माओवादी संसदीय दल बैठक : संसद खुलाउन दलहरूसँग छलफल गर्ने
सदनमा प्रभावकारी भूमिका निभाउन प्रचण्डको निर्देशन
काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदको अवरोध हटाउन दलहरूसँग छलफल गर्ने भएको छ ।
सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सत्ता र प्रतिपक्षी सबै दलहरूसँग छलफल गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
सांसदहरूलाई संघीय संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय दलका नेतासमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएका छन् । संसदीय समितिका सभापति चयनका लागि पनि दलहरूसँग संवाद बढाउने निर्णय गरिएको पाण्डेले बताए ।
हालै सम्पन्न केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयनबारे पनि संसदीय समितिमा छलफल भएको छ । शिक्षासम्बन्धी विधेयक, निजामती कर्मचारी र संघीय प्रहरी विधेयक सरकारले प्रस्तुत गर्न लागेको विषयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी गराए ।
प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ ।
आज सभामुख देवराज घिमिरेले पनि दलका शीर्ष नेता, प्रमुख सचेतक र सचेतकसँग सदन खुलाउनेबारे छलफल गर्दैछन् ।