सुवास नेम्वाङको दाबी- पहिचानवादीले किरात प्रदेशका लागि होइन एमालेविरुद्ध आन्दोलन गरेका हुन्
कोशीका पहिचानवादीलाई नेम्वाङको चुनौती- कांग्रेस माओवादीलाई नाम परिवर्तनको प्रस्ताव दर्ता गर्न लगाउनुस् र एमालेलाई देखाइदिनुस्
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले कोशीमा पहिचानवादी भनेर आन्दोलन गर्नेहरूको उद्देश्य किरात राज्य स्थापना गर्ने नभएर एमालेमाथि आक्रमण गर्ने रहेकाले उनीहरू सफल हुन नसकेको बताएका छन् ।
एमालेसम्बद्ध किरात समुदायका अगुवा नेता कार्यकर्ताहरूको शनिवार काठमाडौंमा आयोजित भेलालाई सम्बोधन गर्दै नेम्वाङले कोशीमा एमाले सरकार ढलिसकेको भन्दै पहिचानवादीहरूको उद्देश्य किरात प्रदेश नामकरण हो भने अब कांग्रेस र माओवादीलाई नाम फेर्ने प्रस्ताव दर्ता गराउनु पर्ने बताए ।
नेम्वाङले भने- उहाँहरूको आन्दोलन पहिचानका लागि हो भने अब कांग्रेस माओवादीहरूलाई भनेर प्रदेशको नाम परिवर्तनको प्रस्ताव राखे भयो नि त । एमालेले त्यसबेला के गर्छ हेरे भयो नि त । तर उहाँहरूको उद्देश्य पहिचान होइन एमालेमाथि आक्रमण गर्ने हो ।
पूर्व सभामुख नेम्वाङले पहिचानवादी भन्नेहरूले छानिछानी एमालेका नेता कार्यकर्तामाथि बाटो ढुकेर आक्रमण गरेको भन्दै इलाममा प्रदेश सभा सदस्य राम रानालाई मोबिल छर्केर हत्या गर्न खोजेको आरोप लगाए । नेम्वाङले पहिचानवादीहरूलाई चुनाव जितेर किरात प्रदेश नामकरण गर्न चुनौती समेत दिए ।
कार्यक्रममा कोशीका पूर्व मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राईले कोशीका पहिचानवादीको आन्दोलन पहिचानका लागि नभएर एमालेको विरोधको राजनीतिमात्र भएको दाबी गरे ।
कार्यक्रममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा,सांसद मानवीर राई,उषाकला राईलगायतले विभिन्न स’झाव दिएका थिए ।