क्षितिज थेबेको प्रश्न- हङकङबाट ल्याइएका १८ हजार ड्रोन भन्सार जाँचपास गरेर कहाँ लगियो ?
माओवादी नेताहरूकै संलग्नतामा इलेक्ट्रिक सिगरेट, ब्रेक शु हुँदै पछिल्लो १० महिनामा १८ हजार ड्रोनभित्र सयौँ किलो सुन तस्करी भएको आरोप
काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले विगत १० महिनाभित्र १८ हजार ड्रोन हङकङबाट हवाईमार्ग हुँदै काठमाडौं भित्रिएको भन्दै भन्सारबाट बाहिरिएका ती ड्रोनभित्र सरकारकै मान्छेले सुन ल्याएको दाबी गरेका छन् ।
युवा संघले आयोजना गरेको विरोध कार्यक्रममा अध्यक्ष थेबेले माओवादी नेताहरूकै संलग्नतामा कहिले इलेक्ट्रिक सिगरेट,कहिले ब्रेक शु र कहिले ड्रोनका कार्टुनभित्र सयौँ किलो सुन तस्करी गरिएको आरोप लगाए ।
थेबेले भने- विगत १० महिनायता १८ हजार ड्रोन यही बाटोबाट ल्याइएको छ,जुन बाटोबाट सय केजी सुन आएको थियो । १८ हजार ड्रोनमा कति सुन ल्याइयो ? ती ड्रोन अहिले कहाँ छन् ? जबकि हामीले एउटा ड्रोन ल्याएर सञ्चालन गर्न गृह र सञ्चार मन्त्रालयको अनुमति लिन महिनौँ धाउनुपर्छ । त्यति धेरै मात्रामा समान हङकङबाटै हवाई मार्गबाटै किन ल्याइयो ? किन सिपमेन्ट गरेर सडक मार्गबाट ल्याइएन ? एउटा व्यापारीले प्लेनबाट ब्रेक शु ल्याएर फाइदा गर्न सक्छ ? त्यसैले यो सामानहरूभित्र सरकारका मान्छेले सुन ल्याएका छन् ।
हवाई मार्गबाट सामान ल्याएर नेपालमा व्यापारीले फाइदा गर्नै नसक्ने भन्दै सरकारको सेटिङमा १८ हजार ड्रोनभित्र सयौँ किलो सुन भित्र्याइएको दाबी गरे ।