झलनाथको दस्तावेज चिरफार- दक्षिणपन्थी कांग्रेसको पिछलग्गु बन्यौं, वामपन्थी एमालेलाई शत्रु शक्ति ठान्यौं
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरूले नेकपा एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि गर्न नसकेको बताएका छन् । पार्टीको जारी स्थायी कमिटीको बैठकमा पार्टी नेतृत्वको कार्यशैलीमाथि उनले प्रश्न उठाए ।
खनालले बैठकमा पेश परेको १६ पृष्ठको दस्तावेजमा भनिएको छ, ‘हामीले कसका विरुद्ध प्रतिद्वन्द्वीता गर्ने, त्यसमाथि पनि कुन राजनीतिक शक्ति वा गुट मुख्य प्रतिद्वन्द्वीता गर्ने र कसलाई आफ्ना वरिपरि गोलबन्द गर्ने यस बारेमा भुल गरियो भने हाम्रो क्रान्तिकारी यात्रा एक पाइला पनि अघि बढ्दैन ।’
नेपाली समाजको ठोस राजनीतिक स्थितिमा पार्टीको र सबै वामपन्थी समूहरूको मुख्य प्रतिद्वन्दी शक्ति भनेको मुख्यतः दक्षिणपन्थी शक्तिका रुपमा रहेको नेपाली काँग्रेस बाहेक अरु कुनै हुन नसक्ने भन्दै सबै वामपन्थी समूहहरूले प्रष्ट क्रान्तिकारी दृष्टिकोण र अडान राख्न सक्नुपर्ने उल्लेख गरेका छन् ।
दस्तावेजमा भनिएको छ, ‘तर अन्य अधिकांश वामपन्थी समूहहरू ठीक यही विन्दुमा चुकिरहेका छन् । उनीहरू मुख्य प्रतिद्वन्द्वी शक्तिसँग ‘गठबन्धन’, ‘कार्यगत एकता’ वा ‘मोर्चा’ बनाउँदै सत्ताका चुस्की लिइरहेका छन् । यो दक्षिणपन्थी कार्यदिशा हो । यो दक्षिणपन्थी कार्यदिशाले वामपन्थीहरूलाई निरन्तर अधोगति, सुस्तता, विभाजन र पलायनतिर लगिरहेछ । दक्षिणपन्थीहरुलाई लगातर फाइदा पुगिरहेछ । उनीहरु वामपन्थीहरुलाई विभाजन गर्न र त्यसको एक हिस्सालाई उपयोग गरेर आफ्नो शक्ति वृद्धि गर्न सफल भइरहेछन् ।’
वामपन्थी समूहहरु दक्षिणपन्थी शक्तिका प्यादा र वैशाखीजस्ता बनेर आफ्नो शाख निरन्तर गिराइरहेका खनालको भनाइ छ । आफ्ना गल्तीहरूलाई स्वार्थमुक्त भएर आँटलाई सच्चाउँदै राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको जगमा उभ्याउनुपर्ने उनले बताएका छन् ।
प्रधान राजनीतिक अन्तरविरोध र प्रमुख राजनीतिक प्रतिद्वन्द्वीलाई ठीक ढंगले ठम्याउनु पर्छ र क्रान्तिको प्रवाहलाई निशाना केन्द्रित ढंगले अघि बढाउनुपर्ने भन्दै उनले दस्तावेजमा पार्टी विद्रोह गर्ने बेलाको जस्तो शक्ति आफूहरूमा नभएको र उत्साह कम हुँदै गएको बताएका छन् । पार्टीभित्र जनमत खुम्चिदै गएको भन्दै उनले स्थानीय निर्वाचनमा पार्टीले ६ लाख मत पाएपनि राष्ट्रिय चुनावमा आउँदा ३ लाख पनि कटाउन नसक्नु दु:खद भएको दस्तावेजमा लेखेका छन्
‘तीनवटा क्षेत्रमा संसदका तीनवटा सीटमा उपचुनाव हुँदा हाम्रो पार्टीले आफ्ना उमेदवार सम्म उठाउन सकेन । हाम्रो पार्टी नीरीह देखियो । युवा विद्यार्थी संगठन पनि छन् तर निस्कृय र दिशाहीन छन् । आम कार्यकर्ताहरूमा निरासा, हतासा, पदलोलुपता र पलायनका प्रवृतिहरु विकास भइरहेका छन्’, दस्तावेजमा भनिएको छ, ‘हाम्रो पार्टी यतिवेला माथि रावणको टाउको जस्तो र तल सुक्दै झिनु भएर उभिन पनि गार्हो पर्ने अवस्थामा भएको महसुस हुन्छ । त्रिपाई स्तो माथि फुकेको तल सुकेको पार्टी संगठन छ । हुनुपर्ने ठीक उल्टो हो ।’
उनले संसदीय भूमिकामा पनि पार्टी कमजोर भएको भन्दै अधिकांश सांसदहरूले बोलेकै नसुनेको उल्लेख गरेका छन् । उनले आफ्नो पार्टी र विद्रोह गरिएको पार्टी (एमाले) का सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता अझै देखाउन नसकेको बताएका छन् ।
विगत दुई वर्षको अनुभवहरूको निर्मम ढङ्गले समीक्षा गरेर गलत दृष्टिकोण नीति र अडानबाट पार्टीलाई मुक्त गराउनुपर्ने भन्दै सही वैचारिक-राजनीतिक कार्यदिशा, नीति, सिद्धान्त, लक्ष्य, क्रान्तिकारी कार्यशैली, कार्य पद्धति र विधि विधानका आधारमा पार्टीको महाअधिवेशन यथाशीघ्र गर्नुपर्नेमा उनको जोड छ ।
‘संयुक्त मोर्चा वर्गीय होस् वा राजनीतिक सबै अवस्थामा क्रान्तिको प्रधान शत्रुका विरुद्ध बन्ने गर्छ र बनाउनुपर्छ । प्रधान शत्रु वा प्रधान प्रतिद्वन्द्वी किटान नगरी बनाइने मोर्चा कुइरोको कागजस्तै हुन्छ’, उनको दस्तावेजमा भनिएको छ, ‘वर्गीय संयुक्त मोर्चा सधैँ भरि प्रधान वर्गीय शत्रुका विरुद्ध संगठित हुन्छ । त्यसलाई निरन्तर विकास र विस्तार गर्दै लगिन्छ ।’
राजनीतिक संयुक्त मोर्चा प्रधान राजनीतिक शत्रु वा प्रमुख प्रतिद्वन्द्वी विरोध हुने उल्लेख गर्दै संयुक्त मोर्चा निर्माण गर्नुअघि प्रष्ट हुनुपर्ने खनालले लेखेका छन् ।
‘केही समयअघि घोषणा गरिएको समाजवादी मोर्चालाई पनि यही दृष्टिकोण, नीति र अडानका आधारमा हेर्नुपर्छ र तदअनुरुप रुपान्तरण गर्न कोसिस गर्नुपर्छ । संयुक्त मोर्चा भित्र विभिन्न घटकबीच लिइने स्वतन्त्रता, पहलकदमी र साझा सवालमा संयुक्त संघर्षका बारेमा अझ गहिरो गरी छलफल गर्नुपर्ने त छँदैछ ।’
विद्रोह भएको २ वर्ष पुग्दा पनि पार्टीव्यापीरूपमा विद्रोहको औचित्य साबिन भएन भन्ने असन्तुष्टि रहिरहेको उनको भनाइ छ ।
दक्षिणपन्थीहरूको पिछुवा बन्ने र उनीहरूमाथि भरोसा गर्ने गलत कार्यनीतिको पार्टी यस चरणमा पनि शिकार हुन पुगेकाले पार्टीको जनमत झन् खुम्चिन पुगेको खनालको निष्कर्ष छ ।
यस्तै, उनले विगतमा नागरिकता वितरणमा भएका अनियमितताको छानबिन गर्न र गैरनागरिकको नागरिकता रद्द गर्न एउटा उच्च स्तरको शक्तिशाली छानबिन समिति बनाउन माग गरेका छन् । रेशम चौधरीलाई माफी दिएकोप्रति पनि उनको असन्तुष्टि छ ।
‘राष्ट्रपतिले माफी दिने प्रावधान संविधानमा छ । तर, त्यस्ता प्रावधानलाई बडो विवेकपूर्ण ढङ्गले प्रयोग गर्नुपर्ने हुन्छ । तर, वर्तमान सरकारले त्यस्ता व्यक्तिलाई माफी दिएको छ । जसले गरेका क्रियाकलापका आधारमा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतले एउटै स्वरमा सजाय तोकेका, त्यो पनि भर्खरै फैसला गरेका व्यक्तिलाई आममाफी दिन पुगेको छ । त्यसले मुलुकको न्यायिक प्रणालीमाथि नै गंभिर प्रश्नहरू उठाएको छ’, झलनाथको धारणा छ ।
उनले अमेरिकी सहयोग परियोजना एमसीसी स्वीकार गर्नु राष्ट्रलाई दूरगामी रूपले प्रभाव पार्ने गल्ती भएको उल्लेख गरेका छन् । नेता खनाल सुरुआतदेखि नै एमसीसीको विपक्षमा उभिएका थिए ।
पार्टी फुटाएर रमाएका कमरेडका अनावश्यक गनथन।
फोहर गरी सकेपछि दैलो देख्दैछन् बरिष्ठ कमरेड।