तीन महिनामै उदांगियो न्यायमन्त्रीको अन्यायी चरित्र- धनराजको विगत पनि छैन पवित्र ! – Nepal Press

तीन महिनामै उदांगियो न्यायमन्त्रीको अन्यायी चरित्र- धनराजको विगत पनि छैन पवित्र !

के हो गुरुङ तरुण दलको महामन्त्री हुँदै सार्वजनिक भएको रातो पासपोर्ट काण्ड ? छानबिन समितिले किटान गरेका २२ जनामा थियो उनको नाम

काठमाडौं । गत वैशाख २० गते कानून न्याय तथा संसदीय मामिलामन्त्री नियुक्ति पाएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ तीन महिना नपुग्दै एकपछि अर्को विवादमा तानिएका छन् । अरूले खडा गरेको विवादमा हैन, उनले आफैँले बनाएको विवादमा उनी तानिँदै आएका छन् ।

मन्त्री बन्नुभन्दा अगाडि धनराज गुरुङ यति पपुलिस्ट थिए कि उनका हरेक स्टाटस र ट्वीट उत्खनन् गर्ने हो भने उनले मन्त्री भएपछि गरेका काम र उनी संलग्न भएको मन्त्रिपरिषद्ले गरेका निर्णयमा कतै संगति देखिन्न । त्यसले पनि उनी थप विवादित बनेका हुन् ।

गत चुनावमै निर्वाचन बुथहरू कब्जा गरेर पितृहरूको समेत भोटले जितेको आरोप खेपेका उनी त्यसलाई केही हदसम्म चिर्न सफल भए । तर, उनले चिर्नै नसक्ने धेरै खालका विवादमा गुरुङ तानिएका छन् ।

चार ताजा उदाहरण हेरौंः

उदाहरण एक

त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउनेलाई ज्यान मार्ने नियतले कुटपिट गरेर गम्भीर घाइते बनाउने नेपाल विद्यार्थी संघका नेताहरूमाथि लागेको मुद्दा गुरुङले फिर्ता लिए । व्यापक जनदबाबपछि सरकारको आलोचना भयो । अदालतले पक्राउ गर्न पुनः आदेश दियो ।

अहिले अदालतले पनि चलाउनेकै पक्षमा फैसला गरेपछि न्यायमन्त्री गुरुङ भने अन्यायी लाइनमा लागेका छन् । उनले कान्तिपुर टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा बीपी कोइरालाको पाठ्यक्रम हटाउन चलाउने लागेकोले नेविसंघका विद्यार्थीले त्यसको प्रतिवाद गरेको कृत्रिम आरोप लगाए । जबकि पाठ्यक्रममा बीपीको कुनै कुरै थिएन ।

मुद्दा फिर्ता गरेर प्राध्यापक कुट्नेलाई उन्मुक्ति दिँदै अदालतले चेक दिएपछि गुरुङ मिथ्या प्रचारबाजीमा लागेका छन् । जबकि गगन थापा र विश्वप्रकाशहरूले सार्वजनिक रूपमा यसको विरोध गरेका छन् । गुरुङ भने बचाउमा लागेका छन् ।

उदाहरण दुई

अदालतमा न्यायाधीश नियुक्तिमा पनि गुरुङ विवादास्पद देखिए । अवकाशमा जाँदा जाँदै प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्ति नगरिनु जनतामाथि अन्याय हुनु भने । हो पनि । तर, न्याय परिषद्का सदस्य कानूनमन्त्री गुरुङ आफूले चाहेका न्यायाधीश नियुक्ति नहुने देखिएपछि बैठकमा गएनन् ।

उनले तीन महिना न्यायपालिकालाई बन्धक बनाए । बरु उनी एनजीओको कार्यक्रममा भाग लिन अनावश्यक अमेरिका भ्रमणमा गए । तर, जिल्लादेखि सर्वोच्चसम्मका न्यायाधीश नियुक्तिको प्रक्रियामा गएनन् । कतिसम्म भने कांग्रेसकै वकिलहरू उनीविरुद्ध डेलिगेसन जाने अवस्था आयो ।

मन्त्री गुरुङको आफ्नै मन्त्रालयमा सचिव छैनन् । तत्कालीन सचिव धनराज गुरुङ अवकाशमा गएपछि वरिष्ठतम सहसचिव फणीन्द्र गौतमले निमित्त चलाएका छन् । गुरुङ न्याय सेवा आयोगको बैठकमा बसेको भए यतिबेलासम्म सचिव बढुवा भइसक्ने थियो । आफ्नै मन्त्रालयको काममा समेत आफैँ बाधक बन्ने मन्त्रीका रूपमा उनी स्थापित भएका छन् ।

उदाहरण तीन

टीकापुर नरसंहारको मुद्दामा गुरुङ कानूनमन्त्री हुनुभन्दा अगाडिसम्म आलोचक थिए । उनले ट्विट पनि गरेका थिए, ‘टीकापुर घटनालाई राजनीतिको पछ्यौरीले छोपेर छोपिँदैन सरकार ! टीकापुर घटनाका अपराधीहरूको मुद्दा फिर्ता लिने निर्णय फिर्ता लिइयोस् सरकार !’ उनै गुरुङ कानूनमन्त्री हुँदा मुद्दा फिर्ता भएको छ ।

यस्तै गैर न्यायिक हत्यामा पनि खरो देखिएका थिए गुरुङ । उनले मन्त्री हुनु अगाडि लेखेका थिए, ‘हत्या, बलात्कार, भ्रष्टाचारलगायतका अपराधलाई राजनीतिको पछ्यौरीले सिंगो राजनीतिलाई विकृत बनाइरहेका छौं । जतिसुकै उच्च ओहदाको भए पनि निष्पक्ष छानबिनको लागि अपराधको आरोपित कानूनको कठघरामा उभिनैपर्छ । लोकतन्त्र भनेकै विधिको शासन हो ।’

मन्त्री हुनु अगाडि यस्ता क्रान्तिकारी कुरा गर्ने गुरुङकै अगुवाइमा अहिले राजनीतिक हिंसा र गैर न्यायिक हत्यालाई मान्यता दिने खालको कानूनी मस्यौदा तयार भएको छ । मुलुकी फौजदारी संहिता २०७४ को दफा ११६ संशोधन गर्न बनेको विधेयकको दफा ६४ मा त्यही कुरा काट्ने प्रावधान प्रस्ताव गरिएको छ । त्यो हुबहु पारित भएमा राजनीतिको पछ्यौरीले अपराध छोप्न मिल्छ ।

उदाहरण चार

अहिले हुँदा हुँदा उनी सामाजिक सञ्जाल नियन्त्रण गर्ने कानूनको पैरवी गर्न थालेका छन् । सामाजिक सञ्जालले अति नै गर्न थालेपछि यसको नियन्त्रण गर्न शीर्ष तहमा छलफल भएको बताएका छन् ।

आफ्ना अतिको अति आलोचना सामाजिक सञ्जालमा सोझिएसँगै गुरुङको ध्यान त्यता सोझिएको छ । र, ‘शीर्ष तह’ को हवाला दिँदै गुरुङ कडा कानूनको सार्वजनिक पैरवी गर्न थालेका छन् ।

बदनाम विगत

रातो पासपोर्ट तस्करी गिरोहका २२ भाइमध्ये एक

धनराज गुरुङलाई सामाजिक सञ्जाल र उनका पछिल्ला भाषणहरू फलो गर्ने नयाँ पुस्ताले सादगी र स्वच्छ छविकै नेताको रूपमा चिन्छ । विशेष गरी २०६२÷६३ को राजनीतिक परिवर्तनपछि हुर्किएको पुस्ताले सामाजिक सञ्जालको विकास हुनुअघिका धनराजलाई नचिन्नु स्वभाविक हो ।

तर उनको विगत पनि ज्यादै विवादास्पद छ । भ्रष्टाचार विरोधी अभियान चलाउने भन्दै कांग्रेसका मन्त्रीहरूसँग पैसा माग्ने र नदिँदा प्रतिशोध साँध्ने गरेको भनेर तत्कालीन गृहमन्त्री गोविन्दराज जोशीले सार्वजनिक आरोप लगाएका छन् ।

आरोप मात्रै होइन, केही प्रमाणित मुद्दामा प्रतिवेदनमै दोषी देखिने हर्कत पनि गरेका थिए गुरुङले । उनीमाथि सांसदहरूको कूटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुपयोग गरेको आरोप लागेको थियो । जुन आरोपको उनले अहिले पनि बेलाबेला स्पष्टीकरण दिइरहनु परेको छ ।

२०५५ मंसिर २१ गते तत्कालीन गृह सचिव श्रीकान्त रेग्मीको संयोजकत्वमा गठन भएको समिति सदस्यहरूमा पूर्व आइजिपी प्रदीप शमशेर राणा र गुप्चर विभागका देवीराम शर्मा सदस्य थिए ।

समितिले २०५२ मंसिरदेखि जारी रातो पासपोर्ट अर्थात् कूटनीतिक राहदानीको छानबिन गरेको थियो । समितिले छानबिन प्रतिवेदन तत्कालीन सरकारलाई माघ २५ गते बुझाइएको थियो ।

प्रतिवेदनले दोषी देखाएका सांसदहरूमा हस्तबहादुर मल्ल, रामचन्द्र अधिकारी, दीपकजंग शाह, चक्रबहादुर शाही, भक्तबहादुर रोकाया, मोतीप्रसाद पहाडी, ज्योतेन्द्रमोहन चौधरी, देवशंकर पौडेल, नरेशबहादुर सिंह, हिक्मतबहादुर शाही र हेमराज राई थिए । राष्ट्रियसभामा मनोनीत सांसदहरू मानबहादुर विश्वकर्मा र यज्ञप्रसाद आचार्य पनि दोषी देखिएका थिए ।

अगाडि यी सांसदहरू देखिए पनि उनीहरूको राहदानी दुरुपयोग गर्ने गिरोह भने अर्को थियो । प्रतिवेदनले रातो पासपोर्ट तस्करी गर्ने २२ जना गिरोहको नाम र ठेगाना किटान गरेको थियो । त्यही २२ मा एक जनाको नाम थियो, धनराज गुरुङ । उनी अहिले देशका कानूनमन्त्री र सत्तारुढ दल नेपाली कांग्रेसको उपसभापति छन् ।

उनी त्यसबेला पक्राउ पनि परे ।

हामीलाई फसाएर ऊ चैँ नेता भयो : पूर्वसांसद अधिकारी

धेरै कांग्रेसी सांसदहरूले आफूहरूलाई धनराज गुरुङले फसाएको भने । त्यसो भन्नेमा एक हुन् तत्कालीन सांसद तथा पूर्व सहायकमन्त्री रामचन्द्र अधिकारी । अधिकारी अहिले कांग्रेसको नेतृत्वमा छैनन् यद्यपि पार्टीमै छन् । उनी अहिले विश्व हिन्दू महासंघको अध्यक्ष भएकाले बढीजसो महासंघकै गतिविधिमा छन् ।

धनराज गुरुङको पासपोर्ट काण्डमा जोडिएर राजनीतिक जीवनको सकाएका अधिकारी यसो भन्छन्:

‘धनराज गुरुङहरूको कारणले मलाई ब्लेम लाग्यो । मैले त्यसमा सफाइ पनि पाएँ । त्यसमा मेरो कुनै दोष नै देखिएन । तर पनि राजनीतिमा मलाई फसाउन त्यो घटना गराइएको थियो कि जस्तो पनि लागेको छ ।

मलाई त त्यो रातो पासपोर्टको बारेमा थाहै पनि थिएन । धनराज गुरुङले हामीलाई अलिकति सहयोग गर्नुपर्‍यो दाइ, हामी त्यसलाई दुरुपयोग गर्दैनौँ, यताउति भनेर फकायो । म त सोझो मान्छे, साथीभाइले भनेपछि हार्न नसक्ने । धनराज त्यतिबेला नेविसंघको अध्यक्षबाट निस्केर तरुण दलतिर कता थियो ।

धनराजले पासपोर्ट लगेर कहाँ राखेको थियो, त्यही ठाउँमा सिज गरेर समातेर बाहिर आयो । त्यसबेला उसले अरू सांसदको पनि पासपोर्ट त्यसै गरी लगेको रहेछ । उसले के गर्छु भनेर लगेको हो, मलाई थाहा भएन । कहीँबाट सञ्चालित थियो कि भन्ने पनि लाग्यो ।

मलाई ड्यामेज गर्न उनलाई युज गरेको हो कि ? तर, कुनै स्वच्छ र सही तरिकाले मेरो पासपोर्ट लगेको होइन रहेछ । कुनै डिजाइनमा गरेको थियो भन्ने घटनाक्रमले बुझ्न सकिन्छ । मेरो मात्र होइन, हस्तबहादुर मल्ललगायतको पनि थियो । तर, उनीहरूले पनि पछि टिकट पाए, मलाई चाहिँ कारबाही गरियो ।

म उनी(धनराज) प्रति कुनै नकारात्मक टिप्पणी पनि गर्दिनँ । तर, त्यो सही र गलतको हो भन्ने प्रकृति र नियतिले पनि एक दिन छुट्याउनेछ भन्ने मलाई विश्वास छ । म अध्यात्ममा विश्वास राख्ने मान्छे । हामीले कसैलाई केही भन्नु पर्दैन । त्यो परिस्थिति घटनाक्रमले ती मान्छे कस्ता हुन् भन्ने अन्तिमसम्ममा चिनिनेछन् ।

मलाई २०५६ सालको आम चुनावमा टिकट बाँड्ने बेलामा कारबाही गरियो । चुनाव अगाडि कारबाही गरिए पनि सबैभन्दा बढी भोट मेरो एरियाबाट कांग्रेसलाई गयो । मैले व्यक्तिगत कांग्रेस बनाएको भए त ती अन्त लाग्दा हुन् नि ! मैले त रियल कांग्रेस बनाएको थिएँ । म कारबाहीमा परे पनि घर–घरमा गएर कांग्रेसको लागि भोट मागेँ ।

चुनाव प्रचारमा जाने बेलामा गिरिजाबाबुले राम्रो गरेर आउनुस्, म कारबाही फुकुवा गरिदिन्छु भन्नुभएको थियो । चुनाव सकिएपछि फुकुवा त गरिदिनुभयो । तर, ड्यामेज भइसकेपछि त्यसको के अर्थ ?

मैले केही गरेको थिइनँ । तर, मेरो राजनीतिमा धक्का लाग्यो । तर, जसले मलाई फसायो, ऊ चाहिँ नेता भयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर