रवि लामिछानेलाई खुल्ला पत्र- ‘गल्ती स्वीकार्नुस्, सच्चिनुस्’ – Nepal Press
ब्लग

रवि लामिछानेलाई खुल्ला पत्र- ‘गल्ती स्वीकार्नुस्, सच्चिनुस्’

माननीय रवि लामिछानेज्यू,
एवं सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी ।

सर्वप्रथम नमस्कार ! सँगसँगै एउटा अनुरोध छ, ‘तपाईँको रचनात्मक आलोचना गर्नेहरूलाई समेत कुन पार्टीको झोले होस् ? कसको कति पैसा खाएर यो लेख्ने आँट गरिस् ? रिप ! यी यस्ता कमेन्ट गर्ने तपाईँका आम समर्थकहरूलाई अलिक शान्त, सभ्य भएर प्रतिवाद गर्न सुझाव दिनुहोला ।’

यो मैले मेरो बचाउका लागि भनेको हैन । १४ वर्षको बाल्यकालदेखि पत्रकारिता सुरु गरेको मलाई शीर्षक हेरेर कमेन्ट गर्नेहरूका यी यस्ता शब्दले भाला रोप्न छाडिसके । सबैभन्दा कम उमेरमा कुनै दलनिकट पत्रकार संगठनको कान्छो जिल्ला अध्यक्षको पद पनि छाडिसकेँ । कारण एउटै हो, ‘विचारमा अधीनस्थ बन्न चाहिनँ ।’ म स्वतन्त्रतामा रमाउने मान्छे हुँ, झण्डै एक दशकको पत्रकारिता यात्रामा म कहिल्यै कसैको दबाब र प्रभावमा परिनँ । समाचार लेखेपछि आएका ज्यान मार्ने धम्कीपछि कुनै जिल्ला छाडेँ, समाचार छाप्न नमानेपछि कुनै मिडिया हाउस ।

माननीय रवि दाइ,

म रहरले पत्रकारितामा लागेको हुँ तर परिस्थितले राजनीतिमा ल्यायो भन्दै दल खोल्ने सन्देश आफ्नो फेसबुक मार्फत दिएको त्यो दिन मलाई राम्रोसँग याद छ ।त्यो दिन अन्य कति पत्रकार खुसी भए थाहा छैन । तर, म गदगद थिएँ । त्यसमा दुई कारणहरू थिए ।

पहिलो,

मैले पनि रहरले पत्रकारिता सुरु गरेँ । अहिले वाक्क दिक्क हुँदा पनि देशको लागि केही गर्नुपर्छ भनेर निरन्तरता दिइरहेकै छु । सानै उमेरमा गोरखादेखि पत्रकारिता गरेको मलाई कहिलेकाँही अग्रजहरुले रवि लामिछाने/अपिल त्रिपाठीको तरिकाले टिकिन्न भन्दै गिज्याउँथे । थाहा छैन किन ? तर, मलाई ती गिज्याइले मनमनै खुसी भने दिन्थ्यो । गिज्याउनेहरूले नेपाली पत्रकारितामा रवि लामिछानेको परिवर्तित शैली स्वीकार्न सकेनन् । सायदै पुरानो तरिकामै रमाउने कतिपय पत्रकारहरूलाई तपाईँको शैली मन परेनन् । तर, आम नेपाली जनताको नजरमा ‘वाह’ पत्रकार भनेको यस्तो पो हुनुपर्छ भन्ने उदाहरणका रूपमा स्थापित हुनुभयो ।

दोस्रो,

पत्रकारितामा जस्तै नेपाली राजनीतिमा पनि परिवर्तनको आशा र भरोसा ! तपाईँले पत्रकारिता गर्दा तमाम नेपालका ज्वलन्त समस्याहरूका उदाहरण देख्नुभयो/देखाउनुभयो । विकृत राजनीति, मक्किएका राजनीतिक दल, देशका लागि धमिरा जस्ता नेतृत्व, दलको इसारामा नाच्ने राज्य व्यवस्था, भ्रष्ट्रहरूको रजगज अनि उनीहरूबाट पिल्सिएका पीडित जनताका आँसुले थिलोथिलो बनेको देशमा तपाईँ नेतृत्वको दलबाट सम्भावित रूपान्तरण र परिवर्तनको विश्वास लिएर रमाउनु सायदै गल्ती थिएन तत्कालीन समयमा !

मेरो यी आशा आगामी एक दशकभित्र वरिपरीमा पूरा हुने कुरामा मलाई मंसिर ४ को निर्वाचनले पनि दिलायो । निर्वाचनपछि तपाईँकै नेतृत्वमा सरकारमा सानदार ‘इन्ट्री’ ले यो विश्वासलाई थप मलजल गरिदियो । सरकारमा गएर गल्ती गर्याे रास्वपाले भन्नेहरू थुप्रै थिए । तर, काम गर्न सरकारमा जानै पर्छ ।

राज्यको वर्तमान शासन प्रणाली रहँदासम्म गठबन्धन विना सत्तामा जानु सहज छैन । दल दर्ताको महिना दिनमै निर्वाचनमा गएको रास्वपाका लागि कसरी होस् ?सत्तामा पुगेर रास्वपाले के गर्याे ? या कति गर्याे ? यसमा पछि चर्चा गरौँला ।

सरकारमा गएपछि तपाईँको राहदानी र नागरिकता जस्ता विषय जसरी आयो त्यसमा मलाई दुखेसो छ । दुखेसो यस कारण कि, तपाईँले आवश्यक सबै प्रक्रिया पूरा नगर्नु भएकै हो । तर, यस विषयमा तपाईँसँग भन्दा यो राज्य व्यवस्थासँग बढी छ । किनकि, राज्यका यत्तिका धेरै संयन्त्र हुँदाहुँदै सत्तामा पुगेपछि कमजोरी देख्ने र रातारात अनागरिक बनाउनेहरूका आँखामा पट्टी कस्ले लगाइदिएको थियो ?हाम्रो राज्यको संयन्त्रहरू कति कमजोर या लापरबाही छन् ?विषय छर्लङ्गै भयो । तपाईँले जस्तै प्रक्रिया नमान्ने या मिच्नेहरूलाई पनि सावधान र खतराको जनाउ ‘घण्टी’ पक्कै बज्यो ।

तपाईँले गरेका कानुनी बेवास्ताका कारण व्यक्तिगत रूपमा तपाईँका लागि सांसदसँगै उपप्रधान तथा गृहमन्त्रीको पद गुम्यो । केही घण्टाका लागि तपाईँकै भाषामा भन्नुपर्दा अनागरिक बन्नु भयो । तर, आम जनताका लागि केही समय नेपाली राजनीतिको आशाको दियो निभ्यो ! परिवर्तन विरोधीहरूले भन्न पाए, ‘आफ्नै देशको कानुन मिच्ने÷नमान्ने र अटेरी गर्नेहरूले देश बनाउँछु भन्दै आएको थियो अब जेल जाने भयो ! देख्यौँ रविको भेडाहरू ?’

एकअर्थमाथि यस्ता आलोचना सही थिए । कहीँकतै तपाईँबाट चाहेर/नचाहेर गल्ती भएकै हो । तपाईँको ठाउँमा अन्य कोही हुँदो हो त सायद आज उ नेपालको कानुन अनुसार जेलमा कैदी बन्दीको रूपमा हुन्थ्यो होला ! तपाईँ राजनीतिक सम्झौता गरेर उपनिर्वाचनबाट पुनः निर्वाचित भइसक्नु भयो । त्यो पनि इतिहासमै अत्यधिक जनमत पाएर ।

नेपालको कानुन ‘ठूलालाई चैन र सानालाई ऐन’ भन्ने उखान तपाईँमा पनि चरितार्थ भयो । एउटा पत्रकारको हिसाबले हेर्दा कानुनी राज्यमा भएको यो खालको राजनीतिक सम्झौता र कानुन मिच्नेलाई उन्मुक्ति दिनुलाई म गलत नै ठान्छु ।

तर, तपाईँको नेतृत्वमा मैले देख्न चाहेका राष्ट्रको परिवर्तनका चाहानाले मलाई व्यक्तिगत रूपमा त्यो गलत लागेन । हजारौँ हजार नागरिकको हत्या गर्नेहरू/राष्ट्र र राष्ट्रियतामा विदेशीसँग घुँडा टेक्ने र सम्झौता गर्नेहरू/देशको भूमिदेखि पहिचान बेच्नेहरू/भ्रष्ट र भ्रष्ट्राचारीका नेतृत्व र संरक्षणकर्ता अनि देशका संयन्त्रहरुलाई अपाङ्गता बनाएर कुर्सीमा बस्दै नचाउनेहरु देखेका मेरा यी नजरले तपाईँका गल्ती सामान्य ठान्यो । अपेक्षा घटेको थिए, छैन ।

हप्ता दिनअघि रास्पवाको केन्द्रीय कार्यालय पुगेको थिएँ । छिर्ने बित्तिकै त्यहाँ नाम ‘इन्ट्री’ गरेर मात्रै कस्लाई भेट्ने हो त्यहाँ जान पाइने रहेछ । साथमा अन्य दुईजना दाइहरू थिए । नाम टिपायौँ । आधा घण्टा कुर्नु भनियो । त्यहाँ कुर्सी, बेन्चहरु राखिएको थियो, प्रतीक्षा सुरु भयो । कुर्दाकुर्दै रास्पवाकै कार्यालयमा कार्यरत एकजना आएर सोध्नुभयो, ‘कहाँबाट आउनु भएको ? ’हामीले भन्यौँ, ‘गोरखा’ ।
त्यसपछि उहाँले सोध्नु भयो, पार्टीको अवस्था त्यहाँ कस्तो छ ?सँगै रहेका साथीले ओठे जवाफ दिए, ‘कसको पार्टी ?’

रास्वपा कार्यालयका दाइ हाँस्दै भन्नु भयो, ‘अरू कसको हुनु हाम्रो ।’ अनि मैले भनेँ, ‘तपाईँहरूको सहमहामन्त्री भएको जिल्ला हो । राम्रै हुनु पर्ने तर जति हुनु पर्ने थियो त्यो अनुसार देखिँदैन । कुनै कुनै पालिकामा भने राम्रै देखिएको छ । यद्यपि रिजल्ट आउँदो निर्वाचनमा देखिएला ।’

मैले थपेँ, ‘तपाईँको केन्द्रीय कमिटीमा नै लफडाको समाचार आइराख्छ । धार छुट्टी सक्यो रे ! घण्टी रहन्छ त आउँदो निर्वाचनसम्म ? कि महाधिवेशनपछि सकिन्छ ?’

उहाँले जवाफ दिनुभयो, ‘हैन, पार्टीमा यस्तो चल्नु स्वाभाविक हो । यो सबै पार्टीमा हुन्छ । तर, रवि सरको विकल्प छैन ।

विवादलाई ब्यालेन्समा ल्याउन केस (केन्द्रीय सदस्य) हरू थपिँदैछन् । पार्टी टिकाउनु पर्छ । तपाईँहरू पनि लाग्नुस् है पार्टी बनाउन ।’

उनले हामीलाई रास्वपाकै कार्यकर्ता सम्झिएर कुराकानी गरिरहेका रहेछन् । साथीले भनिहाले, ‘हामी त पत्रकार हौँ । रास्वपा बनाउन किन लाग्नु ? राम्रो काम गरे पनि समाचार लेखिन्छ, नराम्रो गरेपनि ।’ यत्ति भनेपछि उनी झस्किए । त्यसपछि ल है हजुर, काम छ मेरो तपाईँहरूको पालो आउन लाग्यो होला भन्दै निस्किए । जाँदाजाँदै उनले नाम ‘इन्ट्री’ गर्ने अर्को कर्मचारीलाई उहाँहरूलाई अब माथि पठाइदिनुस् त बुझेर भन्दै निस्किए ।

त्यसको केही मिनेटपछि हामीलाई पाँचौँ तल्लामा जानु भनियो । त्यहाँ पुगेर झट्ट हेर्दा एनजिओ/आइएनजिओको अफिस जस्तै, चिटिक्क परेको सामूहिक काम गर्ने अफिस । आहा ! क्या गज्जब ।

डिपि अर्याल, कवीन्द्र बुर्लाकोटी, मुकुल ढकाल लगायतका नेताहरू भिन्नभिन्नै मान्छेहरुसँग भेटघाट गर्दै थिए । तीनैमध्ये एकजना नेतासँग भेट्यौँ । सामान्य कुराकानी भयो । त्यहीँ बस्दाबस्दै मैले थाहा पाएँ, ‘रास्वपाले महाधिवेशनअघि नेताहरूलाई अन्तरवार्ता नदिन निर्देशन नै दिएको रहेछ ।’ मनमनै पत्रकारिता गरेर आएका व्यक्तिको नेतृत्व रहेको पार्टीमा अन्तरवार्ता दिन नै रोक ? यो कस्तो लोकतन्त्र ? रास्वपाको यो कस्तो रणनीति ?या भनौँ यो कस्तो नियति ? तर, यो प्रश्नको जवाफ त्यहाँ कसैले दिनेवाला थिएनन् । फर्कियौँ ।

त्यसको भोलिपल्ट रास्वपाकै एकजना युवा नेतालाई भेटेँ । उनलाई सोधेँ, किन यसरी अन्तरवार्ता दिनै रोक लगाएको ?आन्तरिक विवाद चर्किरहेको छ । पुकार बम, स्वर्णिम वाग्ले, अनिल केशरी शाह जस्ता थुप्रैलाई पार्टीमा ल्याउँदा फलानो फलानो पद दिन्छु भन्दै ल्याए अहिले दिन सक्ने स्थित छैन । कस्लाई हटाउने ? कस्लाई ल्याउने ?आन्तरिक रूपमा पदको चर्को लडाइँ सुरु भइसक्यो । केन्द्रीय सदस्य नथप्ने हो भने महाधिवेशनबाट ताल पर्यो भने रवि दाइलाई असन्तुष्ट पक्षले आउट गर्न पनि सक्छन् । त्यसैले हालसालै केही केन्द्रीय सदस्य थपे, फेरि थप्ने तयारी हुँदैछ ।

उनको कुरामा म कन्भिन्स भएँ । किनकि, रवि दाइ तपाईँले नै केही समय अघि पार्टीको केन्द्रीय कमिटी कार्यकर्ता भर्ती केन्द्र बनाउँदैनौँ । हामी काम गर्ने सानो ‘कोर टिम’ बनाउँछौँ भनेको कुरा याद गरेँ । दल भित्र हुने यो खालको आन्तरिक लडाइँ पनि ठिकै हो भन्ने लाग्यो ।

तर, दिन नसक्ने पद दिन्छु भन्दै तपाईँले कसैलाई पार्टीमा ल्याउनु भएको छ भने त्यो सरासर गल्ती हुनेछ । यदि साँच्चै त्यस्तो गरिराख्नु भएको छ भने आगामी दिनमा यस्तो काम भने नगर्दिनु होला ! अन्यथा निकट भविष्यमै यस्ता काम ‘आफ्नै खुट्टामा बन्चरो हान्नु’सरह साबित हुनेछ ।

पछिल्लो समय विभिन्न कार्यक्रमहरूमा बाहेक तपाईँले आफ्नो सामाजिक सञ्जालमार्फत खासै केही लेख्नेरबोल्ने गर्नु भएको थिएन । लामै समयपछि चार दिन अघि मात्रै एउटा स्टाटस लेख्नु भयो ।
जसमा लेखिएको थियो, ‘यी विज्ञापनहरू विभिन्न देशका पत्रिका, अनलाइन र चोकका पसलहरूमा छापिएका छन्, छापिँदै छन् ।

चुनावमा आफूले बोले अनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेका लागि १०० भन्दा बढी जागिरको व्यवस्था गरेका छौँ, त्यो पनि ‘बिना ढेउवा के’ । अहिलेका लागि यी रोजगारी खोजिएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउने छौँ। मैले उपनिर्वाचनमा विजय हासिल गरेको, भोलि १०० दिन पूरा हुँदैछ । बोलेका थुप्रै काम (स्टन्ट) बारे भोलि दिन भरी विभिन्न कार्यक्रम मार्फत जानकारी दिँदै छु । भोलि दिन भरी मलाई फेसबुकमा फलो गरिदिनु होला ।’

जागिर कसरी दिने ? स्रोत के हो ? उत्सुकता हुँदै थियो । भोलिपल्ट तपाईँले भनेकै कुरा मानेँ, फलो गरिरहेँ । ब्लु बस सेवा, मोबाइल एम्बुलेन्स सेवा, सय दिन सय रोजगारी जस्ता सुन्दा चर्चित लाग्ने थुप्रै योजनाहरू सुनाउनु भयो । प्रचार यसरी गर्नुभयो कि मानौँ त्यो सबै काम तपाईँ आफैँले खल्तीको पैसा हालेर गर्दै हुनुहुन्छ । यो मैले आरोप लगाएको हैन, तपाईँका स्टाटस, तपाईँको भिडियो सन्देशहरूले यस्तै भान पुष्टि गर्छ ।

सोही चितवनमा बोल्दाबोल्दै चिप्लनु भयो, ‘१०० जनालाई जागिर दिने योजना विभिन्न स्रोतहरूलाई परिचालित गरेर विभिन्न संघ संस्थालाई सहभागी गराइ डोनर, एजेन्सी र शुभचिन्तकहरूसँग साथ लिएर त्यसलाई पारदर्शी गराएर सञ्चालन गर्ने छौँ । कुनै पनि चिज मान्छेले आफूले खल्तीबाट गर्ने चिज होइन । त्यो व्यवस्थापन गर्ने कुरा हो ।’

यत्ति भनेपछि बुझेँ तपाईँले पनि ‘बिना ढेउवा के’क्रडिट लिन खोज्नु भएको रहेछ । हरेक क्षेत्रका मानिसहरूसँग सहकार्य गरेर काम गर्नुस् । देशमा बेरोजगार बनेर बसेकाहरूलाई सकिन्छ प्रतिस्पर्धाका आधारमा जागिर खाने अवस्था सिर्जना गराउनुस् । उनीहरूको श्रम शोषण अन्त्य गर्न पहल गर्नुस् । समयमै र उचित पारिश्रमिक पाउने अवस्था बनाउनुस् ।

नेपालीहरूले आज विदेश जान गर्ने लाखौँलाख लगानी स्वदेशमै ढुक्कसँग कुनै व्यवसायमा लगानी गर्न सक्ने अवस्था सिर्जना गर्नुस् । देशमा सत्ता, शक्ति र राज्यसंयन्त्रको दुरुपयोग गर्दै भएका तमाम भ्रष्ट्रचार, अनियमितता र गैरकानुनी धन्दा निर्मूल पार्न काम गर्नुस् । कानुनी राज्यको आभास गराउनुस् । ‘ठूलालाई चैन र सानालाई ऐन’ को भाष्य परिवर्तन गराउने गरी काम गर्नुस् ।त्यसका लागि हरेक क्षेत्रका व्यक्तिहरूसँग सहकार्य गर्नुस् । तर, भुलेर पनि त्यसको क्रेडिट लिन नखोज्नुस् ।

याद गर्नुस् त, तपाईँले पत्रकारिता गर्दा भएका राम्रो कामको प्रतिफल लिन कहिल्यै स्टाटस लेख्नु भयो ? त्यसको प्रचार र ब्रान्डिङ तपाईँ स्वयंले कहिल्यै गर्नुभयो ?मलाई त लाग्दैन गर्नुभयो । तपाईँले मात्रै कर्म गर्नुभयो जसको फल स्वरुप नेपाली जनताले तपाईँकै विश्वासमा जन्मिएर न्वारन मात्रै गरेको पार्टीलाई देशकै चौथो राजनीतिक शक्ति बनाइदिए ।

शास्त्रमा पनि लेखिएको छ, ‘कर्म गर फलको आश नगर ।’

माननीय रवि दाइ,

तपाईँको विदेशमा रहेका नेपालीहरूलाई ‘फ्री टिकटमा’ नेपाल ल्याउने कुरामा म अझै कम्तीमा १० वर्ष सहमत छैन, हुँदिन पनि ।देशमा रहेका नेपालीहरु दैनिक हजारौँ वैदेशिक रोजगारीमा जाँदैछन् । यहाँ व्यवसाय गरिरहेकाहरु आजित छन् । यो अवस्थामा एक सय, दुई सय, एक हजार या कति जनालाई ‘फ्री टिकट’ मा नेपाल ल्याउनु हुन्छ ? तपाईँले अरू कसैको सहयोगमा, अरू कसैसँगको समन्वयमा काम गर्ने नै हो आखिर त्यो हो भने आजैदेखि नारा परिवर्तन गर्नुस् । ‘फ्री टिकट’ मा नेपाल ल्याउने हैन, देशमै रोजगारी सिर्जना गर्ने र विदेश जानबाट रोक्ने ।

एक पटक सोच्नुस् त, कहिले रविले या रास्वपाले या अरू कसैले टिकट काटिलेला र स्वदेश फर्किउँला भन्दै कुरेर बस्ने कति होलान् ?अन्ततः विदेश जानेहरू निश्चित पैसा कमाएपछि स्वदेश फर्कने नै हुन् । सबैले त्यहाँ ‘पिआर’ पाउँदैनन् । ‘पिआर’लिनेहरू मध्य पनि तपाईँ जस्तै स्वदेशमा नै फर्कने र फर्कन चाहनेहरु थुप्रै छन् । मात्रै उनीहरुले नेपालमा आएर के गर्ने ? कुन क्षेत्रमा गर्ने ?भन्ने बाटो देखेका छैनन् । अथवा देखे पनि लगानी पश्चातको सुरक्षा प्रत्याभूति गर्न सकेका छैनन् ।

तपाईँ अब त्यस्ता मानिसहरूलाई स्वदेश ल्याउनुस् जो टन्न पैसा कमाएर विदेशमा व्यवसाय गरेर बसिरहेका छन् । उनीहरूलाई स्वदेशमा ल्याएर लगानी गर्ने अवस्था सिर्जना गर्नुस् । यहाँ उद्योग, कलकारखाना खोल्ने वातावरण सिर्जना गर्नुस् । विश्वविद्यालय, अस्पतालदेखि जलविद्युत देखि कृषिसम्मका क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नुस् । तपाईँले निर्वाचित भएको एक सय दिनमा हैन, कार्यकाल सक्किएको यस्ता एक सय लगानीकर्ता नेपाल फर्काउनुस् । त्यसमा नै तपाईँ सफल हुनुहुन्छ । सक्नु हुन्छ ?

यदि यस्तो गर्न सक्नु हुँदैन भने कम्तीमा देशमा गर्दागर्दै उपाय नलागेर घरको ऋण तिर्ने र आफू अनि आफ्ना सपना पूरा गर्न विदेशमा गएका दुखी नेपालीलाई यहाँ ल्याएर अलपत्र नपार्नुस् । यहाँको कमाइ भन्दा विदेशकै राम्रो छ, कम्तीमा केही समय कमाउन दिनुस् । ताकि त्यहाँ कमाएको पैसा ल्याएर नेपालमा लगानी गरुन् । सके अरूका लागि पनि रोजगारी सिर्जना गर्ने गरी नसके आफू स्वरोजगार बन्ने गरी ।

‘फ्री टिकट’ नेपाल ल्याउन नै चाहनु हुन्छ भने ती नेपालीहरूलाई ल्याउनुस् जो दलालको जालझेलमा परेर विदेश पुगेर दुख पाइरहेका छन् ।जो दिनरात नेपाल फर्कने चाहाना राख्छन् । तर, टिकट काट्ने पैसा नहुँदा फर्कन पाएका छैनन् ।

तपाईँकै चार दिन अघिको स्टाटसमा भएको एउटा शब्द चोरौँ ? स्टन्ट क्या ! हो यो कुरा तपाईँ अलिक बढी नै गर्दै हुनुहुन्छ । काम गर्नुलाई स्टन्ट भनिँदैन् । तर, नयाँ जोगीले धेरै खरानी धस्छ भनेझैँ गर्नुलाई स्टन्ट भनिन्छ । अरूले गरेको कामलाई आफूले गरेको भन्दै दाबी गर्नुलाई स्टन्ट भनिन्छ ।

दाइ,

अहमताले मान्छेलाई क्रूर बनाउँछ ! घमन्डी मान्छे अन्ततः पाखण्डी बन्छन् । देशको अवस्था र व्यवस्था संकटमा छ, त्यसैले रास्वपा आज यो ठाउँमा छ । परिवर्तनका आशा तमाम नेपालीले गरेका छन् फरक यत्ति हो कसैले विश्वास गरेर साथ दिँदैछन् कसैले विश्वास गर्ने वातावरण बनोस् भनेर गल्ती कमीकमजोरी देखाउँदै टिप्पणी दिँदैछन् । अक्सर मान्छे आलोचना उसैको गर्छ, जोबाट आशा÷अपेक्षा गर्दछ । त्यसैले आलोचना भनेको विरोध हैन ! भएका कमीकमजोरी र गल्ती स्वीकार्नु र सुधार्नु भनेको पतित हुनु पनि हैन ।

सत्ता र शक्तिको आडमा अनेकौँ गैर तरिकाबाट फाइदा लिएकाहरू बाहेक अधिकांशले रवि लामिछाने, सिके राउत, रेशम चौधरीहरूले जन्माएका पार्टीलाई विकल्प देखे । बालेन, हर्कहरूमा पनि देखे । तर, विकल्प देखिएका तपाईँमा परिपक्वता देखिएन । यदि देखिन्थ्यो त भारतीय दूतावासले दिएको गाडी प्रयोग किन ? प्रयोग गर्नु नै गलत हैन । तपाईँका उद्देश्य सही छन् । यद्यपि त्यो गाडी सुरुकै दिनमा भारतीय दूतावासको हो, फलानो मेडिकल कलेजमा थियो । हामीले समन्वय गरेर प्रयोगमा ल्यायौँ भनिदिएको भए के बिग्रिन्थ्यो ?
अनि, त्यो गाडी अन्त्यैको हो भन्ने केही टीकाटिप्पणीबाटै तर्सिएर फिर्ता गर्नुको पछाडि आवश्यक प्रक्रिया पुरा नगर्नु नै कारण हैन ? आवश्यक सम्झौता, प्रक्रिया पूरा गर्नु पर्दैनथ्यो ?गरेको भए समाचारका ‘हेडलाइन’ सँग तर्सिएर त्यो गाडी फिर्ता चाहिँ किन गर्नु परेको ?विरोध आयो भएर भन्ने जवाफ होला तर खबरदार यस्ता काइते तर्कबाट पन्छिने छुट छैन ।

‘ब्लु बस’ पनि अनुमति बिना नै रंग परिवर्तन गर्नुभएछ । समाचारहरू आए, आउँछन् । आज रवि लामिछाने पत्रकारितामा नै हुन्थ्यो र रवि लामिछानेको ठाउँमा अन्य कसैले यसरी नै नियम, विधि र पद्धति मिच्थ्यो भने समाचार बन्दैनथ्यो होला ?के रविले त्यो विषयलाई समाचारको ‘हेडलाइन’ बनाउँदैनथ्यो होला ? तपाईँ आफूलाई नै प्रश्न गर्नुस् त ।

उत्तर के आयो ?यदि तपाईँले पत्रकारिता बिर्सनु भएको छैन भने पक्कै पनि एउटै जवाफ पाउनु हुनेछ पक्कै पनि समाचार बन्छ । बन्नु पर्छ । बनाइनु पर्छ । तर, लाग्छ तपाईँ पनि राजनीतिको दलदलमा फसेर पत्रकारहरूलाई आफ्नो परम शत्रु ठानिसक्नु भयो ।
मैले किन यसो भनेँ ? थाहा छ दाइ ? सुन्नुस् म भन्छु ।

हिजो बिहान अलिक ढिलो उठेँ । उठ्ने बित्तिकै मोबाइल हेरेँ । झण्डै ११ बजिसकेको थियो । एकजना पत्रकार साथीको स्टाटस देखेँ । लेखिएको थियो, ‘यो निलो पार्टीले सबै काम गैरकानूनी मात्र किन गर्छ ? एम्बुलेन्स पनि गैरकानूनी रूपमा लिएका थिए,फिर्ता गरे ।महिलाहरूका लागि निःशुल्क सञ्चालनमा ल्याएको बस पनि अनुमति नलिई निलो रंगमा परिवर्तन गरेको पाइएको छ । यिनलाई नि गाह्रो छ ।’

खासै वास्ता गरिनँ । नित्यकर्म सकेँ । के रहेछ विषय भन्ने लाग्यो, कम्प्युटरमा बसेँ । समाचारहरू हेरेँ । विषय प्रष्टै भयो ।

त्यसपछि तपाईँलाई फेसबुकमा सर्च गरेँ । वालमा हेरेँ । ४८ मिनेटअघि एउटा स्टाटस लेख्नु भएको रहेछ । जसमा लेखिएको थियो, ‘कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ। यो रोकिने होइन, छिट्टै २ वटा हुन्छ । ब्लु बसमा पनि कुनै समस्या छैन। मान्छेको पछि लाग्न छोडेर अब गाडीको पछि ?? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला। हैट हेडलाइन आतंकर, हैरानी । सक्दैनौँ, सक्दै त सक्दैनौ ।’

अनि, तपाईँलाई सुझाव दिँदै स्टाटस लेख्न मन लाग्यो । लेख्दा लेख्दै सोचेँ । स्टाटस त कति लेख्नु । लेखे पनि हेर्ने हैनन् । बरु एउटा खुल्ला पत्र लेख्छु भन्ने सोचेँ । र यत्ति लेखेँ ।

अन्त्यमा,

दाइ, आफ्नो पूर्व पेशाका साथीहरू प्रतिको तपाईँका टिप्पणीहरूका त कुरै नगरौँ । तपाईँका समग्र अभिव्यक्तिहरू देखेर कहिलेकाहीँ उदेक लागेर आउँछ । अधिकांश तपाईँका भाषणहरू सुन्छु, ‘आक्रोश, आक्रमण र अनियन्त्रित’ हुन्छ । आशा कम आक्रोश बढी । परिवर्तनका एजेन्डा कम गाली धेरै ।

यसलाई तपाईँ स्वीकार्नु हुँदैन होला ! किनकि तपाईँ बारम्बार भन्नु हुन्छ कि म आलोचनाको राजनीति गर्न आएको हैन ।

यद्यपि, किनकिन तपाईँको व्यक्तिगत फ्यान भएकोमा कहिले कसो पछुतो पनि लाग्छ । तर, अरूलाई हेर्छु, अनि हैन आश गर्न लायक पनि यिनै छन् अहिलेसम्म भन्ने सोच्छु । तपाईँ पत्रकारिता मार्फत आम जनमासमा भगवान् जस्तै स्थापित पात्र, म भर्खरै कर्म गर्दैछु । मेरो सुझाव पनि तपाईँलाई आलोचना लाग्ला । तर, लागोस्, केही छैन ।

युवा नेतृत्व भनेको आम जनमासको भावना र बिचारको प्रतिनिधित्व गर्न सक्ने हुनुपर्छ । हरेक सकारात्मक परिवर्तनका आवाज सुन्न र कार्यान्वयन गर्न सक्ने हुनुपर्छ । राष्ट्र र राष्ट्रियतामा अडिग रहने, देशको पहिचान जोगाउँदै थप इतिहास रच्ने हुनुपर्छ ।

तपाईँमा घमन्ड छ, अहमता छ । त्यो नत्याग्नुस् । तर, त्यसलाई सकारात्मक ऊर्जामा बदल्नुस् । हर कसैको रचनात्मक आलोचनालाई स्वीकार्न सिक्नुस् । गर्ने आफूले हो तर अरूका पनि कुरा सुन्नुस् ।अनि, तपाईँले गरेका कामको प्रचार गर्दिने आज दुनियाँ साथमा छ । मपाईँत्व गर्दै ‘क्रेडिट’ लिन हतार नगर्नुस् । तपाईँमा पारदर्शिता कम देखिँदै छ । यदि पारदर्शी हुनुहुन्थ्यो भने एम्बुलेन्स फिर्ता गर्नु पर्दैनथ्यो ।

देशमा रहेको भद्रगोल तन्त्र र राज्य संयन्त्रको अकर्मण्यताको दुरुपयोग तपाईँ स्वयं गर्दै हुनुहुन्छ । हिजो नागरिकता र राहदानीका विषय देखि आज ‘ब्लु बस’ सम्म पनि । आफूले जान अन्जानमा गरेका गल्ती कमजोरी यदि कसैले भन्दियो भने तपाईँ सच्चिन छाडेर उछित्तो काट्न पछि पर्नु हुँदैन । यी यस्ता थुप्रै विषयवस्तुहरु छन्, जसले तपाईँमा राजनीतिक अपरिपक्वता दर्शाउँदैछ ।

हो, राजनीतिमा नयाँ हुनुहुन्छ । तर, नयाँ छु भन्दैमा मनलाग्दी गर्ने छुट सधैँ नहोला नि ?केही गर्नु र बोल्नु अघि सोच्नुस्, राम्रोसँग ताकि तपाईँको आलोचना गर्नेहरूलाई पनि ठाउँ नहोस् । काम यति परिपक्काताका साथ गर्नुस् कि तपाईँका विरोध गर्न ठाउँ खोजेर बस्नेहरू पनि चुपचाप हेर्न मात्रै बाध्य हुन् । अझै उनीहरूलाई पनि समर्थन गरौँ÷गरौँ लागोस् ।

तर, यसको लागि तपाईँले आफ्नो गल्ती कमिकमजोरीहरुलाई सच्चाउँदै राजनीतिक परिपक्वता देखाउनु जरुरी छ । अन्यथा, तपाईँ र तपाईँको दलमा लागेकोमा पनि आज तपाईँलाई आँखा बन्द गरेर समर्थन गर्नेहरू पछुताउने दिन नआउला भन्न सकिन्न । किनकि, याद राख्नुस्, आज तपाईँ र रास्वपालाई समर्थन गर्नेहरूको जमातमा हिजो अन्य नेता र दललाई समर्थन गर्नेहरूका जमात ठूलो छ ।

त्यसैले, सच्चिनुस् रवि दाइ ।


प्रतिक्रिया

2 thoughts on “रवि लामिछानेलाई खुल्ला पत्र- ‘गल्ती स्वीकार्नुस्, सच्चिनुस्’

Leave a Reply

Your email address will not be published. Required fields are marked *