माओवादी बैठकः सुन तस्करीमा जोडिएका महरामाथि छानबिन गर्न माग
काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा सुन प्रकरणमा मुछिएको प्रसंग उठेको छ। बुधबारदेखि प्रज्ञा भवनमा जारी बैठकमा केन्द्रीय सदस्य लेखनाथ दाहालले सुन प्रकरणमा महरा मुछिएको प्रसंग उठाएका हुन् ।
उनले प्रश्न उठेपछि आफू दोषी छैन भनेर पन्छिन नमिल्ने भन्दै आफैंले छानबिनका लागि सीआईबीमा निवेदन दिनुपर्ने बताए । पार्टी नेताहरुसँग जोडिएको भ्रष्टाचार र तस्करीको भार पार्टीले नबोक्ने उनको भनाइ छ ।
सीआईबीले केही समयअघि भेपमा ल्याइएको ९ किलो सुनको अनुसन्धान गर्दा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोराको संलग्नता देखिएको आशंका छ । यद्यपि, अहिले छानबिन भइरहेको छ ।
तर, महराले आफ्नो संलग्नता नभएको पटक पटक प्रष्टीकरण दिइसकेका छन् । आफूमाथि राजनीतिक पूर्वाग्रह साँधेर आरोप लगाइएको उनको भनाइ छ ।