माओवादी बैठकको तेस्रो दिन : गुट भत्काउनेदेखि केन्द्रीय कमिटी ९९ जनामा झार्ने बहस
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति चौथो बैठकको तेस्रो दिन पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राखिएको छ ।
बैठकमा आजसम्म पाँच पदाधिकारीसहित १३९ जना नेताहरुले धारणा राखेको पार्टी उपाध्यक्ष एवम प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनका अनुसार शुक्रबार पार्टीका उपाध्यक्ष पम्फा भुसाल, अग्नि सापकोटा र सचिव डिलाराम आचार्यसहित विभिन्न केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् ।
छलफलमा भाग लिने सदस्यको नाम सूची लामै भएकाले बैठक लम्बिन सक्ने भएकाे छ । शनिबार बोल्ने सदस्यको सूची झण्डै २ सयको हाराहारीमा रहेको पार्टी महासचिव देव गुरुङले जानकारी दिए ।
तेस्रो दिनको बैठकमा कसले के भने ?
पार्टीका उपाध्यक्ष पम्फा भुसालले पार्टी अध्यक्ष प्रचण्डले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा आफ्नो धारणा राख्दै अहिलेको केन्द्रीय समिति बैठकले पार्टी जनयुद्धमा जाने जस्तै उर्जा थपेको बताएकी छन् । उनले चुनुवाङबाट शान्ति प्रक्रियामा आउदाँ तेस्रो समाजवादी आन्दोलनमा जाने तयारी भएको जस्तो अहिलेको बैठकबाट महशुस भएको बताईन ।
अर्का उपाध्यक्ष अग्नि सापकोटाले दुनियालाई बदल्ने संकल्प पदाधिकारीले गरेको भन्दै कार्य विभाजनको मुर्त खाका तयार गर्ने छलफलमा जुटेको बताए । उनले पार्टी भित्र बैचारिक पुर्नगठन आवश्यक रहेकोमा जोड दिए ।
बैठकमा पार्टी सचिव डिलाराम आचार्यले भने पार्टी समयानुकुल चल्न सक्नुपर्ने बताए । उनले भने, ‘पार्टीमा रूपान्तरणको मुद्दा उठिरहेको छ । विगतमा ठुला परिवर्तन भए तर, जनताको जीवन बदल्न सकिएन ।’
केन्द्रीय सदस्य सुबोध श्रीपाइलीले गुट उपगुट भत्काउनुपर्ने माग गरे । उनले राजकीय पदमा गएका नेताको सचिवालयबारे प्रश्न उठेको भन्दै त्यसमा जवाफ दिनुपर्ने माग गरे । केन्द्रीय सदस्य रेणु चन्दले आफुहरुले काम गर्नका लागि कार्यक्षेत्र नपाएको गुनासो गर्दै नेतृत्वको क्षमताको विकास गर्ने अवसर प्राप्त नभएको बताईन ।
केन्द्रीय सदस्य बिरबहादुर कुँवरले माओवादी, माओवादी जस्तो नभएको बताए । अर्का केन्द्रीय सदस्य गोविन्द तिमिल्सेनाले कसैले गाली गरेर त कसैले शरणमा परेर पार्टी र नेतृत्वबाट फाईला दिएको टिप्पणी गरे ।
केन्द्रीय सदस्य रामकुमार शर्माले भने प्रचण्डमा जवानी आएको टिप्पणी गरे । उनले मधेशमा पार्टीका नेता गिरीराजमणी पोखरेल र मातृका यादव दुई जनाको लडाइले मधेश प्रदेश विग्रिएको आरोप लगाए । उनले नेता पोखरेलले आफ्नो निर्वाचन क्षेत्रमा काम काम गरेको टिप्पणी पनि गरे ।
अर्का केन्द्रीय सदस्य मुक्ति प्रधानले द्धन्द्धकालिन मुद्दा र सेना समायोजनाको काम एकैसाथ गर्नुपर्नेमा कमजोरी भएको बताए ।
केन्द्रीय सदस्य लेखनाथ दाहाल ‘राजन’ले आफ्नो धारणा राख्दै १६ बुँदे सुझाव दिएका छन् । उनले अध्यक्ष प्रचण्डले पार्टीमा विचार, संगठन र नेतृत्व दिए पनि नेता कार्यर्कर्ताले आफ्नो भूमिका निर्वाह गर्न नसकेको बताए ।
नेता दाहालले आलोचना सत्यको जगमा उभिएर गनुपने भ्रम र आशंकाको भरमा गरिने टिप्पणी आलोचना नभइ आरोप र बिरोध हुने बताए ।
उनले भने, ‘हाम्रो पार्टीमा गुट छैनन् । स्वार्थ समुह हुन सक्छन् । प्रचारको मोर्चा बलशाली बनाउनु आवश्यक छ । स्वेच्छिक अवकाश र स्वेच्छिक त्यागको एजेण्डा पेश गरौँ । केन्द्रीय कमिटी अहिले नै ९९ जनामा झार्न सकिन्छ ।’
‘विगतमा पार्टी सत्ता र राजकीय सत्तामा रहनुभएका कमरेडको पनि समिक्षा आवश्यक छ । पञ्चायतकालदेखि सार्वजनिक तथा सरकारी लाभका पदमा बसेका व्यक्तिको सम्पतिको छानविन गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गर्न आवश्यक छ । बिचार, राजनीति, मुख्य नेतृत्वमा समस्या नभइ संगठनात्मक व्यवस्थापनमा समस्या छ । अराजकता, अनुशासनहिनता, गुटगत मानसिकता, भ्रष्ट आचारण नै मुख्य समस्या छन्’, उनले भने, ‘नयाँलाई काम, निश्क्रिय नेतृत्वलाई सम्मानको व्यवस्था आवश्यक छ । शान्ति प्रक्रियामा आइसकेपछि पटक-पटक मन्त्री, सांसद र राजनीतिक नियुक्ति पाएका नेता, कार्यकर्ताको भुमिकाको बारेमा निर्मम समिक्षा आवश्यक छ । अवसर पाउने अधिकांशले कि पार्टी नै छोड्ने कि अध्यक्षलाई असहयोग गर्ने र पार्टी भित्र बसे पनि मुख्य नेतृत्वको आलोचना गरेर बस्ने अवस्था किन आयो ? समिक्षा आवश्यक छ ।’
नेता दाहालले व्यक्तिको इच्छा अनुसारको अवसर प्रदान नहुने भन्दै आवश्यकता अनुसार, योग्यता अनुसार जिम्मेवारी प्रदान गर्नुपर्ने माग गरे ।
उनले थप्दै भने, ‘अबसरको न्यायोचित वितरण गर्न सकिएन । अबसर पाएकाले पार्टी निर्माणमा पर्याप्त सहयोग पुर्याउन सकेनन् । अबसर पाउँदा पार्टी र जनताको पक्षमा सदुपयोग गर्न नसक्ने । गर्न नचाहाने । अवसर नदिए पार्टी र नेतृत्वको विरोधी भइहाल्ने महारोग पार्टीभित्र छ । आफुले टिकट नपाउँदा भोट नै नहाल्ने । बिरोधीलाई जिताउन लाग्ने प्रवृत्ति पनि छ । विचार, संगठन र नेतृत्वको केन्द्रीकरण नगरी बलशाली बन्न सकिन्न ।’ नेता दाहालले अन्तिममा पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले अनुसन्धानको माग गरेर विज्ञप्ति जारी गर्नुपर्ने पनि माग गरेका छन् ।
कैन्द्रीय समिति बैठकमा सहभागिले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । शुक्रबार स्थगित केन्द्रीय समितिको बैठक शनिबार बिहान ११ बजेबाट सुरु हुने जनाइएको छ । उक्त बैठकमा पनि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नेछन् । बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, विभिन्न आयोगका पदाधिकारी र प्रदेश पदाधिकारी गरी ७५८ जना सहभागी छन् । पहिलो दिन १८ जना र दोस्रो दि पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित ५६ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए ।