सगरमाथा, ल्होत्सेदेखि मकालुमाथि उड्दा ती चुचुराका बारेमा व्याख्या गर्ने पाइटलको तरिकाले मन छोएकै हो । बेइजिङ ओर्लेर जहाजका कर्मचारीलाई कति सिटे हो भनेर सोध्दा १८० भनेर हार्दिक उत्तर दिँदा पनि मन छोएकै हो । तर, गो ब्याक भनेर यात्रु थर्काएकोदेखि उद्घोषण र साउन्ड सिस्टममा आएको कमजोरीले ती मन छुने कुरा बिर्सायो ।
नेपालमा पासपोर्ट बोकेर आउने सबैभन्दा ठूलो संख्या चीनकै पर्यटक हुन् । चीनमा नेपालीहरु अध्ययन, भ्रमणदेखि काममा आउजाउ धेरै हुन्छन् । चार महावाणिज्य दूतावास र एउटा केन्द्रीय राजदूतावास भएको चीनमा नेपालको कूटनीतिक आउजाउ पनि बाक्लै हुन्छ । त्यस्तो महत्वपूर्ण गन्तव्य मुलुकबाट नेपाल आउजाउ गर्ने विमान सेवा प्रदायकले यस्ता कुरामा ख्याल गर्न आवश्यक छ । हिमालय एअरलाइन्स नेपाल चीनको निजी क्षेत्रको लगानी सफलताको विम्बमात्रै होइन, नेपाल विश्वभर चिनिने र नेपाली चिन्ने एक विश्व माध्यम पनि हो । यही वर्ष बेलायतबाट सञ्चालन हुन लागेको गैरआवासीय नेपालीको लगानी भएको नयाँ विश्व हवाई सेवा प्रदायकको नाम पनि ‘हिमालय जेट’ छ । त्यही ‘हिमालय’ विम्ब बोकेर उड्ने जहाजले त्यसको गरिमा कायम गर्न यस्ता झिनामसिना कमजोरीहरुमा तत्काल सुधार आवश्यक देखिन्छ ।