नेकपा एसको बैठक : सदनमा प्रभावकारी भूमिका ननिभाएको भन्दै नेतृत्वको आलोचना (भिडिओ) – Nepal Press

नेकपा एसको बैठक : सदनमा प्रभावकारी भूमिका ननिभाएको भन्दै नेतृत्वको आलोचना (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेताहरूले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना भएको छ ।

काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार जारी स्थायी समिति बैठकमा बोल्ने नेताहरूले संसदको गरिमा कायम हुने गरी भूमिका निर्वाह हुन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । उनीहरूले संसद बैठक नै बस्न नदिएको भन्दै एमालेको पनि आलोचना गरे ।

संसदको भूमिकालाई प्रभावकारी बनाउन नसकेकोमा पार्टी नेतृत्वमाथि पनि बैठकमा प्रश्न उठाइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।

तुलाधरले भने, ‘संसदलाई संसदजस्तो गरिमामय बनाउने हिसाबले विषयवस्तुको उठान गर्नेजस्तो कुरा त्यहाँ हुन सकेन भनेर भन्ने खालको कुरा र हाम्रो पार्टीले पनि के भूमिका गर्‍यो त ? हाम्रो पार्टीको भूमिका पनि त कति प्रभावकारी हुन सक्यो भन्ने सवालमा पनि कुरा उठेका छन् । त्यसैले संसदको गतिरोध यो जुन विषयमा उत्पन्न भएर, जुन विषयलाई निहुँ बनाएर गतिरोध उत्पन्न गरिएको छ । त्यो गतिरोध त्यसरी उत्पन्न गर्ने खालको कुरा होइन । सदनको एक मिनेटको बिजनेश भनेको पनि असाध्य महत्वपूर्ण कुरा हुन्छ । अव त्यो चाँही प्रतिपक्षले जे गरिरहेको छ । त्यो चाँही बेठीक गरिरहेको छ भन्ने तहबाट पनि कुरा उठेका छन् ।’

शनिबारबाट सुरू भएको पार्टी स्थायी समिति बैठकमा पार्टीको आसन्न १० औं महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनको विषयमा केन्द्रित भएर छलफल भइरहेको छ । एकीकृत समाजवादीले पार्टीको आसन्न १० औं महाधिवेशन आगामी माघमा सम्पन्न हुने गरी आवश्यक तयारी गर्न यसअघि पार्टीको सचिवालय बैठक बोलाएको थियो । उपमहासचिव तुलाधरका अनुसार अव भदौ पहिलो साता बस्ने पोलिटब्युरो र केन्द्रीय समिति बैठकले त्यसबारे योजना तय गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर