आश र त्रासमा अल्झेको मानव जीवन – Nepal Press

आश र त्रासमा अल्झेको मानव जीवन

भनिन्छ, संसार दुःखैदुःखको भण्डार हो । संसारमा दुःखैदुःखमात्र देखेका एक कविले कुनै समयमा विचार गरेछन्- संसारमा यतिका धेरै दुःख रहँदारहँदै पनि मान्छे कसरी जीवित छन् ? यही प्रश्न लिएर ती कवि अनेक ज्ञानी तथा बुद्धिजीवीहरूका गए । तर, कसैले पनि उनको प्रश्नको जवाफ दिन सकेनन् । कविले पनि ती सबै ज्ञानी तथा बुद्धिजीवी कहलाइएकाहरू नै कुनै न कुनै दुःखले पीडित रहेको अनुभूति गरे । आफ्नो प्रश्नको कतै पनि समाधान हुन नसकेपछि उनले निराश तथा हताश भएर आकाशतर्फ फर्केर सोधे- हे आकाश ! तैंले संसार देखेको छस् र संसारमा दुःखैदुःखले पीडित भएर बाँचेकाहरूलाई पनि देखेको छस् । त्यसैले मलाई बताइदे, संसारमा मान्छे कसरी जीवित छ ? यतिका धेरै दुःख र क्लेश सहेर पनि मान्छे किन जीवित छ ? आकाशले जवाफ दियो- आशा ! केवल आशाले नै मान्छे यो दुःखैदुःखको संसारमा अझसम्म जीवित छ । अरू केही देखिएको छैन, जसले मान्छेलाई जीवित रहन प्रोत्साहन गरोस् ।

भनिन्छ, आश र त्रासको बीचमा मान्छेको जीवन अल्झिएको हुन्छ । केही पाइएला कि भन्ने आश र भएको केही गुम्ला कि भन्ने त्रासको बीचमा नै मान्छेको सारा जीवन अल्झेको छ । यो आश र त्रासबाट मुक्त रहेर जीवनमा स्वच्छन्द विचरण गर्नमा आजसम्म पनि मान्छे सफल हुन सकेको छैन । त्यही आशा नै फलीभूत हुन नसकेर प्रतिकारमा भएको अवस्था नै त्रास हो । आशाको विपरीत अवस्था नै त्रास हो । त्रासबाट जोगिन मान्छेले आशाका थप दियोहरू बाल्न सुरु गर्छ । आश र त्रासको यही खेलमा आजको संसार हराइरहेको छ ।

आशाले नै आजको मान्छे संसारमा जीवित छ र यही आशाको भरोसामा नै आजको मान्छे पाषाण युगदेखि वैज्ञानिक युगसम्मको यात्रामा सफलीभूत पनि छ । सबै प्राणी यही आशाकै मोहपाशले गर्दा संसारमा जीवित रहेको पाइन्छ । भोलि त केही राम्रो होला, भोलिकै आशामा जीवित छ मान्छे । भोलेनाथको झोली जस्तो मान्छेको आशाको झोली पनि कहिल्यै नभरिने खालको छ ।

आशाको विपरीत अवस्था नै त्रास हो । त्रासबाट जोगिन मान्छेले आशाका थप दियोहरू बाल्न सुरु गर्छ । आश र त्रासको यही खेलमा आजको संसार हराइरहेको छ ।

वास्तवमा आशाको अर्थ हो- भविष्यप्रतिको सकारात्मक सोच । जीवनको अतीतको कालखण्डमा मान्छेले केवल दुःख र क्लेशमात्रै पाएको हुन्छ । अतीतका दुःख र क्लेशलाई सम्झँदा पनि मान्छे त्रस्त हुन्छ र भन्न थाल्छ- यस्तो त्रास त शत्रुलाई पनि नपरोस् । दुःखकष्ट, स्वर्णिम सपनाहरूका भग्नावशेष तथा पीडाको एकमुष्ट समूहबाहेक अतीतमा मान्छेले केही पाउन सक्तैन । मान्छे अतीतको सहारामा जीउन पनि सक्तैन । मान्छे अतीतको दुःखलाई सम्झेर भोलिको सुखद आशामा जीवित रहन्छ । भोलिको आशा नै उसको जीवनमा अमृतसमान सुख बनेर बसेको जस्तो देखिन्छ । अतीतको विरक्तिलाई बिर्सेर अनागत (भविष्य)प्रतिको आकर्षण मान्छेको स्वभाव नै हो र अनागततर्फको यही प्रबल आकर्षण नै आशा हो ।

जीवनमा अनेक दुःखकष्ट, पीडा झेलेर पनि मान्छे बाँचेको छ । मृत्युकै भय सामुन्ने आउँदासमेत बाँचेकै छ । यति धेरै क्लेश, पीडा, सङ्घर्ष हुँदा त मान्छेको जातले आत्महत्या गर्नुपर्ने हो । तर, यहाँ त अनेक दुःख झेलेर पनि मान्छे बाँचेकै छ । यसरी सर्वत्र दुःख भए पनि आशाको झिनो त्यान्द्रोलाई तन्काएर भए पनि मान्छे बाँच्न सफल भएको छ । आशाको यही झिनो त्यान्द्रोलाई तन्काउने कला मान्छेमा जति अरू कसैमा पनि छैन ।

आशाले मान्छेलाई कसरी जीवित राख्छ भन्ने प्रसङ्गमा महाभारतको स्त्री पर्वमा एक उपाख्यान आउँछ । उक्त उपाख्यान यस्तो छ-

एक समयमा कुनै एक मनुष्य निर्जन तथा घोर वनमा यात्रा गरिरहेको हुन्छ । यात्राकै क्रममा ऊ एक अत्यन्त दुर्गम स्थानमा पुग्छ । उक्त दुर्गम स्थानमा अनेक किसिमका हिंस्रक जीवहरू रहेका हुन्छन् । हिंस्रक जन्तुहरुको आभास पाएर उक्त व्यक्ति निकै आत्तिएर आफूलाई जोगाउने हिसाबले यताउता भौंतारिन थाल्छ । यस्तैमा ऊ घाँस, लहरा, अनेक पतकर आदिले भरिएको एक गहिरो कुवामा खस्न पुग्छ । घाँस, लहरा आदिले ढाकिएका हुनाले ऊ कुवाको पिंधमै त पुग्दैन । तर, बीचमै अड्किएर रहन्छ र छेवैको एउटा वृक्षको जराको सहारा लिएर त्यही जरामा झुण्डिन पुग्छ ।

यस्तैमा उसले देख्छ, कुवाको माथि १२ खुट्टा र ६ मुख भएको एक विशाल हात्ती छ । हात्तीको रङ्ग आधा सेतो र आधा कालो छ, जुन उक्त कुवा भएकै स्थानतर्फ लम्किरहेको छ । यता कुवाको पिंधमा विशाल नाग आफ्नो फणा फैलाएर बसेको छ । उक्त कुवाको तटमा रहेको वृक्षको हाँगामा मौरीको घार पनि रहेछ । उक्त घारबाट बारम्बार महका थोपाहरू चुहिरहेका छन् र त्यही महको थोपालाई उसले निकै मीठो मानेर खाइरहेको छ । परन्तु यस्तो संकटपूर्ण अवस्थामा पनि उसको मनमा महको स्वादले उसलाई निकै आनन्द दिइरहेको छ । यस्तैमा काला र सेता रङ्गका दुई मुसा आएर उक्त व्यक्तिले समातेको वृक्षको जरालाई काट्न सुरु गर्छन् । यस्तो दुःखद अवस्थामा पनि उक्त व्यक्ति महको स्वादको आकर्षणको वशीभूत भएर महपान गरिरहेछ र थप महका थोपा झर्छन् कि भन्ने आशामा बसिरहेको हुन्छ ।

जीवनमा अनेक दुःखकष्ट, पीडा झेलेर पनि मान्छे बाँचेको छ । मृत्युकै भय सामुन्ने आउँदासमेत बाँचेकै छ । यति धेरै क्लेश, पीडा, सङ्घर्ष हुँदा त मान्छेको जातले आत्महत्या गर्नुपर्ने हो । तर, यहाँ त अनेक दुःख झेलेर पनि मान्छे बाँचेकै छ ।

यस प्रसङ्गमा वन भन्नाले संसार, नाग भन्नाले नाना प्रकारका रोग तथा काल, कुवा भन्नाले शरीर, आधा कालो तथा आधा सेतो शरीर भएको र ६ मुख तथा १२ खुट्टा भएको हात्ती भन्नाले काला र सेता रङ्ग अयन, हात्तीको शरीर संवत्सर अर्थात् वर्ष हो भने ६ मुख र १२ खुट्टा चाहिँ ऋतु र महिना हुन् । वृक्षको जरा काट्ने काला र सेता मुसा चाहिँ दिन र रात हुन् भने मौरीको मह चाहिँ जीवनको वासना हो र कुवाको मध्यभागमा आएको वृक्षको जरा नै जीवनको आशा हो । यसरी आशाले मान्छेलाई संकटपूर्ण अवस्थामा पनि जीवित राख्न मद्दत गर्ने गर्छ ।

आशाले नै मानिसलाई विगतमा कहिल्यै नभएको कुरामा पनि अनेक थरीको आकर्षण दिलाउने सामर्थ्य दिलाउँछ । मानिस विगतको त्रासदीपूर्ण यादलाई बिर्सेर अनागतको सुदूर क्षितिजमा आकर्षणको विन्दू देख्न थाल्छ र त्यही आकर्षणलाई पाउने हिसाबले उसले आफ्नो जिन्दगीलाई व्यतित गरिरहन्छ र त्यही आकर्षणको आशामा मानिस बाँच्छ पनि । जुन कुरा अतीतमा सम्भव भएन, त्यो कुरा अनागतमा सम्भव हुनेछ भन्ने आशा नै मान्छे जीवित रहनुको मुख्य कारण हो । मान्छे अनेकौं कष्ट भोगेर पनि आशाको पाशमा बाँधिएर भविष्यतर्फको यात्रामा अग्रसर रहन्छ । जति नै दुःख भए पनि भविष्यप्रतिको चरम आशा नै मान्छेका लागि जीवेषणा बन्न पुगेको हुन्छ ।

वैराग्य शतकमा राजा भर्तृहरि लेख्छन्- आशा नामको नदीमा मनोरथ रूपी तरङ्ग छ । विषयप्रतिको राग नै त्यसको खानेकुरा छ । वितर्क अर्थात् अनुकूल-प्रतिकूल पदार्थका बारेमा निर्णय गर्ने विचारधारा रूपी पक्षी त्यस नदीको किनारमा रहेको वृक्षमा बसेको छ र नदीको धारले धैर्य रूपी वृक्षलाई काटिरहेकी छिन् । त्यस वृक्षमा मोह रूपी भमराहरू छन् भने चिन्ता रूपी किनारा छ । शुद्ध मन भएका योगीहरू नै यस्तो दुर्लङ्घ्य नदीलाई पार गर्नमा समर्थ हुन्छन् ।

आजसम्म संसारमा कसको आशा पूर्ण रूपले घटित भएको छ ? अवश्यै छैन । अर्थात् आजसम्म संसारमा कसैको पनि आशा पूरा भएको देखिँदैन । जे आशा गरियो, त्यही नै जीवनमा निराशा बनेर भोग्नुपरिरहेको हुन्छ । ‘तेरे नाम’ भन्ने हिन्दी चलचित्रको एक चर्चित गीत पनि छ- क्यों किसीको वफा के बदले वफा नही मिलती ?

आजसम्म कसैको पनि आशा पूरा हुन सकेको छैन भन्ने कुरा जान्दाजान्दै पनि मान्छे आशाको एउटा दियो निभ्नासाथ अर्काे दियो बाल्न थाल्छ । यही एकपछि अर्काे आशाको दियो बाल्ने क्रमले नै मान्छेको जीवनमा जीवनको गति थपेको छ । यही आशाले नै जीवनलाई जिउनयोग्य बनाएको छ । आशाराहित्यमा त सांसारिक व्यवहार पनि नचल्ने जस्तो भइसक्यो ।

मानिस विगतको त्रासदीपूर्ण यादलाई बिर्सेर अनागतको सुदूर क्षितिजमा आकर्षणको विन्दू देख्न थाल्छ र त्यही आकर्षणलाई पाउने हिसाबले उसले आफ्नो जिन्दगीलाई व्यतित गरिरहन्छ र त्यही आकर्षणको आशामा मानिस बाँच्छ पनि ।

यही आशाको सिलसिलामा नै मान्छेको जीवन कालको प्रवाहसँगै व्यतीत हुँदै जान्छ । तर, जुन गल्ती अतीतमा गरियो, भविष्यमा सोही गल्ती अधिक गर्ने गरेको पाइन्छ । त्यही गल्ती उसले वर्तमानमा पनि गरिरहेकै हुन्छ । कालको प्रवाहसँगै जीवन नै समाप्त हुने बेलासम्म पनि मान्छे गल्ती गर्न चाहिँ छाड्दैन । तर, सुखको विन्दूसम्म पुग्न मान्छेले आशाको सोपान भने अवश्यै बनाएको हुन्छ ।

आजसम्म मान्छेका कुन कुन आशा पूरा भए ? मान्छेले चाहेको जस्तो जीवन भयो त ? चाहेको जस्तो सुख पायो त ? जस्तो बन्न चाहेको थियो, त्यस्तो बन्न सक्यो त ? अहँ ! अवश्यै पूरा भएनन् ती आशाहरू ।

अब प्रश्न उठ्छ । के मान्छेका आशाहरू वास्तवमै आशा थिए वा दुराशा ? अवश्यै पनि ती सबै दुराशा नै थिए । अर्थात् ती सबै आशाहरू केवल व्यर्थ थिए । व्यर्थ आशाले नै मान्छेको जीवन सोचेको जस्तो हुन नसकेको हो ।

आशा नै दुःखको कारण हो भन्दा फरक पर्दैन । सुख वा दुःखको मुहान वा सबै कुरा व्यक्तिभित्रै निहित रहेको हुन्छ । बाहिरी आशा वा बाहिरी सुखले कसैको पनि जीवन आनन्दमय हुन सक्तैन ।

संसारको इतिहासमा आजसम्म कसैलाई कसैबाट सुखको प्राप्ति भएको पाइँदैन । तर, सबैजना अन्यबाट सुखको अपेक्षा गर्ने गर्छन् । यदि संसारमा कसैले सुख पाएको छु भन्छ भने उसले पक्कै भन्नेछ- मैले आफूभित्र नै सुखको खोजी गरें र सुखको प्राप्ति गरें । जबसम्म मैले अरुबाट सुखको आशा गरें, तब मैले जीवनमा दुःखमात्रै पाएँ । सुखको खोजमा मलाई बाहिरी वस्तुबाट केवल दुःखमात्रै प्राप्त भयो ।

आशा यतिसम्म भयानक रहन्छ कि आशाले नै हामीलाई निरन्तर आशाका नवीन दियोहरू बाल्न थप प्रेरित गर्छ । आशा नै जब निराशा वा त्रासमा परिणत हुन्छ तब पनि मान्छेले थप आशाका दियोहरू बाल्न सुरु गर्छ । विगतमा उसका आशाहरू निराशामा परिणत हुँदै गर्दा पनि विगतका आशाले उसलाई त्रासमात्रै दिएको छ । त्यो त्रासबाट छुटकारा पाउन पनि उसले आशाका नवीन बिजहरू रोप्न सुरु गर्छ । आशाको वृक्ष जब हुर्कंदै जान्छ तब त्यस आशाका वृक्षमा आशाकै थप नवीन हाँगाहरू पनि लाग्न सुरु गर्छन् । यसरी हेर्दा संसार आशैआशाको एउटा विशाल वृक्ष बन्न पुग्छ । आशाको वृक्षबाट आशाको फल झरेर निराशा हात लाग्दा पनि आशाका नवीन हाँगाहरूबाट कुनै न कुनै दिन अवश्यै सफलता हात लाग्नेछ भन्ने प्रबल आकर्षणले गर्दा मान्छेले आशाको वृक्ष छाडेर जान सक्तैन ।

यहाँसम्म आइपुग्दा पनि उसले धर्मशास्त्र, नीतिशास्त्र, आफ्ना जीवनका अनुभवहरू जस्ता सबै कुराहरू बिर्सिसकेको हुन्छ । उसलाई निष्कर्मको यात्रामा कसरी अघि बढ्ने कुराको ज्ञान नहुँदा ऊ थप आशाका वृक्षहरू रोप्नमा सफल हुन्छ । जबजब व्यक्ति जीवनमा चरम निराशामात्रै पाउन थाल्छ तबतब ऊ भाग्यलाई दोष दिन अघि सर्छ र भन्छ- के गर्नु, भाग्य नै यस्तो भएपछि ?

भाग्य सबैको आफ्नै साथमा हुन्छ । परन्तु भाग्यको अर्थ चमत्कार वा यस्तै केही भन्ने बुझ्न सुरु गरेपछि जीवनमा हरेक दिन निराशामात्रै हात लाग्न सुरु हुन्छ । जीवन त्रासले युक्त हुन पुग्छ । वस्तुतः भाग्यको अर्थ हो- जीवनको परम नियम । जीवनमा तबमात्रै सफलता हात लाग्नसक्छ, जब हामी भाग्यका साथमा हुन्छौं । भाग्यको विपरीत अर्थात् जीवनको शाश्वत नियमको विपरीत जानासाथ जीवनमा हामीलाई आशाको बदलामा केवल निराशामात्रै हात लाग्न सुरु हुन्छ । यही निराशाबाट नै त्रासको जिन्दगी सुरु हुन थाल्छ । अर्थात् आशाको विपरीत अवस्थाको जिन्दगी । वस्तुतः भाग्य कसैको विपरीत हुँदैन । जब हामी आशाको जालो बुन्न सुरु गर्छौं तब हामी स्वतः भाग्यको विपरीत मार्गमा चल्न सुरु गर्छौं ।

हरेक व्यक्तिमा केही न केही कुराको अभाव र केही न केही कुराको त्रास अवश्यै हुन्छ । धन हुनेलाई ज्ञानको अभाव, ज्ञान हुनेलाई धनको अभाव छ । रूप हुनेलाई कुरूपताको त्रास छ भने जीवनलाई मृत्युको त्रास छ ।

यस्तो आशाको दौड तब सुरु हुन्छ जब व्यक्ति अभावले ग्रस्त हुन्छ । यही अभाव परिपूर्तिका लागि जीवनमा व्यक्ति ग्रस्त हुन्छ । उक्त अभावलाई कोही धनले भर्न चाहन्छन् भने कोही ज्ञानले, कोही कर्मले त कोही खुशीले । परन्तु यही आशाको दौडले उसलाई जीवनमा वास्तविक रूपले केवल निराशा वा त्रासको मात्रै उपलब्धि हुन जान्छ ।

हरेक व्यक्तिमा केही न केही कुराको अभाव र केही न केही कुराको त्रास अवश्यै हुन्छ । धन हुनेलाई ज्ञानको अभाव, ज्ञान हुनेलाई धनको अभाव छ । रूप हुनेलाई कुरूपताको त्रास छ भने जीवनलाई मृत्युको त्रास छ । अभावलाई उसले आशाको त्यान्द्रोले भर्ने कोसिस गर्छ भने त्रासलाई विस्मृतिको रोगले भर्दै नवीन आशाको बिज रोपेर त्यसलाई आफूबाट हटाउने कोसिस गर्ने गर्छ । र, यही आश र त्रासको बीचमा मान्छेको जिन्दगी अल्झिएको हुन्छ ।

वस्तुतः सुख र दुःखको मुहान आफैंभित्र हुन्छ । जीवनको नियमलाई बुझ्न नसक्दा मान्छे दुःखी छ । दुःखको निषेधले पनि सुखको प्राप्ति सम्भव छैन भने सुखको आशाले पनि जीवनमा सुखको प्राप्ति सम्भव छैन । सुख र दुःख दुवैको आशा र निराशालाई पूर्णतः त्याग गरेर अघि बढ्न सक्दा जीवन सुखी हुने थियो । आशा नै निराशामा परिणत हुँदै जाँदा पनि आजको मान्छे आशा गर्न भने छाड्दैन । यही आशा नै व्यर्थ बनेर जीवनभर चलिरहँदा मान्छे पशुवत जीवन जिउन बाध्य भएको छ । धन्न, मान्छेले पाएको एउटा गजबको गुण छ । त्यो हो- विस्मृति । विस्मृतिको यही गुणले गर्दा नै मान्छेले अतितलाई भुल्न सकेको छ र अनागततर्फको आकर्षण मान्छेमा विद्यमान छ ।

जबसम्म जीवनमा आशा वा निराशा वा त्रासको भावना उत्पन्न भइरहन्छ तबसम्म जीवनमा सुखको अपेक्षा वा सुखको अवस्था पनि उति नै दूर दूर हुँदै जान्छ र जीवन आश र त्रासको जञ्जालबाट निस्कन सक्तैन । जीवनमा एकनासको भावको अवस्था नै सुखी जीवनको कारक हो । भगवद् गीतामा भनिएकै पनि छ-

सुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ । २/३८

अर्थात्, सुख र दुःखमा, लाभ र अलाभमा, जय र अजयमा पनि समान भावले रहनु ।

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । २/४७

अर्थात्, कर्ममा मात्रै अधिकार छ, त्यसको फलमा होइन ।

आशाराहित्यको कर्म र त्यस्तो कर्मले नै मानिसलाई सुखी बनाउने र जीवनमा मुक्ति पनि प्राप्त हुने सनातन सिद्धान्त नै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *