डा. रत्नबहादुर बागचन्दद्वारा लिखित ‘साइबर अपराधः अनुसन्धान, अभियोजन र न्याय निरुपण’ लोकार्पण (भिडिओ) – Nepal Press

डा. रत्नबहादुर बागचन्दद्वारा लिखित ‘साइबर अपराधः अनुसन्धान, अभियोजन र न्याय निरुपण’ लोकार्पण (भिडिओ)

काठमाडौं । उच्च अदालत तुलसीपुरका कामु मुख्यन्यायधीश डा. रत्नबहादुर बागचन्दद्वारा लिखित ‘साइबर अपराधः अनुसन्धान, अभियोजन र न्याय निरुपण’ पुस्तक लोकार्पण गरिएको छ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले उक्त पुस्तक लोकार्पण गरे ।

पुस्तक लोकार्पण गर्दै न्यायाधीश सिन्हाले साइबर अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपणको क्षेत्रमा यो पुस्तक महत्वपूर्ण दस्ताबेजको रूपमा स्थापित हुने विश्वास जनाए ।

साइबर अपराधमा डिजिटल प्रमाण संकलन र तिनको साइबर फरेन्सिक परीक्षण तथा विश्लेषण, अभियोजन, प्रतिरक्षा र न्याय निरुपण जस्ता नवीनतम विषयमा आवश्यक ज्ञान, सीप, तालीम, दक्षता र सचेतना भएको जनशक्तिको कमी भएको परिवेशमा साइबर अपराधको अनुसन्धान, अभियोजन र न्याय निरुपणको क्षेत्रमा विषयगत सन्दर्भ सामग्रीको चरम अभावलाई चिर्नका लागि पुस्तक सार्थक रहने लेखक बागचन्दले विश्वास जनाए ।

कार्यक्रममा साइबर कानूनमा विद्यावारिधि गरेका पूर्वन्यायाधीश श्रीकृष्ण भट्टराईले यस पुस्तकको महत्वका बारेमा प्रकाश पारे । हालसम्म साइबर अपराध अनुसन्धान, अभियोजना र न्याय निरुपणका तिनै क्षेत्रलाई समेटिएको दस्ताबेजको अभावलाई यस पुस्तकले पूर्ति गर्ने विश्वास उनको थियो । सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान, लुम्बिनी प्रदेशका कार्यकारी निर्देशक अनुप बाँस्कोटाले यस पुस्तकमा समावेश गरिएका सामग्रीहरुको बारेमा चर्चा गरे ।

महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता श्री गोपालकृष्ण घिमिरे, सीआईबी प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य, नेपाल टेलिकम प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, क्यान फेडरेशनका महासचिव चिरन्जिवी अधिकारीले साइबर अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपणको क्षेत्रमा यस पुस्तकले खेल्ने भूमिकाको बारेमा बोलेका थिए ।

सात मुख्य अध्याय रहेको यस पुस्तको पहिलो अध्यायमा साइबर अपराधलाई व्याख्या गर्दै त्यसको वर्गीकरण गरिएको छ । दोस्रो अध्यायमा साइबर अपराध अनुसन्धानका क्रममा पहिल्याउनु पर्ने चरणहरूको साथै त्यसका लागि सहयोगी हुने आवश्यक व्यवहारिक उदाहरण प्रस्तुत गरिएको छ ।

तेस्रो अध्यायमा डिजिटल प्रमाण र त्यसका स्वरुप र व्यवस्थापनबारेमा विस्तृत व्याख्या गरिएको छ भने चौथो अध्यायमा साइबर अपराधको अनुसन्धानमा अत्याबश्यक साइबर फरेन्सिक तथा त्यसको लागि आवश्यक पर्ने उपकरण र अत्याधुनिक प्रविधिको बारेमा उल्लेख गरिएको छ । पाँचौ अध्यायले सरकारी वकीलले अभियोगपत्र दायर गर्दा पूरा गर्नुपर्ने दायित्व र चरणहरुको बारे बुँदागतरूपमा व्याख्या गरिएको छ ।

छैठौं अध्यायमा बिभिन्न देशका साइबर कानूनहरुको तुलनात्मक विश्लेषण गरेको छ । त्यसैगरी, सातौं तथा अन्तिम अध्यायले न्याय निरुपणका आधारहरु प्रस्तुत गर्नुका साथैका साथै न्याय निरुपणकर्तामा हुनुपर्ने आधारभूत विशेषज्ञाता र विज्ञताको बारेमा प्रकाश पारिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर