बुङ्गल नगरपालिकाका आईटी अफिसरले स्थानीय युवालाई बीच बजारमै भकुरे (भिडिओ) – Nepal Press

बुङ्गल नगरपालिकाका आईटी अफिसरले स्थानीय युवालाई बीच बजारमै भकुरे (भिडिओ)

कैलाली । बझाङको बुङ्गल नगरपालिकाका सूचना शाखा प्रमुख (आईटी अफिसर) रमेश कार्कीले स्थानीय रामचन्द्र जोशीलाई लछारपछार गर्दै मुक्का हिर्काएका छन् । नगरपालिकाको भ्रष्टाचारविरुद्ध बोल्दै आएका रामचन्द्रमाथि बिहीबार साँझ सोही विषयको निहुँमा कर्मचारी कार्कीले विजगडा बजारमा आक्रमण गरेका हुन् ।

रामचन्द्रले बुधबार दिउँसो कार्यालय समयमा समेत नगरपालिकामा कोही कर्मचारी नभएको भिडियो खिचेर सामाजिक सञ्जालमा राखेका थिए । सोही भिडियो किन राखेको भन्दै कार्कीले आफूलाई आक्रमण गरेको जोशीले बताए । कार्कीको हातपातले आफ्नो छाती र औँलामा चोट लागेको उनले जानकारी दिए ।

जोशीमाथि आक्रमण भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । राजनीतिक पहुँचकै भरमा कार्की नगरपालिकाको सूचना तथा प्रविधि शाखाको प्रमुखमा नियुक्त भएको जोशीको आरोप छ । उनले योग्यताको विषयमा समेत बेला-बेलामा प्रश्न उठाउँदै आएका छन् । तर, मेयरदेखि अन्य राजनीति नेतासँग बलियो पहुँच बनाएका उनीमाथि कसैले पनि छानबिन नगरेको जोशीले बताउँदै आएका थिए ।

नगरपालिकाले रिक्त दरबन्दीमा स्थायी पदपूर्तिको लागि लोकसेवा आयोगलाई कोटा पठाउन सक्ने व्यवस्था हुँदाहुँदै जनप्रतिनिधिले आफू निकटलाई जागिर लगाउन करार कर्मचारी भर्ती गर्ने गरेको आरोप लागिरहेको छ ।

महालेखा परीक्षकको कार्यालयले यसअघि पनि करार कर्मचारी राखेकोमा प्रश्न उठाउँदै आएको छ । यस्ता कर्मचारी पाल्नकै लागि वार्षिक नगरपालिकाको डेढ करोडसम्म खर्च हुने गरेको महालेखाले औंल्याएको छ ।

बुधबार रामचन्द्रले खिचेको कार्यकालको भिडियोमा कोही पनि कर्मचारी र जनप्रतिनिधि अफिसमा देखिँदैनन् । कार्यालय समयमै एक जना पनि कर्मचारी नभेटेपछि नगरपालिकाको सेवा प्रवाह र जनप्रतिनिधिको भूमिकामै प्रश्न उठेको छ ।

यता मेयर जयबहादुर धामीले भने उनीहरुबीच केही समय अघिबाटै विवाद र झगडा सुरु भएको बताए । उनले भने, ‘हिजोको घटनामा पनि नगरपालिकाको विषय होइन । उहाँहरू छिमेकी पनि हो । उहाँहरूको पुरानै झगडा हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर