अनियमितताको उजुरीबारे मन्त्री यादव भन्छिन्- छानबिनमा सहयोग गर्छु – Nepal Press

अनियमितताको उजुरीबारे मन्त्री यादव भन्छिन्- छानबिनमा सहयोग गर्छु

जनकपुरधाम । मधेश प्रदेशको तत्कालीन उद्योग, पर्यटन तथा वन मन्त्रालयको रेडबुकमा भएको योजनाको रकम रकमान्तर गरी अनियमिता भएको भनेर अख्तियारमा परेको उजुरीमा सत्यता नरहेको मन्त्री सुनिता यादवले दाबी गरेकी छन् ।

उद्योग, पर्यटन तथा वन मन्त्रालयको नाम परिवर्तन गरी अहिले वन तथा वातावरण मन्त्रालय कायम गरिएको छ । उद्योग पर्यटन तथा वन मन्त्रालय रहेकै बेला आव २०७९/८० को रेडबुकमा भएको योजनाको रकम करिब ४२ करोड रूपैयाँ कमिसन लिएर मन्त्री यादव र मन्त्रालयका अधिकृत लालबाबु यादवले रकमान्तर गरेको आरोप छ ।

रकमान्तरमा कमिसन लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासमा उजुरी परेको छ । उजुरीको आधारमा अख्तियारले छानविन अगाडी बढाइसकेको छ ।

उजुरी परेपछि अख्तियारले असार १० मा ‘सम्बन्धित मन्त्रालयबाट छानविन प्रतिवेदन माग गरी यथाशीघ्र छानविन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको आधारमा अख्तियार बर्दिवास कार्यालयले साउन ९ मा मन्त्रालयलाई पत्र लेख्दै १५ दिनभित्र छानबिन प्रतिवेदन पठाउन भनेको छ ।

अख्तियारको पत्र मन्त्रालयले साउन १४ गते दर्ता गरेको बुझिएको छ । पत्र दर्ता भएको १५ दिनभित्र अर्थात् साउन २९ गते मन्त्रालयले छानविन गरी प्रतिवेदन अख्तियारलाई पठाइनेछ । त्यसपछि सो प्रतिवेदन आधारमा अख्तियारले आवश्यक छानबिन गरी अनियमितता भएको ठहर भए कारबाही अगाडि बढाउनेछ ।

मन्त्री यादवले अख्तियारमा परेको उजुरीमा सत्यता नरहेको र छानबिनमा सहयोग गर्ने बताएकी छन् । उनले भनेकी छन्, ‘जनतालाई भ्रमित पारी मेरो चरित्र हत्या गर्ने सुनियोजित योजना मात्र रहेको छ ।’

उजुरी हाल्दैमा सबै दोषी ठहर हुने पनि हैनन्, प्रमाणित हुनुपर्दछ भन्दै मन्त्री यादवले यसबाट आफू रतिभर विचलित नहुने भनेकी छन् । छानविन पछि दूधको दूध र पानीको पानी छुट्टिने उनको विश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर