फिल्ड रिपोर्ट : साजनलाई निलेकाे सामाखुसी खाेला बालेनले खाेलेपछि… (तस्विर/भिडिओसहित)
काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई महिना अघि सामाखुसी खोलामाथि राखिएको स्ल्याब हटाउन थालेको थियो ।
बसुन्धराबाट चौकी, रानीबारी, रेडन, म्हैपी हुँदै विष्णुमतीसम्म सामाखुसी खोलाको लम्बाइ लगभग दुई किलोमिटर छ । यो खोला खुला रुपमा बग्न छोडेको एक दशक बढी भइसकेको थियो । खोलको अस्तित्व कसरी मेट्न खोजिएको थियो भन्ने दृश्य रानीबारीमा देख्न सकिन्छ ।
ठाउँठाउँमा साघुरिँदै बगेको सामाखुसी खोला स्ल्याब मुनि बगिरहेको छ भन्ने मेसो धेरैले पाउँदैन । महानगरले ती स्ल्याब भत्काएर खोलालाई खुला स्वरुपमा ल्याउन लागिपरेको छ ।
यसअघि खोला कतै खुला त कतै स्ल्याबले छोपिएको थियो । गत साउन ७ गते सामाखुसी रानीबारीका १३ वर्षीय साजन मगर मुसलधरे पानी परिरहेको बेला त्यही खोलामाथिको स्ल्याबमा हिँडिरहेका थिए । तर, सामाखुसी खोला उर्लिएर आएपछि साजनलाई त्यसैमा परे र बगे ।
प्रत्यक्षदर्शीका अनुसार खोला उर्लिएपछि साजनले स्ल्याब भएको नभएको छुट्याउन सकेनन् । उनले स्ल्याब भनेर टेक्दा खोला पर्यो र बेपत्ता भए । उनी खसेको ठाउँदेखि परसम्म खोलामा स्ल्याब हुँदा सशस्त्र प्रहरी र नेपाल प्रहरीले साजनको उद्धार गर्न सकेनन् । ११ दिनपछि उनको शव दक्षिणकालीस्थित बागमती खोलामा भेटियो ।
उनी हिँडेको ल्याबमाथि दायाँबायाँ छेकबारसमेत केही नभएको स्थानीय बताउँछन् । खोलामाथि धेरै ठाउँमा स्ल्याब राखिएकै कारण उनको उद्धार हुन सकेन ।
स्थानीय स्ल्याबले छोपिएको सामाखुसी खोलालाई नाला भन्छन् । तर, त्यो नाला होइन, खोला हो । स्थानीयले खोलाको अस्तित्व नै मेट्ने गरी साँघुरो बनाएर नालामा परिणत गरेका थिए । स्थानीयले नै खोलाको दुबै किनारमा पर्खाल लगाएर स्ल्याब राखेका थिए ।
रानीबारीदेखि नै स्थानीयले आफ्नो घर अगाडि स्ल्याब बनाएर सामाखुसी खोलालाई नाला बनाएको कपुरबोटका स्थानीय विमला अधिकारी बताउँछिन् । उनले आफ्नै खर्चमा खोलामा स्ल्याब राखेकी थिइन् ।
‘हिउँदमा नाला गनाएर बसी नसक्नुभएपछि स्थानीय मिलेर आफ्नै खर्चमा स्ल्याब राखेका हौं । घर बनाउँदा निर्माण सामग्री ल्याउने राख्ने ठाउँ नभएपछि स्ल्याब राखेको हो’, उनले भनिन्, ‘यो स्ल्याब राखेको १३ वर्ष भयो । अहिले भत्काएर खोला खुला बनाइएको छ ।’
अहिले पनि स्थानीय खोला खुला गर्दा गन्धमात्र आउने भन्दै आक्रोश पोखिरहेका छन् । अधिकारीको टोलभन्दा तल खोला टोल विकास समितिको सहयोगमा स्ल्याब राखिएको थियो । कपुरबोटदेखि विष्णुमतीसम्म भने पूरै खोला स्ल्याबले छोपिएको छ ।
शुक्रबार नेपालप्रेसकर्मी पुग्दा कपुरबोटभन्दा तल खोलामाथिको स्ल्याब हटाउन महानगरले स्टोन ब्रेकर लगाइरहेको थियो । स्टोन ब्रेकरले स्ल्याब हटाएर खोला खुला गरेको गतिविधि नियालिरहेका एक अधवैंशे पुरुष अर्का साथीसँग भन्दै थिए, ‘म यो बाटो सयौं चोटी हिँडे । तर, खोला छ भनेर मेसो पाको थिएनँ ।’
दायाँबायाँ घर र बीचको बगेको खोलामाथि स्ल्याब ढलान गरेर ८ फिटको सवारीसाधन गुड्ने पक्की बाटो बनाइएको थियो । केही घरधनीहरु महानगर प्रहरीसँग मोटरसाइकल हिँड्ने अलिकति बाटो भए पनि राखिदिन आग्रह गर्दै थिए । स्ल्याब ढलान गरिएको खोलामाथि बीचबीचमा विरुवा रोपिएको छ।
कपुरबोटको पुल छेउको खोलामा भत्काएर छोडिएको स्ल्याबका फलामे डण्डी निकाल्न र बाँकी भएको ढलान फोड्न कामदारहरु खटिएका थिए । खोला दायाँबायाँका केही घरधनी कबाडीवालाहरुलाई स्ल्याब फुटाउँदा बाँकी रहेको डण्डी बेच्न बार्गेनिङ गर्दै थिए । कतै बेचिसकेर धमाधम डण्डी निकालिँदै थियो ।
डण्डी लिन आएका एक कवाडीवालाले १५ हजार रुपैयाँ तिरेको बताए । कपुरबोटबाट रानीबारी जाने बाटोको छेउमा खुला रहेको खोला निकै साघुँरो बनाइएको थियो । रानीबारी क्षेत्रमा भने अस्तिको दिन नै महानगरले खोलामाथिको स्ल्याब फुटाएको थियो । त्यहाँको डण्डीसमेत निकाइलिसकेको छ । जसले गर्दा खोला पूर्ण खुला देखिन्छ । कति ठाउँमा महानगरले स्ल्याब भत्काएपछि पहिल्यै बनाइएका घरसटरहरु खोला डिलमा आइपुगेका छन् ।
पसल भएका सटरहरु बन्द छन् । खोलामा खुलै भएपछि बाटो नपाएर पसलेहरुले सामानसमेत सार्न पाएका छैनन् । हामी पुग्दा केही स्थानीय घरमा छिर्ने अस्थायी भर्याङ बनाउँदै थिए ।
रानीबारीमै युनिक नेवारी खाजा घर चलाइरहेकी थिइन् कविता । अहिले उनी हाँस्नु न रुनुको अवस्थामा पुगेकी छन् । उनको सटर उघार्नेेबित्तिकै पहिलो पाइला सामाखुसी खोलामा पर्ने भएको छ । यसअघि उनको सटरअगाडि रहेको खोलामाथि स्ल्याब ढलान गरिएको थियो ।
महानगरले ती सबै स्ल्याब हटाइदिएपछि अब पसल के गर्ने, कसो गर्ने केही मेसो नपाएको उनी बताउँछिन् । उनी होटल भएकै घरमा कोठा लिएर बसेकी छन् । त्यही भएर उनलाई बाहिर जानुपरेको छैन । तर, बाहिरका ग्राहक उनको पसलमा आउन पाएका छैनन् । व्यापार नभएपछि उनी खोलापारि सटरमा निराश भएर बसिरहेकी थिइन् ।
खोलासँगै जोडेर बनाइएको घरका सटरहरु धमाधम खाली गरिँदैछ । ती खाली सटरहरुमा ‘यहाँको पसल पारि सरेको छ’ भन्ने सूचना टाँसिएको छ । धेरैजसो सटर पुरै खाली गरिएको छ । केही पसलको सटर लगाउन पनि नमिल्ने भएपछि फल्याकले बारेर राखिएको छ ।
स्थानीय व्यवसायीहरुले यहाँ अब पुनः व्यापार हुने आशा मारिसकेका छन् । सामाखुसी चोकदेखि विष्णुमतीसम्म स्थानीयहरुले फरकफरक समयमा स्ल्याब लगाएका थिए ।
नारायणबहादुर बानियाँले रानीबारीमा किराना पसल चलाएको १५ वर्ष भयो । उनको पसल पनि खोला किनारको घरमा छ । महानगरले खोला उघारेपछि उनको पसलसम्म पुग्ने बाटो बन्द भएको छ । पसलभन्दा केही पर चर्चमा पुग्न भने महानगरले सानो बाटो छोडेको छ । त्यही बाटोबाट उनको पसल आउजाउ गर्न मिल्छ । उनी पनि अरु व्यापारीहरु जस्तै पसल छोड्ने तयारीमा छन् ।
बानियाँ रानीबारीकै स्थानीय हुन् । २०३६ सालदेखि यही बस्दै आएका छन् । यो ठाउँमा उनी बस्दा खेतको आली थियो । बाटोघाटो थिएन । ज्यापुका गाईवस्तु खोलामा पस्छ भनेर तारबार लगाएर राखेको उनी स्मरण गर्छन् । उनका अनुसार पहिले खोलामा संग्लो पानी बग्थ्यो । उनले खोलामा माछा खेलेको पनि देखेको बताए ।
रेडन स्कुल अगाडि काठको पुल थियो । उनले देखेको खोला धेरै पछिसम्म सफै थियो । बस्ती बढ्दै गएपछि टिचिङ अस्पतालदेखि प्रहरी प्रतिष्ठानसम्मको ढल यही खोलामा मिसाइयो ।
त्यसकारण पनि अहिले उनलाई सामाखुसी खोला कम नाला बढी लाग्छ । फोहोर फाल्नेदेखि ढल बगाउने गरिएको छ खोलामा । खोलामाथिको स्ल्याब हटाएपछि गनाएर बस्नै नहुने भएको उनी गुनासो गर्छन् ।
उनी भन्छन्, ‘अहिले पानी आउज्जेलमात्र हो । जब पानी सुक्दै जान्छ । त्यो फोहोरमैला मात्र आउने हो ।’
बानियाँ व्यापार ठप्पै भएको बताउँछन् । ‘हामी त पसल बन्द गर्ने तयारीमा छौं । बिहानभरि बस्यो, केही व्यापार हुँदैन । आउने बाटो पनि छैन’, उनले भने, ‘पहिला पो यताबाट फुत्त आउँथे । अहिले त यता आउन मान्दैनन् । सटर हालेर बसेर मात्र के गर्नु ?’
महानगरले उनलाई पसल खाली गर्न भनिसकेको छ । माथिबाट बाटो बनाउँदै आए भने केही होला भन्ने उनको आश छ । उनलाई यो स्ल्याब खोलेको मन परेको छैन ।
‘नाश पार्ने काममात्र भएको छ । गतिलो काम भएन । नगनाएकोलाई गनाउने पार्ने भयो । बाढी पस्छ, रोग लाग्छ । भत्काउन पो ड्याङ ड्याङ सजिलो छ । बनाउन त कहिले हो कहिले ?’, स्थानीय बानियाँले भने, ‘त्यही गन्ध आएरै हो, हामी स्ल्याब हालेर बस्न थालेको । खोलालाई पनि वाल लगाएर राम्रो बनाएका थियौं । यो खोल्नेबित्तिकै गनाएर बसी नसक्नु हुन्छ ।’
२७ वर्षअघि खोला छोप्न दिएको भन्दै उनले त्यतिबेला नै दिन नहुने तर्क गर्छन् । ‘मान्छेपिच्छेको नियम गरेर के गर्न खोजेको हो ?’, उनले आक्रोश पोखे, ‘आफ्नो सुरक्षाको लागि भनेर बनाएको त्यत्रो संरचना नोक्सान गरेर । यस्तो गरिसकेपछि अहिले त बस्नै नहुने बनाइदेको छ । यो बनाउनेको सरकार होइन, भत्काउने सरकार हो ।’
बानियाँका अनुसार महानगरले खोला छेउको पसल घर खाली गर भनेर केही भनेको छैन । पहिला एक पटक माइकिङ गरेको उनले सुनाए । ‘यहाँदेखि भत्काउने र चिनो लगाउने केही पनि थिएन । कि यहाँ तुरुन्तै बार लगाएर व्यवस्थित गरे हुने नि ! नत्र मान्छे हुतिने अवस्था छ’, उनले भने ।
अहिले स्ल्याबमात्रै भत्काउने हो : नगर प्रहरी
महानगरको पहिलो प्राथमिकता अहिले खोलाको स्ल्याब मात्र हटाउने रहेको नगर प्रहरी निरीक्षक शिव दाहालले बताए ।
‘अहिले यो भत्काउनेमात्र बजेट आएको छ । त्यही भएर अहिले सबै स्ल्याब हटाएको हो । बजेट आएपछि थप काम गर्छौं’, उनले भने, ‘स्थानीयले वडामा भनेपछि बजेट निकासा हुन्छ । त्यही बजेटले खोलाको दायाँबायाँ खोल्नेलगायतको थप काम हुन्छ ।’
मापदण्डअनुसार खोला कतै पनि छोप्न नपाइने नियम रहेको नगरी निरीक्षक दाहाल बताउँछन् ।
‘मापदण्ड पनि फरक फरक रहेछ । त्यहीअनुसार उहाँहरुले घर बनाउनुभएको रहेछ । उहाँहरुले क्षतिपूर्ति पनि पाउनुहुन्छ’, उनले भने ।
खोलासँगै दायाँबायाँ ४ मिटर खुला राख्ने र ढल खोलामा नमिसाइ छुट्टै पठाउने तयारी महानगरको छ । खोलाको दायाँबायाँ वृक्षरोपन पनि गर्ने महानगरको योजना छ ।
डीपीआर बनाएर थप काम अगाडि बढाउँछौं : वडाध्यक्ष
वडा नम्बर ३ का अध्यक्ष प्रेम थापाले केही स्थानीयले खोलाको मापदण्ड मिचेर घर बनाएको बताए । ती स्थानीयले घर नभत्काउन अदातलबाट स्टे अर्डरसमेत लिएर बसेका छन् ।
‘मुआब्जा क्षतिपूर्तिको कुरा छ । सामान्य सबैतिर खुलिसकेकै छ । केही ठाउँमा खोलाको मापदण्ड छोडेर नबनाएको देखिन्छ’, उनले भने ।
उनका अनुसार महानगरको वडा नम्बर ३ र २६ मा खोलाबाट एक मिटर मापदण्डभित्र बनाएका घरहरु हटाउन समस्या छ । मुआब्जा र क्षतिपूर्ति पाए स्थानीय घर छोड्न तयार भएको महानगरको भनाइ छ ।
स्थानीयले लगाएको स्ल्याब निकालेर रेलिङ र पर्खाल लगाउने वडाको तयारी छ । महानगरका अनुसार १ मिटर, ४ मिटर, ६ मिटर र ८ मिटर खोलाको मापदण्ड हो । स्ल्याब हटाउनेदेखि ढल राख्नेसम्मको कामको लागि करिब ५० करोड बढी लाग्ने वडाको अनुमान छ ।
वडाध्यक्ष थापाले भने, ‘अहिले हामी डीपीआरको चरणमा छौं । आइतबार हाम्रो वडा समिति र महानगरको प्राविधिक टोली गएर नापजाँच गर्छ । अनि डीपीआर तयार गर्छाैं । यही वर्ष हामीले खोलेको ट्याकहरुमा ढल बिछ्याउने, स्ल्याबहरुमा पर्खालको उचाइ बढाएर त्यसमा बार राख्नेछौं, जसले सम्भावित दुर्घटना नहोस् । साइडमा हरियालीको लागि वृक्षरोपण गर्छौं र पीच गर्ने योजना छ । त्योअनुसार डिपीआर तयार गर्दैछौं ।’
उनका अनुसार वडा नम्बर ३ मा १२ घरले १ मिटरको मापदण्ड पालना गरेर घर बनाएका छन् । ‘उहाँहरुले क्षतिपूर्तिको माग गरिराख्नुभएको छ । क्षतिपूर्तिको मागको विषयमा मेयरज्यू सकारात्मक हुनुहुन्छ । मुआब्जा संघीय सरकारबाट हुने भएकाले उहाँहरुको माग सम्बोधन हुने गरी सम्बन्धित निकायमा पत्राचार गरिसकेका छौं’, वडाध्यक्ष थापाले भने ।