प्रशिक्षक थापाको पार्टीमा फुटबलर भरत शाहमाथि निर्घात कुटपिट, पूर्वकप्तान रितेश थापा निलम्बित
काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक अनन्त थापाले दिएको पार्टी मनाउन गएका पुलिस क्लबका खेलाडी भरत शाहमाथि निर्घात कुटपिट भएको छ ।
पुलिस क्लबकै पूर्वकप्तान रितेश थापाले शाहलाई निर्घात कुटपिट गरेको बुझिएको छ । प्रहरी प्रशिक्षक प्रतिष्ठानले यो घटनाको छानबिन गर्न एसएसपी बेलप्रसाद पाण्डेको संयोजकत्वमा समिति बनाएको छ ।
स्रोतका अनुसार साउन १० गते शाह थापाले बोलाएको पार्टीमा पुगेका थिए । कमलपोखरीस्थित एक रेस्टुरेन्टमा भएको पार्टीमा रक्सी खाँदै जाँदा विवाद बढेको बुझिएको छ । कुटपिटबाट शाहको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको बुझिएको छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले घटनाको छानबिन गर्न समिति बनाइएको बताए । ‘दुवै जना प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत भएकाले त्यही युनिटले छानबिन गरिरहेको छ’, कडायतले भने ।
शाह सहायक प्रहरी हवल्दार हुन् भने थापा नायब निरीक्षक (सई) हुन् । थापा लामो समय नेपाली राष्ट्रिय फुटबल टोलीमा समेत रहेका थिए । उनी गोलकिपर थिए । म्याच फिक्सिङको आरोप लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । अदालतबाट सफाइ पाएपछि पछि थापा सेवामा फर्किएका थिए । के विषयमा विवाद भएको थियो भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।