राप्ती उपत्यकाको रोक्का जग्गा फुकुवा नगरे राजधानी व्यवस्थापनमा सहयोग नगर्ने पालिका अध्यक्षको चेतावनी – Nepal Press

राप्ती उपत्यकाको रोक्का जग्गा फुकुवा नगरे राजधानी व्यवस्थापनमा सहयोग नगर्ने पालिका अध्यक्षको चेतावनी

रूपन्देही । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले तीन वर्षदेखि लुम्बिनीको राजधानीस्थल राप्ती उपत्यकाको रोक्का जग्गा तत्काल फुकुवा नभए स्थानीय सरकारले राजधानी व्यवस्थापनमा सहयोग नगर्ने चेतावनी दिएका छन् ।

अध्यक्ष बिष्टले आइतबार सामाजिक सन्जालमा धारणा राख्दै तत्काल जग्गा फुकुवा नगरे राजधानी व्यवस्थापनमा कुनै सहयोग नगर्ने स्पष्ट पारेका हुन् । उनी राजधानी व्यवस्थापन समितिमा खटिएका स्थानीय तहका अध्यक्ष हुन् ।

अध्यक्ष विष्टले लेखेका छन्, ‘लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री माननीय डिल्ली चौधरी र अर्थमन्त्री माननीय धनबहादुर मास्की काठमाडौंबाट फर्किएलगत्तै तीन वर्षदेखि रोक्का रहेका जनताको जग्गा तुरुन्तै क्याबिनेट बसेर फुकुवा गर्ने सहमति भएको हो । भर्खरै बामे सर्दै गरेको राजधानीको शहरलाई सुन्दर र ब्यवस्थित बनाउने विषयमा हामी पनि अत्यन्तै गम्भीर छौं’, उनले लेखेका छन् ।

उनले भने, ‘यसमा सबै पक्षको साथ सहयोग हुन जरुरी पनि छ । तर जनताको सम्पत्ति यति लामो समय यो वा त्यो बहानामा रोकिराख्नु त्यति उचित होइन ।’

प्रदेश सरकारले जग्गा फुकुवाको निर्णय तत्काल गर्नुपर्ने भन्दै उनले यदि नगरेमा राजधानी व्यवस्थापनमा स्थानीय सरकारले कुनै पनि सहयोग नगर्ने बताएका छन् ।

गत वैशाख २८ गते सरकार र जग्गा फुकुवा संघर्ष समितिसंग भएको वार्तामा एक महिनाभित्र जग्गा फुकुवा गर्ने सहमति भएको थियो तर सरकारले विभिन्न बहाना देखाउँदै अहिलेसम्म जग्गा फुकुवा गर्न तयार देखिएको छैन ।

यता केहीदिन पहिले सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले साउन २० गते भित्रै जग्गा फुकुवा हुने जानकारी दिएपनि मन्त्रिपरिषद बैठक बस्न ढिलाइ भएकाले केही दिनमा सल्टने बताएका छन् । स्थानीयले संघर्ष समिति बनाएर सरकारलाई अवरोध गर्ने घोषणा गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर